त्रिविको अनलाइन परीक्षा फारमः विद्यार्थी नेता भन्छन् अपरिपक्व निर्णय

सम्भव सिंह ठकुरी
१० जेठ २०७८ १७:३९

काठमाडौं। कोरोना भाइरसको दोस्रो लहरले मानव जीवन आक्रान्त बन्न थालेपछि नेपालको सबै भन्दा पुरानो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयले संचालन भइराखेको विभिन्न शंकायको परीक्षा बैशाख १३ गते परीक्षा अर्को सूचना नआउनुजेल सम्म स्थगित गरेको थियो।

कोरोनाका कारण अधिकांश संकायका विद्यार्थीहरुको शैक्षिक सत्र अघि बढ्न सकेको छैन भने परीक्षा अनिश्चित बनेको छ। यसैबीच आइतबार विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यलयले सूचना सार्वजानिक गरेको छ।

उक्त सूचनामा वार्षिक प्रणाली अन्तर्गतका स्नातक प्रथम वर्षका परीक्षार्थीले परीक्षा आवेदन फारम २०७८ जेष्ठ १० गतेदेखि जेष्ठ २० गतेसम्म क्याम्पसमा संकलन भएका आवेदन फारमहरु सम्बन्धित क्याम्पसबाट भराउने र आवेदन छुट हुन गएका विद्यार्थीहरुको आवेदन फारम २०७८ जेष्ठ १२ देखि जेष्ठ २० गतेसम्म अनलाइनबाट परिक्षार्थीहरु स्वमंले भर्न सक्ने उल्लेख छ। क्याम्पस र परीक्षार्थीहरुबाट भरिएका सम्पूर्ण फारमहरु सम्बन्धित क्याम्पसले रुजु गरी सो को रकम भुक्तानी गरी २०७८ जेष्ठ २३ गते भित्र दर्ता गरिसक्नेु पर्ने उल्लेख गरिएको छ।

यसरी त्रिविले सूचना सार्वजानिक गरेपछि अधिकांश विद्यार्थीहरुले सामाजिक संजालमा आक्रोस पोखेका छन्। निषेधाज्ञा लागू हुने भएपछि उच्च शिक्षा हासिल गर्ने अभिलाशाका साथ काठमाडौं लगायत विश्वविद्यालयको पँहुच भएका विभिन्न ठाँउबाट धेरै विद्यार्थीहरु आफ्नो घर गएका छन्। बाजुराका विद्यार्थी महेश्वर रोकाय भन्छन्, ‘त्रिविले शैक्षिक शत्र सुरुवात गर्नु र समयमैै परीक्षा संचालन गर्नु विद्यार्थीको लागि सुखद् क्षण हो। तर अहिले यो बन्द र महामारीकाबीच अनलाइन फारम भर्न म र मेरो जस्तो धेरै भौगौलिक विकटता र टेलिफोनको सुलभ पहँुच नभएको दूरदराजको विद्यार्थीहरुले अनलाइन फारमको प्रयोग कसरी गर्ने?’

नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष राजिव ढुङ्गाना अहिलेको यो कोरोना जोखिममा अपनाउने सबैभन्दा प्रभावकारी माध्यम भनेको अनलाइन विधि भएको बताउँछन्।। तर अहिलेको अवस्थामा त्रिविले विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने र परीक्षा संचालनका लागि फारम खुलाउनु सैद्धान्तिकरुपमा राम्रो भए पनि व्यवहारिक रुपमा चुनौतीपूर्ण रहेको ढुङ्गानाको तर्क छ। ‘यो अवस्थामा सबै विद्यार्थीहरुले अनलाइनको उपयोग गर्ने स्थितिमा पनि छैन। त्यसकारण त्रिविले कुनै तयारी नगरी जेष्ठ १० देखि २० गते भित्रको समयसीमा मात्र होइन विद्यार्थीहरुलाई आवश्यक पर्र्ने प्रयाप्त समय दिनुपर्ने हुन्छ। त्यसका लागि नेविसंघले चाँडै निकास खोज्ने छ,’ उनले भने।

त्रिविलाई कोभिडको महामारी आउनु भन्दा अगाडि नै आफूहरुले पूर्वसूचित परीक्षा र शैक्षिक सत्रमा यसले असर पुर्याउने भएकाले बेलैमा विकल्प तयार गीि भर्चुअल परीक्षा र कक्षा संचालन गर्न आग्रह गरे पनि त्रिविले अटेर गरेको अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ बताउँछन्।

‘अनलाइन कक्षा र अनलाइन परीक्षा संचालन गर्नका लागि कम्तिमा सबै क्षेत्रबाट कति विद्यार्थी अनलाइनको पहँुचमा हुन्छन्, त्यसको प्रक्षेपण गरौँ र सम्भव भएसम्म सबै विद्यार्थीलाई अनलाइनको पँहुचमा ल्याउन तयार गरौँ भनेका थियौं,’ उनले भने, ‘तर त्यो हुन सकेन। त्यतिमात्र होइन, सबै विद्यार्थी संगठनहरुका प्रतिनिधिलाई जुम मिटिङबाट भए पनि विद्यार्थीहरुको समस्या बुझेर त्यो अनुरुप परीक्षालाई कसरी संचालन गर्ने,कसरी कक्षा संचालन गर्ने त्यो अनुसारको निर्णय गरौँ भन्दा पनि विश्वविद्यालयले टेरेन।’

अहिले महामारी अत्यन्तै आक्रमकरुपमा फैलिएको र फेरि कुनै तयारी बिनानै त्रिविले अनलाइन फारम निकाल्नुले पँहुचमा भएका विद्यार्थीका सहज नभएको उनको भनाइ छ।

‘विश्वविद्यालय जस्तो बौद्धिक क्षेत्रले आम विद्यार्थीहरुको सजिला अप्ठेरोे कुरा नबुझी हतारमा निर्णय लिनु अपरिपक्वपन हो,’ उनले भने, ‘सहज निकाशका लागि र सो सूचना अनुसार सबै विद्यार्थीहरुको पहुँचमा पुग्ने गरी कार्यान्वयन गर्नु हामी सबै विद्यार्थी संगठनहरु सल्लाह गरेर त्रिविलाई बाध्य बनाउँछौँ।’

माधव नेपाल समूह अनेरास्ववियुका अध्यक्ष सुदेस पराजुली पनि त्रिविको सूचना अव्यवहारिक भएको बताउँछन्। विद्यार्थीका लागि वैकल्पिक माध्यम अपनाउनु त राम्रो हो तर विना तयारी सूचना सार्वजानिक गर्नु सबै विद्यार्थीको पहँचमा हुन नसक्ने बताउँछन्।

के भन्छ त्रिवि परीक्षा नियन्त्रण कार्यलय?

त्रिवि परीक्षा नियन्त्रण कार्यलय प्रमुख पुष्पराज जोशी भन्छन्, ‘कोरोना महामारीकाबीच प्रयोग गरिने सबैभन्दा प्रभावकारी माध्यम नै अनलाइन माध्यम हो, त्यसकारण हामीले अनलाइन माध्यमको अवधारणा अबलम्वन गरेका हौँ।’

उनले अहिले प्राय इन्टरनेटको पहुँच नभएको ठाँउ विरलै भएको उल्लेख गर्दै विद्यार्थीहरुले घर बसेर आफैंले आवेदन गर्ने व्यवस्था मिलाएको बताए। ‘उपत्यका भन्दा बाहिरका क्याम्पसहरुमा जोखिम पनि अलिक कम भएकाले विद्यार्थीहरु स्वमं क्याम्पसमा गएर पनि भर्न सक्छन्,’ उनले भने, ‘उपत्यकालगायत सुगम ठाउँहरुमा भने इन्टरनेटको पहँुच सहज भएकाले यो माध्यम प्रयोगमा ल्याएका हौँ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *