सीसीएमसीको प्रमुखमा बालानन्द शर्मा

डिसी नेपाल
१० जेठ २०७८ २१:५२

काठमाडौं। सरकारले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई सीसीएमसीको संयोजकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। कोभिड १ू९ संकट व्यवस्थापन अध्यादेशमा भएको व्यवस्था बमोजिम शर्मालाई सीसीएमसीको प्रमुख नियुक्त गरिएको हो।

सीसीएमसीभन्दा माथि कोभिड १९ संकट निर्देशक समिति रहने अध्यादेशमा व्यवस्था छ। यो समितिको नेतृत्व प्रधानमन्त्री स्वयमले गर्ने र उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री, गृहमन्त्री, उद्योग वाणिज्यमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहने व्यवस्था छ। निर्देशक समितिको सदस्य सचिवमा सीसीएमसीका प्रमुख रहने व्यवस्था अध्यादेशमा छ।

तत्कालिन विद्रोही माओवादीका लडाकुलाई व्यवस्थापन गर्न बनेको सेना समायोजन विशेष समितिको संयोजक भएर सफलतापूर्वक काम गरेका शर्मालाई सरकारले कोरोनाविरुद्धको लडाईँमा आवश्यक रणनीति, मापदण्ड बनाएर सरकारलाई सिफारिस गर्ने मुख्य जिम्मेवारी दिएको हो।

कोरोना महामारीको दोस्रो लहरले देश आक्रान्त छ। दैनिक हजारौंको संख्यामा संक्रमित भइरहेका छन् भने सयौंको संख्यामा मृत्यु भइरहेको छ। यस्तो जटिल अवस्थामा सरकारले शर्मालाई प्रमुख जिम्मेवारी दिएको हो।

यसअघि सरकारले मन्त्रिपरिषदको निर्णयबाट सीसीएमसी गठन गरेको थियो। तर, हाल सरकारले कोभिड संकट व्यवस्थापन अध्यादेश ल्याएर कानुनी व्यवस्था गरेको छ। अध्यादेशको व्यवस्थाअनुसार सीसीएमसी गठन गरिएको हो। अध्यादेश जारीपछि यसअघि सीसीएमसी निर्देशक समितिको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई जिम्मेवारीबाट हटाएर कोभिड १० संकट निर्देशक समिति बनाइएको छ। र त्यसको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयम आफैले लिएका थिए।

उपप्रधानमन्त्री पोखरेल सीसीएमसीको संयोजकमा रहँदा विभिन्न विवादमा मुछिएका थिए। औषधि खरिदमा ओम्नी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री पोखरेलले सीसीएमसीबाट राम्रो कार्यसम्पादन गर्न नसेको निष्कर्षमा प्रधानमन्त्री ओली पुगेका थिए। खासगरी सीसीएमसीको एक महत्वपूर्ण सदस्य नेपाली सेनासँग उपप्रधानमन्त्री पोखरेलको सम्बन्ध सुमधुर नहुँदा सीसीएमसीले प्रभावकारी रुपमा काम गर्न नसकेको देखिएको थियो।

सेनाले गत वर्षको मंसिरमै कोरोनाको दोस्रो लहर आउन सक्ने भन्दै सीसीएमसीमा विस्तृत रणनीतिसहितको प्रतिवेदन बुझाएको थियो। तर उपप्रधानमन्त्री पोखरेलले सेनाको प्रतिवेदनलाई रद्दीको टोकरीमा मिल्काइदिए। यसपछि असन्तुष्ट बनेका प्रधान सेनापति पूर्णचन्द्र थापा सीसीएमसीको बैठकमै जान छाडेका थिए। उप्रधानमन्त्री पोखरेल र सेनाबीचको सम्बन्ध पोखरेल रक्षामन्त्री हुँदा नै विग्रेको हो। सेनासँगको पोखरेलको सम्बन्ध खराब भएपछि प्रधानमन्त्री ओलीले पोखरेलबाट रक्षा मन्त्रालयको जिम्मेवारी खोसेर आफैसँग राखेका छन्।

यस्तो जटिल अवस्थामा सीसीएमसीको नेतृत्वमा पूर्वरथी शर्मा आइपुगेका छन्। शर्माले कोरोनाको कहरबाट आक्रान्त बनेको देशलाई मुक्त दिलाउन मुख्य रणनीतिकार र सिफारिसकर्ताको काम गर्नुपर्नेछ।

शर्मा नेशनल डिफेन्स यूनिभर्सिटीका प्रमुखसमेत हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *