फाइजर खोपलाई ‘लामो समय फ्रिजमा भण्डारण गर्न सकिने’

डिसी नेपाल
४ जेठ २०७८ १९:५२

ब्रसेल्स । युरोपेली सङ्घ (ईयू) को औषधि नियामक निकायले फाइजरको कोभिड खोप अब यसअघि भनिएभन्दा निकै बढी समय फ्रिजमा भण्डारण गर्न सकिने जनाएको छ ।

युरोपेली औषधि निकाय ईएमएले जमेको खोप पूर्णतया पग्लिएको अवस्थामा नखोलिएको खोपको भाँडो (भायल) एक महिनासम्म फ्रिजमा राख्न सकिने जनाएको हो ।

यसअघि त्यसरी भण्डारण गर्नका लागि पाँच दिनको समय निर्धारण गरिएको थियो ।

यो खोप बढी समय भण्डारण गर्न पाउँदा ईयू सदस्य देशहरूको खोप कार्यक्रममा उल्लेख्य प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

यसअघिको तोकिएको भण्डारण मापदण्डले गर्दा फाइजर खोपलाई संसारका केही ठाउँमा प्रयोग गर्न निकै कठिन बनाएको थियो ।

फब्रुअरीमा अमेरिकाले यस खोपको भण्डारण र पारवहनको मापदण्डलाई सुधारेर माइनस १५ देखि माइनस २५ डिग्री सेल्सीअसमा फ्रिजमा दुई सातासम्म राख्न सकिने व्यवस्था भएको बताएको थियो ।

सुरुमा त्यसलाई माइनस ८० देखि माइनस ६० डिग्री सेल्सीअसमा भण्डारण गर्नुपर्ने आवश्यक ठानिएको थियो।

यसै महिनाको सुरुमा क्यानडाले फाइजर खोप १२ देखि १५ वर्षबीचका बालबालिकासमेतलाई प्रयोग गर्न स्वीकृति दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *