सामाजिक संजालबाट कोरोनाको ‘भारतीय भेरिएन्ट’ लेखिएका सबै पोस्ट हटाउन भारतको आदेश

डिसी नेपाल
९ जेठ २०७८ १६:०६

काठमाडौं। भारत सरकारले सामाजिक संजाल कम्पनीहरुलाई आफ्नो प्यलेटफर्ममा कोभिड–१९ को ‘भारतीय भेरिएन्ट’ भन्ने शब्द उल्लेख भएका सबै सामग्रीहरु हटाउन निर्देशन दिएको छ । भारतको सूचना प्रविधि मन्त्रालयले विश्व स्वास्थ्य संगठनले उक्त भेरिएन्टलाई बी.१.६१७ भनेकोले यसलाई भारतीय भनिनु गलत भएको बताएको छ ।

कोरोनाभाइरसको कुनै पनि भाइरसलाई चिनाउनको लागि त्यो भाइरस भेटिएको भौगोलिक क्षेत्रको नाम प्रयोग गर्न भारतबाट थालिएको भने होइन । यसअघि पनि कोरोनाभाइरसका अन्य भेरिएन्टलाई बेलायती, दक्षिण अफ्रिकी, ब्राजिलियन जस्ता नामबाट चिनिँदै आइएको छ । ती देशहरुले भने आफ्नो देशको नाम जोडेर भेरिएन्टको पहिचान गरिएकोबारे कुनै आपत्ति जनाएका छैनन् । भारतले भने यो महामारीलाई सही तरिकाले व्यवस्थापन गर्न नसकेको आलोचना खेपिरहँदा त्यसबाट बच्न यस्तो प्रयास गरेको अनुमान गरिएको छ ।

यसअघि पनि भारतले गत महिना ट्वीटरलाई आफ्नो देशमा महामारी गम्भीर रुपमा पुगेको विषयमा केही पोस्टहरु हटाउन आदेश दिएपछि भारत सरकारको निकै आलोचना भएको थियो । भारतमा नयाँ भेरिएन्टको प्रकोप निकै गम्भीर रुपमा परेको छ र मार्चको अन्तिमदेशि यहाँ बढ्दै गएको संक्रमणले अहिले भारत अमेरिकापछि विश्वमै सबैभन्दा धेरै संक्रमित भएको देश बनेको छ । भारतमा संक्रमितको संख्या २६ मिलियनभन्दा धेरै भइसकेको छ ।

भारतमा कोभिड–१९ सम्बन्धित मृत्युको संख्या पनि ३ लाख पुग्नै लागेको छ । यो संख्या अमेरिका र ब्राजिलपछि तेस्रो हो । र, केही विशेषज्ञहरुले भारतमा सबै मृत्यु रिपोर्ट नगरिएको र यहाँ मृत्युको संख्या अझै बढी हुन सक्ने भनेका छन् ।

सामाजिक संजालहरुलाई दिइएको पछिल्लो निर्देशन विद्युतीय तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको हो । यो निर्देशन सार्वजनिक गरिएको छैन तर केही समाचार एजेन्सीहरुले यो निर्देशन हात पारेका छन् । समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इण्डियालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार निर्देशनमा सामाजिक संजालहरुलाई भारतीय भेरिएन्ट उल्लेख भएका सबै पोस्ट तत्काल हटाउन भनिएको छ ।

‘हाम्रो जानकारीमा आएको छ कि एउटा गलत वक्तव्य अनलाइनमा प्रसार भइरहेको छ जसमा भनिएको छ कि कोरोनाभाइरसको भारतीय भेरिएन्ट देशहरुमा फैलिइरहेको छ र यो वक्तव्य पूर्ण रुपमा गलत हो’ समाचार एजेन्सी एएफपीले पनि सोही पत्रलाई उद्धृत गर्दै लेखेको छ । यो पत्रमा विश्व स्वास्थ्य संगठनले आफ्ना कुनै पनि रिपोर्टमा कोरोनाभाइरसको बी.१.६१७ भेरिएन्टलाई ‘भारतीय’ भेरिएन्ट नभनेको उल्लेख छ ।

सामाजिक संजाल कम्पनीका एक कार्यकारीले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै इण्डियन भेरिएन्ट लेखिएका सबै पोस्टहरु हटाउनु निकै कठिन हुने बताएका छन् । बी.१.६१७ निकै छिटो फैलिने भेरिएन्ट हो जुन पहिलोपटक गत वर्ष भारतमा भेटिएको थियो र त्यसपछि दर्जनौं देशहरुमा फैलिइसकेको छ । कैयौं देशहरुले भारतबाट आवागमनमा कडा प्रतिबन्ध पनि लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *