‘समर्पणभाव भएन भने साहित्यिक यात्रा छोटो हुन्छ’ – Dcnepal

‘समर्पणभाव भएन भने साहित्यिक यात्रा छोटो हुन्छ’

नेपाली साहित्यमा प्रगतिशील कलम चलाउने एक जना युवा कवि हुन केशव सिलवाल। त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र अध्यापन गराइरहेका साहित्यकार सिलवालले ५० को दशकबाट आफूलाई साहित्य यात्रामा औपचारिक प्रवेश गराएका थिए।

जनताका पीडा, दुःख र आँशुका कविता लेख्दा लेख्दै प्रगतिशील साहित्यकार बनेको अनुभव सुनाउने सिलवालका थुप्रै कविताहरु बजारमा छन्। बर्जित अवशेष र धारिला मानिसहरु कविता संग्रह पनि बजारमा ल्याएका छन्।

राजनीतिबाट साहित्कार टाढा रहन सक्दैन भन्ने धारणा राख्ने कवि सिलवालले नेपाली राजनीतिमा आएका परिवर्तनकारी आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गरेर सडकबाटै कविता बाचन पनि गरेका थिए। मान्छे भन्दा टाढा कविता  जान सक्दैन भन्ने कवि सिलवालसँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेको कुराकानीको सम्पादित अंशः

 दिनहरु कसरी व्यतित हुँदै छन्?

अहिले त विषम परिस्थिति छ। कोभिड महामारीले गर्दा त्रसित वातावरण छ। मान्छेहरुसँगको भेटघाट कम भएको छ। अलिअलि पढ्ने अलिअलि लेख्ने ठिकठिकै चलिरहेको छ दैनिकी।

महामारीका बेला कस्तो साहित्य लेख्नु हुन्छ?

नेपालकै परिवेशमा पनि अहिले दुई कुरा चलिरहेको छ। एकातर्फ सामान्य मानिस रोगसँग लडिरहेका छन्, अर्कोतर्फ राजनीतिक दलहरु कुर्सीको खेलमा लडिरहेका छन्। खान नपाएर छटपटाएका, घर जान नपाएर हिँडिरहेका, अक्सिजन नपाएर ज्यान गुमाएका, जनतलाई र कुर्सीको लागि लडिरहेका शासकहरुलाई देख्छु। यो दुई वटै कुराले घोचिरहन्छ, यो बारेमा नै लेख्ने गरेको छु।

समग्र साहित्यमा महामारीको असर कस्तो रह्यो ?

अरु क्षेत्र जस्तै साहित्यमा पनि यसको ठूलो असर परेको छ। लेख्ने मनस्थितिमा पनि कोही हुनुहुन्छ जस्तो लाग्दैन। धेरै रचना आएको छैन। प्रकाशनको अवस्था पनि दयनीय नै छ।

समाजशास्त्र अध्यापन गराइरहनु भएको छ। साहित्यमा किन, कसरी?

म साहित्यबाट समाजशास्त्रमा प्रवेश गरेको हुँ। समाजशास्त्रसँग जोडिएको छ साहित्य पनि। समाजसँग नजोडिएको साहित्यलाई उडन्ते साहित्य भनिन्छ। त्यस्तो उडन्ते साहित्य मान्छेले मन पराउँदैनन्। यस्ता साहित्यले समाजमा ऐतिहासिकता पनि कायम गर्न सक्दैन।

मैले जस समाज बुझ्न थाले, समाजमा भएका उथलपुथलहरु, पीडाहरु, वर्गमाथि हुने अन्याय अत्याचारका कुराहरुदेखि लिएर दुःख बुझ्न थालेपछि साहित्य लेख्न थालेको हुँ। समाज बुझ्दाबुझ्दै समाजप्रतिको रुचि बढेर गयो। अनि मात्र मैले समाजशास्त्र अध्ययन र अध्यापन गर्न थालेको हुँ। आफूलाई जति साहित्यबाट प्रकट गर्न सक्छु, त्यति समाजशास्त्रबाट गर्न सकेको छैन। मेरो साहित्य प्रमुख हो।

अरु विधाहरु पनि छ नि साहित्यमा यहाँले कविता नै किन रोज्नु भयो?

कविता लेख्दै जाँदा कविता प्रति बढि रुचि भयो। कविताबाट मानिसमा जोडिन पनि सजिलो विधा भयो। अरु साहित्यतर्फ कलम नचलाउन सक्के भन्ने हैन। कवितामा ध्यान दिन नसकेर मेरो कविता मर्छ कि भनेर नै अन्य विधामा ध्यान नदिइएको हो।

साहित्यकारले राजनीति गर्नु हुन्न भन्ने कुरामा म सहमत छैन। समाजको कुरा लेख्ने वित्तिकै त्यो राजनीति नै हुन्छ। राजनीतिको परिभाषा नै गलत छ र पो समस्या हो त। राज्यको नीति राजनीति भए पनि राजनीतिमा हुनेहरु खराब भए, त्यसैले राजनीति खराब भएको हो। मूल परिभाषा अनुसार राजनीति गलत त छैन।

अरु साहित्यकारहरुले झै अन्य विधाहरु पनि रोजेको अवस्थामा कविता प्रतिको लगाव, चिन्तन कम हुन्छ कि भन्ने कुरामा डराएर पनि अन्य विधामा कम ध्यान दिन्छु।

विश्वमा सबै भन्दा बढी लेखिने विधा र कम बिक्री वा पाठक भएको विधा मानिन्छ। यो जान्दा जान्दै पनि कविता नै लेख्नुको कारण के होला ?

मानिसको भाषासँगसँगै कविताको जन्म भएको हो। भाषामा जस्तो माधुर्यता हुन्छ, कला हुन्छ। जसरी मान्छेले भाषाका माध्यायमा पीडा व्यक्त गर्न सक्छन् त्यो अरु विधाबाट व्यक्त गर्नलाई लामो समय लाग्ने, मान्छेलाई तुरुन्त छुनलाई गाह्रो हुने, तर कविताको माध्यायमबाट चाँडो व्यक्त पनि गर्न सक्ने र चाँडै छुन पनि सक्ने र यो पुरानो विधा भएका कारण पनि कविता लेखेको हुँ।

भन्न त मान्छेले कम पढ्न छन् भन्छन्, तर हरेक विधाको जन्म पनि कविताबाट नै भएको हो। कवितालाई बिर्सेर अरु साहित्य रहन्छन् भन्ने मलाई लाग्दैन। हरेक व्यक्ति कवि भएको हुन्छ।

कविता हाम्रो बोलीचालिमा छन्। कुनै पनि साहित्यकार पहिला कवि नभएर अन्य विधामा गएको पाइएको छैन। त्यसैले कवितालाई छोड्न पनि सकिन्न।

यहाँ प्रगतिशील साहित्यमा नै किन आउनु भयो?

दुःख र पीडा लेख्दा लेख्दै प्रगतिशील भइयो। काठमाडौंकै जन्म र हुर्काइ भए पनि पढ्न लेख्न अभाव भएको, हिँडेर मेरो जन्मेको ठाउँ जानु पर्ने बाध्यताको अनुभव भएको छ।

यतिमात्र नभएर विश्वका मानिसहरुलाई पनि अध्ययन गर्दा, जस्तै अहिले प्यालिस्टाइनमाथि अमानवीय आक्रमण भएको छ। त्यहाँका बालबालिका मारिएका छन्, यस्ता दुःखहरु पनि लेख्दा लेख्दै प्रगतिशिल भइयो। मानिस मानवीयताबाट कहिलै भाग्न सक्दैन। मानिसका दुःख पीडा र वेदना उही छन्।

कवितामा बिम्ब र प्रतिक धेरै प्रयोग भएको पाइन्छ। के यो विना कविता न हुने हो  र?

कविता भनेको सामान्य भाषा शैली र कुराकानीभन्दा फरक हुन्छ। त्यसमा बिम्ब प्रतिक कला प्रयोग हुन्छ। बिम्ब आएपछिमात्र मानिसलाई छुन्छन्। कवितामा प्रयोग भएका विबम्बहरुले हरेक त्यही व्यक्तिलाई मेरो आफ्नै कथा बोलेको अनुभूति गराउँछन्।

जस्तै ब्याक बेन्चरलाई हेर्यौँ भने, पछाडि परेका, पिछडिएका जात, धर्म, वर्ग समुदाय आदिले मेरो हो है यो कविता त भन्ने बुझ्नु हुन्छ। त्यसैले बिम्ब र प्रतिक प्रयोग भएको कविता प्रभावकारी हुन्छ।

राम्रो साहित्य लेख्नका लागि के कति कुरामा ध्यान दिनु पर्छ ?

साधना गर्नु पर्छ। साहित्य प्रतिको गाम्भिर्यता भएन भनिन्छ नि, गम्भिर हुने कुरामा कमी  हुनु भएन। एउटा कविता लेखेर २÷३ वर्षलाई पुग्यो भन्न मिल्दैन। यसले साहित्यमा योगदान पनि हुँदैन। हामीले लेख्दा कला, भाषा, शैलीको पनि ख्याल गर्नुपर्छ।

विश्व बजारमा जान नसके पनि हामीले विश्व साहित्यलाई दाँजेर लेखिरहेका छौं। विश्वमा चर्चित मानिएका कवितालाई पनि अध्ययन गर्दा नेपाली साहित्यकारले पनि त्यो अनुसारको कविता लेखेका छन्। धेरै कमजोर छ भन्ने लाग्दैन।

हामीले बान्की मिलाएर लेख्नुपर्छ। मानिसले बुझ्ने खालको हुनुपर्छ। मानिसले कसरी ग्रहण गर्छन् र हामीले लेखेको कुरा साहित्यिक भयो कि भएन भन्ने कुरामा ध्यान दिनुपर्छ। समग्रमा राम्रो साहित्यका लागि लामो साधना चाहिन्छ।

नेपाली साहित्यकारको लेखेरै बाँच्ने आधार कस्तो छ?

लेखेरै बाँच्नेहरु पनि छन्, तर नगन्य मात्रामा। औंलामा गन्यमात्रामा। तर, कति स्तरीयता भन्ने पनि होला। कसले कस्तो लेख्यो भन्ने पनि प्रश्न अलगै छ। तर, पनि एक प्रकारको नीति नुहुँदा पनि यो समस्या भएको हो। यो केही लेखेरै बाँचेका छन् भन्ने पनि कविता वाहेकका विधाहरुको कुरा हो। कविता नै लेखेर बाँचेको त मैले देखेको छैन। उपन्यासलेख्ने २/४ जना लेखेर राम्रो जीवनशैली बनाएका होलान्।

लेखक प्रति प्रकाशकले खेल्ने भूमिका, सरकारले खेल्ने भूमिका सबै कुरा जोड्न पर्छ। पाइरेसीका कुरा पनि हुन्छन्। एक जनाले भनेर लेखेरै बाँच्न सक्ने आधार बन्नला जस्तो मलाई लाग्दैन। यसका लागि समग्र योजना भयो भने मात्र यो स्थापित हुन सक्छ। त्यो बाहेक लेखक आफै लेखेर बाँच्ला जस्तो लाग्दैन। त्यसका लागि राष्ट्रिय नीतिको नै आवश्यक्ता पर्छ जस्तो लाग्छ।

नेपाली साहित्यको पुरस्कारमा ऐचोपैँचौ हुन्छ रे नि?

म त्यता तिर धेरै केन्द्रित छैन। पुरस्कार लिन कसरी जाने, को मार्फत जाने भन्ने थाहा छैन। तर, चलखेल हुन्छ भन्ने सुनेको छु। पुरस्कार पनि नेपालमा कम छ। कम पुरस्कार भएको ठाउँमा वितरण गर्दा कोही नजिक कोही पर हुन सक्छ। किन भने पुरस्कार पाउने १÷२ जनाले हो। त्यस्तो चाहिँ हुन सक्छ।

साहित्यकारले राजनीति गर्नु हुन्छ कि हुँदैन?

यो विवाद लामो छ। र यो विवाद नयाँ पनि होइन्। तर, मेरो व्यक्तिगत विचार सोध्नु हुन्छ भने साहित्यकारले राजनीति गर्नु पर्छ भन्ने पक्षमा छु। म पनि राजनीतिमा जोडिएको छु। हामी कवितामा राजनीति गर्छौं। हाम्रा कविताले राजनीति गर्छन्। हामी कवितालाई राजनीतिक कविता पनि भन्छौं। हामी मुक्तिको कुरामात्र लेख्ने हैन। त्यसको बहालीको लागि कवितालाई व्यानर बनाएर सडकमा जानु पर्छ।

साहित्यकारले राजनीति गर्नु हुन्न भन्ने कुरामा म सहमत छैन। समाजको कुरा लेख्ने वित्तिकै त्यो राजनीति नै हुन्छ। राजनीतिको परिभाषा नै गलत छ र पो समस्या हो त। राज्यको नीति राजनीति भए पनि राजनीतिमा हुनेहरु खराब भए, त्यसैले राजनीति खराब भएको हो।

मूल परिभाषा अनुसार राजनीति गलत त छैन। तर, व्यवहारिक रुपमा वा राजनीति गर्नेहरुले गरेको बदमासीका कारण आज राजनीतिको परिभाषा नै गलत बनाए र यसले उसले राजनीति गर्नु हुदैन भन्ने बनाएको जस्तो लाग्छ।

विश्व साहित्यिक बजारमा नेपालको स्थान कहाँ छ ?

जवाफ सजिलो छैन। किन भने यसको मूल्याङ्कन हुन बाँकी नै छ। साहित्यको महत्व स्थानीय ठाउँमा नै महत्व धेरे हुन्छ। विश्वका अरु देशरुले पनि साहित्य लेखिरहेका छन्। जसरी नेपाली साहित्य नेपालमा मात्र धेरै महत्व राख्छ अरु देशको पनि त्यही छन्।

तर, विश्व बजारमा जान नसके पनि हामीले विश्व साहित्यलाई दाँजेर लेखिरहेका छौं। विश्वमा चर्चित मानिएका कवितालाई पनि अध्ययन गर्दा नेपाली साहित्यकारले पनि त्यो अनुसारको कविता लेखेका छन्। धेरै कमजोर छ भन्ने लाग्दैन।

अनुवादनको समस्याले गर्दा विश्व बजारमा नेपाली साहित्य नपुगको होला। साहित्य विश्व बजारमा जान नसक्नु पछिको जिम्मेवारी सरकार र एकेडेमीहरुले लिनुपर्छ। हालसम्म नेपालमा एउटा पनि ठूलो साहित्य सम्मेलन भएको छैन। २/४ जना कोठामा बसेर १/२ जना अन्य देशबाट बोलाएर मात्र नेपाली साहित्यको प्रचारप्रसार हुँदैन। जति अन्तर्राष्ट्रिय स्तरको साहित्यिक कार्यक्रम हुन्छ, त्यति चिनिने हो। त्यो कुरा भएन होला। अन्य देशहरुमा यस्ता महोत्सव हुन्छन्।

कविता कल्पनामा लेखिन्छन् कि यथार्थमा ?

कविता यथार्थबाट टाढा भाग्न सक्दैन। कल्पनामा लेख्नेहरु पनि छन्। तर, यथार्थता नभएसम्म कविताले जीवन पाउँदैन जस्तो लाग्छ। अति यथार्थ फरक हो, तर यथार्थबाट भागेर कुनै पनि साहित्य हुन्छ जस्तो लाग्दैन। अझ भनौं जहाँ समाज हुन्छ, त्यहाँ मान्छे हुन्छ। मान्छे विनाको साहित्य त के साहित्य, त्यसैले यथार्थमा नै धेरै साहित्यको रचना हुन्छ।

आउँदो पुस्तालाई राम्रो साहित्यकार बन्न के सुझाव दिन चाहनु हुन्छ?

साधना अत्यावश्यक हो। मलाई मेरो पनि साधना नपुगेको झैं लाग्छ। कहिले धेरै खेलेर पनि कविता बिग्रेका छन्। साधना बिर्सिनु भएन। त्यस्तै समाजको पनि अध्यायन गर्नु पर्यो। समाज बिना पनि साहित्यकार बन्न सकिँदैन। अरुको साहित्य कृति पनि पढनु पर्यो। समर्पण भाव हुनु पर्यो। साहित्यमा समर्पण भाव भएन भने यात्रा छोटो हुन्छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो