‘घरबाट अस्पताल ल्याउन ढिला हुँदा धेरैको ज्यान गयो’

तर्कबहादुर थापा
४ जेठ २०७८ ८:०१

काठमाडौं। त्रिभुवन विश्व विद्यालय, शिक्षण अस्पताल महाराजगञ्जस्थित गणेशमान भवनको पेटीमै कोरोना संक्रमितको उपचार भइरहेको छ। अस्पतालमा रहेका बेड भन्दा कोरोना संक्रमितको संख्या बढी भएपछि पेटीमै उपचार भएको हो। यो त उदाहरणमात्र हो। नेपालमा कोरोनाको दोश्रो लहर आएपछि अस्पतालका बेडहरु कोरोनाका विरामीले भरिएका छन्, उपचार पेटीमै भएको छ।

केही समयअघि नेपालगञ्जमा रहेको भेरी अस्पतालमा पनि कोरोना संक्रमितहरुको अवस्था दयनीय नै थियो। नेपालगञ्ज अस्पतालका वरिष्ठ मेडिकल कन्सलटेन्ट डा बद्री चापागाईँलाई त्यस्तो अवस्था कसरी आएको थियो भनेर सोधेका थियौं।

डा. चापागार्इँका अनुसार नेपालमा कोरोनाको दोश्रो लहर आउनुमा राजनीतिक दलहरुको महत्वपूर्ण भूमिका रहेको उनको तर्क छ। उनले कोरोनाको महामारी कायम रहेका बेला नै राजनीतिक दलहरुले शक्ति प्रदर्शन गर्नुले नागरिकको मनबाट कोरोना प्रतिको धारणा परिवर्तन भएको र कोरोना भित्रभित्र आगो झैं सल्किएको बताए।

बैशाख महिनामा झण्डै ७३ प्रतिशत पोजेटिभीटी देखिएको उनको भनाइ छ। उनले भने, ‘पहिलो लहरमा जम्मा जम्मी १० प्रतिशत जति पोजेटिभीटी देखिएको थियो। दोश्रो लहरमा त झण्डै ८३ सम्म पुगेको छ। तर, औषतको कुरा गर्दा ७३ प्रतिशत पोजेटिभिटी देखिएको छ। भेरी अस्पतालको मात्र कुरा गर्दा उपचारका लागि ६ हजार बढी आएका थिए।’

उपचारमा आएका ६ हजारमा १ सय बढीले ज्यान गुमाएको र अन्य सबैको सफल उपचार भएको डा. चापागाईँको भनाइ छ। डा. चापागाईँका अनुसार घरबाट अस्पतालमा ल्याउन ढिला भएकाहरुले ज्यान गुमाउनु भएको हो।

उनले भने, ‘आफूलाई पनि थकथक लाग्थ्यो। बचाउन सकिने अवस्थाका केही व्यक्तिहरु जो अस्पताल पुग्न नै ढिला भएर ज्यान गुमाउनु भयो। उहाँहरुलाई अलि चाँडो ल्याइदिनु भएको भए झैं हुन्थ्यो। के गर्नु।’

बाँकेमा हालसम्म १५ हजार २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ९ हजार २ सय ४ जना पुरुष र ६ हजार ४ सय ५८ जना महिला रहेको छन्। डा. चापागाईँका अनुसार पहिलो लहरको फागुसम्म पनि ५ हजार जनामात्र कोरोनाका संक्रमित थिए।

चैत्रको अन्तिमसम्म पनि कोरोनाका धेरै विरामीहरु थिएनन्। ‘जब बैशाख लाग्यो अनि कोरोनाका संक्रमित आउन थाल्नु भयो। बैशाख महिना भरीमा मात्र झण्डै ८ हजार बढी संक्रमित थपिएका हुन्।’

अक्सिजनको कमीका कारण धेरेको मृत्यु भएको उनले बताए। उनले भने, ‘मैले पहिलेदेखि नै अक्सिजन प्लान्ट लगाउनेबारे कुराकानी गरेको थिएँ। त्यो ढिलाइ भइरहेको थियो। पहिलो लहरको कोरोना महामारीका बेला पनि हामीलाई अक्सिजनको आवश्यक्ता खड्किएको हो।

त्यो बेला सिकेर हामीले अक्सिजनको थोरै भए पनि व्यवस्था गरेका थियौं। अझै जति हुनु पर्ने थियो त्यति नभएका कारण त्यो समस्या आएको हो।’ हाल भेरी अस्पतालमा करिव एक हप्ता धान्ने अक्सिजन प्लान्ट जडान गरिएको उनले जानकारी दिए।

नेपालमा कोरोनाको स्थिति

गत २४ घण्टामा नेपालमा ९ हजार १ सय ९८ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म ४ लाख ६४ हजार २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टामा २ सय १४ जनाको कोरोनाका कारण ज्यान गएको छ। हालसम्म नेपालमा ५ हजार २ सय १५ जनाले कोरोनाका कारण ज्यान गुमाउनु परेको छ।

अहिलेसम्म नेपालमा ३ लाख ४५ हजार ५ सय २३ जना निको भएर घर फर्केका छन्। गत २४ घण्टामा मात्र ५ हजार ७ सय ६७ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार १ लाख १३ हजार ४ सय ८० जना सक्रिय संक्रमित रहेका छन्।

हालसम्म सबैभन्दा बढी बागमती प्रदेशमा सबैभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ, भने कोरोनाका सबैभन्दा कम विरामीहरु कर्णाली प्रदेशमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *