काेराेना कहर : समस्यामा गर्भवती महिला

रिता बस्नेत
७ जेठ २०७८ १४:१७

काठमाडौं। पछिल्लो समय आएको कोरोनाको दोस्रो लहरले सर्वसाधारणदेखि ख्याती कमाएका व्यक्तिहरुलाई सिकार बनाइरहेको छ। ठूलो सानो, धनी गरिब जो कोहीलाई कोरोनाले आजित बनाइरहेको छ। दैनिक झण्डै दुई सय जना नेपालीको मृत्यु भइराखेको छ।

कोरोना संक्रमितको रक्षा गर्न खटिएका डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मीलाई समेत कोरोना संक्रमणले हताश बनाएको छ। नेपालमा कोरोनाका कारण सर्वसाधारणदेखि राजनीतिक व्यक्तित्व, स्वास्थ्यकर्मी, सुत्केरी महिलालगायत धेरैको ज्यान गइसकेको छ।

कोरोनाका कारण स्वास्थ्य क्षेत्रका डाक्टर, नर्स, विशेषज्ञसमेतले ज्यान गुमाइरहको यो अवस्थामा डिसी नेपालले विशेष गर्भवती महिलाले यस्तो बेलामा के कस्ता सर्तकर्ता अपनाउनु पर्छ भन्ने विषयमा केन्द्रित भएर प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा.दीपमाला कार्कीसँगको कुराकानीलाई यहाँ प्रस्तुत गरेको छ।

हाल नयाँबानेश्वरस्थित एभरेष्ट अस्पतालमा बिरामीहरुको सेवामा जुटिराखेकी डा.कार्कीले कोभिड नेगेटिभ आएका महिलाहरुलाई डेलिभरी गराउँदै आएकी छन्। तर, उनले हाल सो अस्पतालमा जनशक्ति कम भएका कारण कोभिड पोजेटिभ आएका महिलाहरुलाई डेलिभरी गराउन नसकेको बताइन्।

उनले भनिन्, ‘यहाँ डेलिभरि पनि गराइराखेका छौं। जाँच गरेका गर्भवती महिलामध्ये धेरै जना नन कोभिड नै हुनुहुन्छ। यदि कोरोना संक्रमण देखियो भने थापाथली पठाउछौं। यहाँ भेन्टिलेटर अक्सिजन सबै छ तर जनशक्ति कम भएर हो। थापाथलीमा त धेरै जनशक्ति हुन्छ, फेरि पोजेटिभ महिलाहरुलाई अहिलेको समयमा किन रिक्स लिने भनेर मैले थापाथली पठाउने गरेको छु।’

उनले अस्पतालमा काम गर्दागर्दै डाक्टर, नर्स लगायतका कर्मचारीलाई समेत कोरोना पोजेटिभ आइदिएकाले अस्पतालमा जनशक्ति कम भएको र कोरोना संक्रमित गर्भवती महिलाको हेरचार गर्न नसकिएको जानकारी गराइन्।

अहिले कोरोनाका कारणले धेरैजसो गर्भवती महिलाहरु डराउने, आत्तिने गरेको उनले सुनाइन्। उनले भनिन्, ‘डेलिभरी महिलालाई कोभिड भयो भने अलि आत्तिनु चाहीँ हुन्छ । सुत्केरीमा कोभिड भयो भने गाह्रो हुन्छ भन्ने धेरैजना हुनुहुन्छ। तर, मनोबल र प्रोत्साहन बढाउने काम हाम्रो पनि हो। त्यो भएर हामीले उहाँहरुलाई सबै कुरा सम्झाउँछौं।’

गर्भवती महिला र गर्भको बच्चा दुबैको मृत्यु भएको धेरै समाचारहरु सुनेकाले पनि गर्भवती महिला र सुत्केरी भइसकेका महिला धेरै डराउने गरेको उनले बताइन्।

तपाईँको अनुभवमा कोरोना संक्रमणअघि र संक्रमणपछि कुन बेला बढी महिला गर्भवती हुने गरेका छन्?, भन्ने प्रश्नमा डा.कार्की भन्छिन्, ‘अहिले बच्चा नपाउने बरु कोभिड सकिन्छ अनि पाउने भनेर पोहोर सालदेखि नै धेरैजनाले योजना बनाउनु भएको छ। हुन त अहिले यहाँ मेरो ओपीडीमा देखाउने गर्भवती महिलाहरु पनि धेरै हुनुहुन्छ, नभएको त होइन तर मान्छेहरुले सर्तकता अपनाएर यो अवस्थामा बच्चा नपाउने भन्ने धेरै हुनुहुन्छ। कोभिडले गर्दा बच्चा पाउनेमा धेरैको विचार नै परिवर्तन भइसकेको छ।’

गर्भवती महिलालाई जोखिम कत्तिको हुन्छ?, भन्ने प्रश्नमा चाहीँ डा.कार्की यसो भन्छिन्, ‘अरु भन्दा ५० प्रतिशत बढी हुन्छ। नन कोभिडलाई डेलिभरी गरायौं भने उहाँहरुको पोजेटिभ हुने चान्स कम हुन्छ। तर संक्रमितलाई नै डेलिभरी गराउँदा चाहीँ जटिलतामा जाने सम्भावना अरु(ननकोभिड)भन्दा ५० प्रतिशत बढेर आउँछ।’

सुत्केरी महिला वा बच्चा पेटमा हुँदा कोेभिड भइहाल्यो भने पनि खासै आत्तिहाल्नु नपर्ने उनी बताउँछिन्। र, कोभिडलाई जित्न मान्छेमा ठूलो मनोबल या आत्मबल चाहिने बताउँछिन्।

छोरीहरु सानैदेखि संघर्षशील हुने भएकाले केटा मान्छेमा भन्दा केटी मान्छेमा धेरै आत्मबल हुने गरेको सुनाउँदै उनी भन्छिन्, ‘केटामान्छेले बच्चा नपाउने हुनाले त्यो अनुभव उनीहरुमा हुँदैन भने हामीमा त एउटा आमा बन्ने अनुभव हुन्छ। हामी महिला बच्चैदेखि संघर्षशील हुन्छौं। त्यही भएर पनि केटाको तुलनामा केटी मान्छेसँग अझ रोगसँग लड्नसक्ने क्षमता धेरै हुन्छ।’

उनी थप्छिन्, ‘कोभिडलाई जित्नसक्ने ५० प्रतिशत मान्छेको आत्मबल र सकारात्मक सोचाई पनि हो, जुन महिलामा हुन्छ।’ डा.कार्की गर्भवती महिलालाई नौ महिनाको अवधिमा कोभिड संक्रमण भइहाल्यो भने नआत्तिकन आत्मबल बढाउन सुझाव दिन्छिन्।

गर्भवती महिलालाई यस्तो बेला नौ महिनासम्म नै हस्पिटल धाउनु नपर्ने सुझाव दिदैँ उनी भन्छिन्, ‘कोभिडको बेलामा हेरेक महिना डाक्टरलाई भेट्न जानुपर्छ भन्ने छैन। सानोतिनो कुराहरु डाक्टरसँग फोनमा कुरा गरेर सुल्झाउन सकिन्छ। र, तातो पानी पर्याप्त मात्रामा पिउने, हरियो सागसब्जी, फलफूल, माछा, मासु, अण्डालगायतका खानेकुरा खाएर इम्युनिटी बढाउने। पेटमा बच्चा चलेको छ छैन विचार गर्ने, आराम गर्ने। बाहिर जाँदा दुरी कायम गर्ने माक्स र सेनिटाइजर लगाउने, हात धोइराख्ने।’

उनी यस्ता सबै सावधानी अपनाउदा उपनाउँदै पनि संक्रमण भइहाल्यो भने ५० प्रतिशत चाहीँ छिटो रिकभर हुने तिर लाग्नु पर्ने बताउछिन्। उनी भन्छिन्, ‘मान्छेको आत्मबल र मनोबलले यसलाई जित्नुपर्छ। यस्तो बेलामा अस्पताल जानै हुँदैन भन्ने होइन, जान मिल्छ। डाक्टरको सल्लाह सुझाव लिएर जाने। दुई–चार वटा नकारात्मक समाचार सुन्यौ, देख्यौ भन्दैमा आत्तिनु पर्दैन। धेरैजना संक्रमित निको भएर घर जानु भएको छ। उहाँहरुलाई हेरेर पनि हामीले आत्मबल बढाउने र त्यतातिर आफूले आफैलाई ढाल्न सक्यौ भने मलाई लाग्छ त्यति आत्तिनु पर्दैन।’

कोभिड संक्रमितका लागि सबैभन्दा ठूलो आत्मबल नै भएको बताउने उनी आफ्नै उदाहरण पनि यसरी सुनाउछिन्, ‘काम गर्दागर्दै मलाई दुई हप्ता अगाडि सन्चो भएन। जिउ हात खुट्टा दुख्ने, निद्रा लागिराख्ने, टाउको भारी हुने भयो। र, मैले कोभिड भएछ भनेर सोचे र टेष्ट गराए। त्यसको रिपोर्ट नआउन्जेलसम्म मलाई कोभिड भयो भन्ने लागिराख्यो। जब मेरो स्याम्पल नेगेटिभ आयो त्यसपछि मेरो दुखेको जिउ, हातखुट्टा सबै ठिक भयो। मेरो जिउबाट रोगै गएजस्तो भयो। भनेपछि मान्छेको सकारात्मक सोचाईले चाहीँ मान्छेलाई कति फरक पार्दो रहेछ भन्ने कुरा मैले त्यतिबेला अनुभव गरे।’

स्वास्थ्यकर्मीसमेत कोभिडदेखि डराएर काम गरिराख्नु परेको बताउँदै उनी भन्छिन्, ‘कोभिडले डाक्टर, नर्स आदि स्वास्थ्यकर्मी बितिराख्नु भएको छ। यस्ता समाचार दैनिकजसो सुनिराखेका छौं । डर राखेर काम गरिराखेका छौं। पिपिई, फेसशिल, दुईवटा माक्स, पञ्जा आदि लगाएर बल्ल काम गर्छौं। त्यति गर्दा पनि डाक्टरहरुलाई पोजेटिभ देखिरहेको छ। पोजेटिभ आएर आइसोलेशनमा बसिराख्नु भएका साथीभाईहरु धेरै जना हुनुहुन्छ।’

तरपनि आत्मबल र सकारात्मक सोचाई राखेको खण्डमा ५० प्रतिशत कोभिडलाई जित्ने सकिने उनी बताउँछिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *