१७१ यात्रु बोकेर ग्रिसबाट लिथुआनिया गइरहेको र्‍यानएयरको जहाज बेलारुसद्वारा ‘हाइज्याक’ !

डिसी नेपाल
१० जेठ २०७८ १६:४०

काठमाडौं। ग्रिसबाट लिथुआनियातर्फ गइरहेको र्यान एयरको एक जहाजमा बम भएको भन्दै आतंक फैलाएर आफ्नो देशमा अवतरण गर्न बाध्य पारेको बेलारुसमाथि ‘राज्य आतंकवाद’ फैलाएको आरोप लगाइएको छ । युरोपेली संघले यो बलजफ्ती अवतरणलाई राज्यबाट गरिएको ‘हाइज्याक’ भएको ठहर गरेको छ ।

आइतबार विमानमा बम भएको भन्दै बेलारुसतर्फ डाइभर्ट गरिएको विमानमा एक पत्रकारले यात्रा गरिरहेको र उनैलाई पक्राउ गर्नको लागि बेलारुसले विमान ‘हाइज्याक’ गरेको अभियन्ताहरुले आरोप लगाएका छन् । युरोपेली देशहरुले यो घटनाप्रति प्रतिक्रिया दिँदै बेलारुसको हर्कतलाई ‘राज्य आतंक’ भनेका छन् ।

विमान बेलारुसको मिन्स्कमा अवतरण गरिएपछि विमानमा यात्रा गरिरहेका नेक्स्टा ग्रुपका पूर्व सम्पादक रोमन प्रोटासेभिचलाई बेलारुसले पक्राउ गरेको छ । प्रोटासेभिचलाई पक्राउ गरेपछि विमानलाई त्यहाँबाट आफ्नो गन्तव्यतर्फ उड्न दिइएको थियो । बेलारुसको मिडियालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार विमानमा बम हुन सक्ने भन्दै बेलारुसले विमानलाई मिग–२९ लडाकू विमानले स्कर्टिङ गराएर मिन्स्कमा ओरालेको थियो तर विमानमा कुनै विष्फोटक भेटिएन ।

मिन्स्कबाट उडेपछि विमान आफ्नो अन्तिम गन्तव्य लिथुआनियाको राजधानी भिल्निअसमा स्थानीय समयअनुसार राती ९ बजेर २५ मिनेटमा अवतरण गरेको थियो । यो निर्धारित अवतरण समयभन्दा ७ घण्टा ढिलो हो । भिल्निअससम्म आएका यात्रुले आफुहरुलाई विमान मिन्स्कतर्फ डाइभर्ट गरिएको कारणबारे केही नबताइएको बताएका छन् । एक यात्रुले प्रोटासेभिच अत्यन्तै त्रसित रहेको बताउँदै बीबीसीसँग भने ‘मैले सिधै उनको आँखामा हेरेको थिएँ र यो निकै दुखलाग्दो थियो ।’

अर्की यात्रु मोनिका सिम्किनेले समाचार एजेन्सी एएफपीसँग भनिन् ‘उनी मानिसहरु भएतिर फर्किए र आफूले मृत्युदण्डको सजाए पाएको बताए ।’ युरोपेली संघ र उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) लाई यस विषयमा हस्तक्षेप गर्न आग्रह गरिसकिएको छ । बेलायती विदेश सचिव डोमिनिक राबले ‘सीमाबाहिर’ गरिएको यो हर्कतले ‘गम्भीर परिणाम’ ल्याउन सक्ने चेतावनी दिएका छन् । निर्वासनमा रहेकी बेलारुसकी विपक्षी नेतृ स्वेतलाना तिखानोभस्कायाले प्रोटासेभिचको रिहाइको माग गरेकी छिन् ।

कसरी डाइभर्ट गरियो विमान ?

फ्लाइट ४९७८ एथेन्सबाट भिल्निअस जाँदै थियो । विमान लिथुआनियाको सीमाभित्र प्रवेश गरेलगत्तै मिन्स्कतर्फ पूर्व फर्कियो । ग्रिस र लिथुआनियाका अनुसार विमानमा १७१ यात्रु थिए । र्यान एयरले जारी गरेको वक्तव्य अनुसार विमानको क्रुलाई बेलारुसको एयर ट्राफिक कन्ट्रोलले विमानमा सम्भावित सुरक्षा खतरा बताउँदै नजिकको मिन्स्क विमानस्थलतर्फ डाइभर्ट हुन भनेको थियो ।

यद्यपि फ्लाइटराडार २४ मा देखिएको रुटका अनुसार जब विमान घुम्यो त्यतिबेला वास्तवमा विमान मिन्स्कभन्दा भिल्नियससँग नजिक थियो । र्यान एयरका अनुसार मिन्स्कमा भएको जाँचमा विमानमा केही अस्वभाविक पाइएन र विमान मिन्स्क विमानस्थलबाट बेलुकी ८ बजेर ५० मिनेटमा उड्यो । ‘हामी र्यानएयरको नियन्त्रणभन्दा बाहिर रहेको खेदपूर्ण ढिलाइको लागि प्रभावित सबै यात्रुहरुसँग माफी चाहन्छौं’ वक्तव्यमा भनिएको छ ।

र्यानएयरको वक्तव्यमा प्रोटासेभिचको बारेमा केही पनि भनिएको छैन । उनी पक्राउ परेको समाचार सबैभन्दा पहिले नेक्स्टाले सार्वजनिक गरेको थियो । समाचारमा विमान र यात्रुहरुको चेकजाँच गरिएको र प्रोटासेभिचलाई लिएर गएको बताएको थियो । बेलारुसको राज्य नियन्त्रित समाचार एजेन्सी बेल्टाले जनाएअनुसार बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले व्यक्तिगत रुपमा विमानमा बम भएको सूचना आएको भन्दै विमानलाई मिन्स्कमा अवतरण गराउने र विमानको स्कर्टिङका लागि मिग २९ पठाउने आदेश दिएका थिए ।

बेलारुसको यो कामले सर्वत्र आक्रोशको वातारण बनाएको छ र यो बढिरहेको छ । बेलारुसका लागि अमेरिकी राजदूत जुली फिशरले ट्वीट गर्दै लुकाशेन्कोले विमानमा बम भएको झुटो सूचना दिएर एक जना पत्रकारलाई पक्राउ गर्नको लागि लडाकु जेट पठाउनु घृणाजनक भएको बताएकी छिन् । युरोपियन काउन्सिलका अध्यक्ष चार्ल्स मिशेलले यो अभूतपूर्व घटनाबारे सोमबारको काउन्सिल शिखर सम्मेलनमा इयुका नेताहरुले छलफल गर्ने र यो बिना निष्कर्ष नटुंगिने बताएका छन् ।

नाटोका महासचिव जेन्स स्टोल्टेन्बर्गले यो निकै गम्भीर र खतरनाक घटना भएको बताएका छन् । लिथुआनिया र लात्भियाले बेलारुसमाथिको एयरस्पेसलाई असुरक्षित घोषणा गरिनुपर्ने बताएका छन् । लात्भियाका विदेश मन्त्री एद्गार्स रिंकेभिसले बेलारुसमाथिको एयरस्पेस सबै अन्तर्राष्ट्रिय उडानका लागि बन्द गरिनुपर्ने बताएका छन् ।

नागरिक उड्डयनसम्बन्धी संयुक्त राष्ट्रसंघको एजेन्सी आइसएिओले यो प्रथमदृष्टिमा बलपूवृक अपहरणप्रति आफू चिन्तित भएको बताएको छ । ंउसले यो अवतरण एयरस्पेस र एयरक्राफ्टको सुरक्षाको नियम पारित गरिएको शिकागो सम्मेलनको उल्लंघन भएको हुन सक्ने बताएको छ । पोल्याण्डका प्रधानमन्त्री मातेउज माराविकीले भने ‘यात्रुवाहक विमान अपहरण गर्नु राज्य आतंकको अभूतपूर्व कार्य हो र यो कार्यलाई बिना सजाय छाड्न सकिँदैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *