कोभिड यूनिफाइड अस्पताल : अस्पताल भन्छ अक्सिजन छैन, मन्त्रालय भन्छ हाँस्यास्पद

सम्भव सिंह ठकुरी
४ जेठ २०७८ १३:५७

काठमाडौं। वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई सुरुवातमा ५ सय शैय्या युनिफाइड कोभिड १९ अस्पताल बनाउने निर्णय गरेको पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका थिए।

यसअघि सीसीएमसीको बैठकले पनि वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ युनिफाइड अस्पताल बनाउनका लागि निर्णय गरेको थियो। वीर अस्पताल भन्दा पारिपट्टी बनेको ५ सय बेडको अस्पताललाई कोरोना डेडिकेटेड अस्पताल बनाउने निर्णय भएको हो।

यो निर्णयसँगै अब देशको सबै भन्दा पुरानो वीर अस्पताललाई स्वास्थ्य मन्त्रालय आफैंले सञ्चालन हुने भएको थियो। कोभिड महामारी नियन्त्रणमा प्रभावकारी कार्य र परिचालनका लागि वीरलाई स्वास्थ्य मन्त्रालय आफैंले चलाउने भएको हो।

तर आजको मितिसम्म अस्पताल कुहिरोमा हराएको काग झैं अक्सिजन कसरी व्यवस्थापन गर्ने भन्ने पत्ता लगाउन सकेको छैन। अस्पतालका धेरै भौतिक संरचनाहरु बेड,स्वस्थ्यकर्मी लगायत अन्य कुराहरु तयार भएपनि अक्सिजन अभावका कारण अस्पताल कहिलेबाट सञ्चालन हुने भन्ने कुराको सुश्चितता न अस्पताल संग छ न मन्त्रालयसँग नै।

अस्पताल प्रशासनले अघिल्लो आइतबारदेखि अस्पताल आशिंक रुपमा सञ्चालनमा ल्याउने गरी तयारी थालेको थियो। तर अस्पताल कहिले सञ्चालन हुन्छ कुनै निश्चितता छैन। अस्पतालकी निमित्त निर्देशक डा. शान्ता सापकोटाले एक साता पहिले डिसी नेपालसँग कुरा गर्दै जबसम्म अक्सिजनको सुनिश्चिता हुँदैन तबसम्म अस्पताल सञ्चालनमा ल्याउन नसकिने बताएकी थिइन्।

तर आजको दिन सम्म पनि अस्पतालमा अक्सिजनको अभाव कायम नै रहेको बताइन्। अभाव न्युनिकरणको लागि स्वास्थ्य मन्त्रालयसँग पनि कुराकानी भइरहेको छ तर आजसम्म कुनै समाधान नआएको उनले बताइन्।

अक्सिजनको यति धेरै हाहाकार हुन्छ भन्ने लागेकै थिएन। हाम्रो अक्सिजन सप्लायर्सले हामीलाई अक्सिजन दिन्छ भनेर शुरु गर्न खोजियो तर, अहिले देशैभरी अक्सिजनको हाहाकार छ। अक्सिजन पाउने बाटो छैन्। जबसम्म अक्सिजन पाउने अवस्था हुँदैन तबसम्म अस्पताल सञ्चालनमा ल्याउन सकिँदैन,’ उनले बताइन्।

एकसाता पहिले डिसी नेपालसँग कुराकानी गर्दै डा.सापकोटाले सरकारले अक्सिजनको व्यवस्था प्लाण्ट राखेर गर्न निर्देशन दिएको छ। तर, त्यसका लागि लामो समय लाग्ने भएकोले त्यसको बारेमा कुनै प्रक्रिया नै शुरु भएको छैन। मन्त्रालयले भने जस्तै नयाँ अक्सिजन प्लान्ट तत्काल सञ्चालनमा ल्याउन नसकिने अवस्था छैन।

‘प्लान्ट नै राखे पनि ३–४ महिना लाग्छ,’ सरकारी संस्था हो, पूर्वाधार बाहिरबाट ल्याउनु पर्ने पर्ने हुन्छ। सरकारी संस्था भएकोले त्यसका लागि टेण्डर गर्नु पर्छ। र टेण्डर गरेर जाँदा कमसेकम ३–४ महिना लाग्छ।’ सोही कुरा आज पनि बताइन्।

के भन्छ  स्वस्थ्य मन्त्रालय ?

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार अक्सिजनको अभाव भएर अस्पताल सञ्चालन गर्न नसकेको भन्नु हाँस्यास्पद रहेको बताउँछन्।

उनले भने, ‘हामीसँग अक्सिजनको माग तत्काल गरोस् अस्पताललाई आवश्यक पर्ने अक्सिजन पठाउन हामी अहिले तयार छौँ।अस्पताल सञ्चालनमा आउन नसक्नुको कारण अक्सिजन अभाव भन्दा पनि त्यहाको व्यवस्थापकीय कमजोरी हुन सक्छ। अस्पताल अर्कै ऐन अन्तर्गत बनेको हो, अस्पतालका पधाधिकारीले मन्त्रालयसँग समन्वय गर्न आउने हो भने हामी हाम्रोतर्फबाट गर्ने सम्पूर्ण सहजिकरण गर्न तयार छौँ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *