अमेरिकाले जूनमा २ करोड डोज खोप दान गर्दै, नेपाल उच्च प्राथमिकतामा पर्ने

डिसी नेपाल
४ जेठ २०७८ १२:०६

काठमाडौं। अमेरिकाले विश्वका गरिब र कोरोनाभाइरसविरुद्धको खोप किन्न असमर्थ देशहरुको लागि आगामी जून महिनामा २ करोड डोज खोप निःशुल्क दिने भएको छ । अमेरिकाले यसरी खोप दान गर्दा संक्रमणले बढी प्रभावित देशहरुलाई प्राथमिकतामा राख्ने बताइएको छ ।

कोरोनाभाइरसका कारण स्थिति गम्भीर भएका र भ्याक्सिन खरिद प्रक्रियामा समेत सफलता नपाएका देशहरुलाई यो खोप दिइनेछ । अमेरिकाले यसरी दिने भ्याक्सिनको उच्च प्राथमिकतामा नेपाल पर्ने सम्भावना छ किनकि यहाँ भाइरसको संक्रमण दर उच्च छ र नेपालले खरिदका लागि अर्डर गरिसकेको भ्याक्सिन समेत पूरै पाउन सकेको छैन ।

राष्ट्रपति जो बाइडेनले सोमबार राती यो दानको घोषणा गरेका हुन् । अमेरिकाले यसअघि नै ६ करोड डोज दान गर्ने घोषणा गरिसकेको छ । हिजो घोषणा गरिएको २ करोड डोज पहिलेको घोषणामा थप हुने न्यूयोर्क टाइम्सले जनाएको छ । अर्थात अमेरिकाले ८ करोड डोज दान गर्ने घोषणा गरिसकेको छ जसमध्ये २ करोड डोज अर्को महिना नै दान गरिनेछ ।

बाइडेनको यो घोषणाको १ दिन पहिले मात्रै विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनहोम घ्रेबिसियसले धनी देशहरुको आलोचना गर्दै धनी देशहरुले बालबालिकालाई समेत खोप लगाउन थालिसक्दा गरिब देशमा स्वास्थ्यकर्मीले समेत खोप नपाएको बताएका थिए । एडनहोमले धनी देशहरुलाई आफ्नो देशमा बालबालिकालाई खोप लगाउने कार्यक्रम केही समयलाई स्थगित गरेर फ्रन्टलाइनरले समेत खोप नपाएका देशहरुलाई सहयोग गर्न आग्रह गरेका थिए ।

विश्व स्वास्थ्य संगठनको आग्रह सँगसँगै अमेरिकाको प्रतिष्ठित अखबार न्यूयोर्क टाइम्सले पनि आफ्नो सम्पादकीयमार्फत अमेरिका सरकारलाई यही सल्लाह दिएको थियो । त्यसको भोलिपल्ट नै न्यूयोर्क टाइम्सले अमेरिका सरकारले अर्को महिना नै २ करोड डोज भ्याक्सिन दान गर्ने घोषणा गरेको रिपोर्ट प्रकाशित गरेको छ । रिपोर्टका अनुसार यो भ्याक्सिन वितरणमा गरिब भएका कारण भ्याक्सिन खरिद गर्न नसकेका देश र संक्रमण धेरै फैलिएर मृत्यु धेरै भइरहेका देश प्राथमिकतामा पर्नेछन् । नेपाल दोस्रो वर्ग अर्थात संक्रमण धेरै फैलिएर मृत्यु धेरै भएको देशमा पर्छ ।

रिपोर्टमा अमेरिकाको संघीय औषधि नियामक निकायले स्वीकृति दिएका भ्याक्सिनहरु दान गरिने उल्लेख छ । अमेरिकाको संघीय नियामक एफडिएले फाइजर–बायोएनटेक, मोडर्ना र जोनसन एण्ड जोनसनको खोप गरी ३ खोपलाई आफ्नो देशमा प्रयोगका लागि स्वीकृति दिइसकेको छ । यी तीनवटै भ्याक्सिन अहिलेसम्म नेपालमा आएकै छैनन् । नेपालमा अहिलेसम्म अक्सफोर्ड एस्ट्राजेनेकाको भ्याक्सिन कोभिशिल्ड र भीनको भ्याक्सिन मात्रै प्रयोग भएका छन् । अमेरिकाले दान गर्ने भ्याक्सिन अक्सफोर्ड एस्ट्राजेनेकाको भ्याक्सिन पनि हुने भनिएको छ जुन भ्याक्सिनले अहिलेसम्म अमेरिकामै स्वीकृति पाएको छैन ।

ह्वाइट हाउसमा एक पत्रकार सम्मेलनमा राष्ट्रपति बाइडेनले भने ‘हामीलाई थाहा छ अमेरिका पनि महामारीको असरबाट तबसम्म सुरक्षित हुन सक्दैन जबसम्म विश्वमै यसलाई नियन्त्रण गर्न सकिन्न । कुनै पनि समुद्र वा कुनै पनि पर्खालले हामीलाई सुरक्षित राख्न सक्दैन ।’ आइतबार अमेरिकाको अत्यन्तै प्रभावशाली मानिने अखबार न्यूयोर्क टाइम्सले बाइडेन प्रशासनलाई महामारीको कठिन समयमा महामारीबाट अनि प्रभावित र विकासशील देलाई सहयोग गर्न अपिल गरेको थियो । अखबारले आर्थिक रुपमा बलियो मानिने पश्चिमी अन्य देशहरुलाई पनि यस्तै आग्रह गरेको थियो ।

सम्पादकीयमा लेखिएको थियो ‘यो त्यो समय हो जतिबेला बाइडेन प्रशासनले बलियो र कडा निर्णय गर्नुपर्नेछ । उसले यो कुराको चिन्ता गर्नुपर्छ र कदम उठाउनुपर्छ कि विश्वका बाँकी देशहरुसम्म भ्याक्सिन कसरी पुग्छ । यदि भ्याक्सिनका विषयमा ठोस रणनीति बनाइएन भने विश्वमा यसको गम्भीर आर्थिक प्रभाव पर्नेछ र यी प्रभाव भ्याक्सिन बनाउनका लागि हुने खर्चभन्दा धेरै महंगा साबित हुनेछन् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *