१ सय किलोमिटर दौडमा सहभागी २१ जना खेलाडीको दौडिने क्रममा मृत्यु

डिसी नेपाल
९ जेठ २०७८ १५:०८

काठमाडौं। १ सय किलोमिटर म्याराथन दौडमा सहभागी २१ जना खेलाडीको खेलकै क्रममा मृत्यु भएको छ । चीनमा आयोजित क्रस कन्ट्री माउन्टेन रेसमा भाग लिएका २१ खेलाडीको मृत्यु भएको हो । चीनको गान्सु प्रान्तको बैयिन सहरमा यो दुर्घटना भएको हो ।

स्थानीय अधिकारीहरुले जानकारी दिएअनुसार खराब मौसमका कारण यहाँ असिना वृष्टि, हिमपात र हिउँ जम्ने तथा तीब्र गतिको हावाहुरीका कारण प्रतियोगितामा भाग लिएकामध्ये २१ जनाको मृत्यु भएको छ । १ जना अझै बेपत्ता छन् । यो म्याराथन दौडमा १७२ प्रतियोगीहरु सहभागी थिए । उद्धार टोलीले अन्य प्रतियोगीलाई उद्धार गरेको छ । यीमध्ये केहीको स्वास्थ्य बिग्रिएको छ र उनीहरुलाई हस्पताल लगिएको छ ।

अल जजीराको रिपोर्टअनुसार बैयिन सहरका मेयर झांग जुचेनले आइतबार मौसममा अचानक परिवर्तनका कारण यो दुर्घटना भएको बताए । उनले यसको जाँचको लागि एक विशेष टिमको गठन गरिएको पनि जानकारी दिए । उद्धार मुख्यालयका अनुसार दिउँसो करिब १ बजेको समयमा दौडको १०० किलोमिटर दूरीमध्ये बीचको २० देखि ३१ किलोमिटरको भाग अचानक विनाशकारी मौसमबाट प्रभावित भएको थियो । यो भाग उकालो थियो ।

केही समयमै स्थानीय क्षेत्रमा असिना, हिमपात, वर्षा र तीब्र हावा चल्न थाल्यो । मौसमका कारण तापमानमा भारी गिरावट आयो । तत्कालै म्याराथनलाई स्थगित गरेर उद्धार टोलीका करिब १ सय जनालाई उद्धार कार्यमा परिचालन गरिएको थियो । रातको समयमा उद्धार टोलीलाई ठाउँठाउँमा फसेका मानिसहरु निकाल्न कठिनाइ पनि भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *