काेराेना महामारीमा जेठ महिनाभरिलाई पुग्ने खाद्यान्न पीडितकै घरदैलोमा – Dcnepal

काेराेना महामारीमा जेठ महिनाभरिलाई पुग्ने खाद्यान्न पीडितकै घरदैलोमा

‘सहयोग दिन्छौं तर फेसबेकमा हाल्दैनौं’

काठमाडौं। भनिन्छ नि ‘कोही नहुनेको भगवान हुन्छ’। कोरोना संक्रमणका कारण भएको निषेधाज्ञाले अहिले दैनिक ज्याला मजदुरी गर्ने गरिब दुखीलाई दुई छाक खान समस्या हुन थालेको छ। जसप्रति सरकारको ध्यान जान सकेको छैन।

तर उनै गरिब दुःखीका लागि भगवान बनिदिएर निस्किएका छन् समाजसेवीहरु। तिनै समाजसेवीले गर्दा यतिबेला धेरैको भोको पेट भरिएको छ।

एक वर्ष अघिदेखि कोरोनाले विश्वका सबै मानवजातिलाई आक्रान्त बनाइरहेको छ। जसमा नेपाल अछुतो हुने कुरै भएन। अझ विकासोन्मुख देशका जनतालाई त संक्रमणको साथसाथै भोकले समेत आक्रान्त बनाएको छ।

निषेधाज्ञा लम्बिदै गएकाले देशका मुख्यमुख्य सहरमा दैनिक ज्याला मजदुरी गर्नेलाई खाद्यान्नको समस्या हुन थालेको छ र उनीहरु खाना पाइन्छ कि भन्ने आशमा घरबाहिर निस्किनु परिराखेको अवस्था छ। विशेषत काठमाडौं उपत्यकामै ज्यालामजदुरी गरी छाक टार्दै आएका धेरै गरिब दुःखीहरु एकछाक खानको लागि रोडमा निस्किराखेका छन्।

यिनै भोको पेट भरिदिनका लागि संक्रमणको भयावह स्थितिमा पनि आफ्नै ज्यानको बाजी राखेर बाहिर निस्किराखेका छन्, धेरै समाजसेवीहरु। गरिब दुःखीको सेवा गर्दै हिँडिराखेका तिनै समाजसेवीमध्ये डिसी नेपालले एउटा टिमलाई फेला पारेर छ, जुन टिमले आफूले सेवा गरेको समेत समाजलाई देखाउन हिचकिचाउँछ।

निस्वार्थ समाजसेवामा जुटेका तिनै टिममध्येका एकजना लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्थाका सिईओ समेत रहेका तिलकबहादुर कार्कीलाई सोधिखोजी गर्दा उनी भन्छन्, ‘हामी सहकारी संस्था र किवानीस क्लबमा पनि आवद्ध छौं। तर हामीले आफैं पैसा जुटाएर राहत दिएका हौं। साँच्चिकै पीडित हो होइन अध्ययन गरेर मात्र राहत दिएका छौं। खान पाइराखेको अवस्थाकालाई दिएका होइनौं। भोकै बस्नुहुनेहरुलाई एक–डेढ महिनासम्मलाई पुग्ने गरी खाद्यान्न दिइराखेका छौं।’

कार्कीका अनुसार सहकारी संस्था र किवानीस क्लबमा आवद्ध भएका र बाहिरका साथीभाई मिलेर बनेको टिमले गरिब दुखीलाई एकहप्ता अगाडिदेखि खाद्यान्न बाड्न थालेको हो। उनले भने, ‘सहकारीको अध्यक्ष सहदेव तिमल्सिना पनि हुनुहुन्छ र हामी किवानीस क्लबमा पनि आवद्ध छौं। तर, हामीले अन्य बाहिरका साथीहरुसँग मिली व्यक्तिगत खर्च उठाएर गरिब, पीडितलाई खाद्यान्न बाडेका हौं।’

दुःखी र पीडितलाई महिनौ दिनसम्म पुग्नेगरी राहत दिँदै आएको उक्त टिममा संस्थाबाहिरका साथीहरुसहित हाल सात (कार्की, तिमल्सिनालगायत तिलक बहादुर कार्की, निकेश अधिकारी, रामशरण अधिकारी, सैलेन्द्र अधिकार, प्रकाश नगरकोटी) जना रहेका छन् ।

सहकारीका कर्मचारी, सदस्यहरु र अन्य व्यापार व्यवसाय गर्ने मनकारी चिनेजानेका साथीभाईसँग समेत पैसा उठाएर राहत वितरण गरेको टिममध्येका कार्कीले बताए। उनले भने, ‘टिमबाट पैसा जम्मा गरेका छौं, अरु साथीहरुलाई पनि भनिराखेका छौं। हामीले सहकारी संस्थाबाट राहत दिएको भन्दैनौं। किनभने यसमा संस्था, फाइनान्सका साथीबाहेक अन्य साथीहरुको पनि पैसा जम्मा गरेर राहत दिएका हौं।’

उनका अनुसार एक हप्ताअघिदेखि राहत दिन सुरु गरेको उक्त टिमले हालसम्म करिब पाँच लाखभन्दा बढी रकमको राहत बाडिसकेको छ। राहत कसरी बाडिराख्नु भएको छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘हामीले राहत बाँड्दै छौं लिन आउनुस भन्ने गर्दैनौं। मलगायत अरु साथीहरुको पनि आफ्नै गाडी छ। राहतको लागि हामीमध्ये जसलाई फोन आउँछ सल्लाह गरेर जो साथीलाई नजिक पर्छ उहाँ गएर अध्ययन गर्नुहुन्छ अनि पछि खाद्यान्न लिएर जान्छौं।’

आजभोलि प्राय राहतको लागि बढी फोन आउने गरेको बताउने कार्कीलाई सम्पर्क गर्दा भर्खरै मात्र राहत दिएर घर फर्किएको बताए। उनले भने, ‘भर्खर एउटा परिवारलाई राहत दिएर आएको थिए। मैले उहाँहरुलाई कालो दाल र रातो दाल दई–दुई किलो, चाउचाउ एक कार्टुन, एक बोरा चामल, तीन प्याकेट तेल, एक प्याकेट नुन, तीन किलो चिउरा, एक किलो दालमोट गरी लगभग पाँच हजार जतिको सामान दिएर फर्किएको।’

यसरी कुनैकुनै बेला राहतको लागि फोनको भरमा गाडीमा सामान लिएर जाँदा पीडित भन्ने व्यक्ति वा परिवारको भान्साघरमा खाद्यान्न टन्न देखेकोले फर्काएर ल्याएको गुनासो समेत गर्दै उनले भने, ‘हामीले गाडीमा सामान लगेर दिएका छौं। तर कतिपय ठाउँमा पुर्याएको सामान फर्काएर पनि ल्याएका छौं। उहाँहरुको तलब आइराखेको, घरमा सामान भइराखेको भएकोले फर्काएर ल्याएका हौं। उहाँहरुको भान्साघरमा हेर्दा एक–दुई बोरा चामललगायतका खाद्यन्न देखेकाले राहत फर्काएका हौं।’

सोही घटनाप्रति गुनासो गर्दै उनले थपे, ‘हामीले त न सरकारी कोषबाट कुनै पैसा पाएर बाडेको हो, न त काहीँबाट आएको छ। हामी साथी–साथी मिलेर जम्मा गरेको पैसा हो। त्यही भएर हामीले साँच्चिकै दुःखीलाई मात्रै राहत दिएका हौं। अशक्त, अपाङ्ग, कतिपय मागेर खानेदेखि लिएर, दैनिक मजदुरी गरेर खानेहरुलाई मात्रै दिएका हौं।’

बजारमा राहत दिनु नै पर्ने के–कस्ता पीडित छन्?, भन्ने प्रश्नमा उनी भन्छन्, ‘हामीले त साच्चिकै पीडितहरुलाई हामै्र आफ्नै तलब काटेर राहत बाडेका हौं। र, साच्चिकै पीडितहरुलाई भोको नराखौं भनेर हामीले रोगबाट भन्दा पनि भोकबाट बचाउनु पर्छ भन्ने उद्देश्यले गरेका हौं। तर हाम्रो नेपालीहरुको कस्तो बानी पनि देखियो भने, राहत दिएको ठाउँमा मैले यो तेल खान हुँदैन अर्को किनीदिनु, दुई–चार किलो चिनी पनि किनिदिनु आदि इत्यादि माग पनि गर्नुहुन्छ।’

फिल्डमा गइसकेपछि अस्वाभाविक लाग्ने केही मानिसहरु देखिए पनि दुःखी र पीडित मानिसहरु भने धेरै मात्रामा भेटेको उनले बताए। टिमका व्यक्तिहरुलाई कोरोना टेष्ट गर्दा केही दिन राहत बाड्न बन्द भएको र राहतका लागि फोन गरेका व्यक्तिहरुले उल्टै तपाईंहरु पहिला ठिक हुनुस बरु हामी त दुई चार दिन भोकै बस्न पनि सक्छौं भनेर हालखबर सोधिखोजी गर्ने पीडित व्यक्तिहरु समेत आफूहरुले भेटेको र सो कुराले गर्दा भने आफूलाई खुसी लागेको उनले सुनाए।

कार्कीका अनुसार किवानीस क्लबलाई माध्यम बनाएर राहत बाड्दै आएको उक्त टिमको राहत कार्यक्रमलाई अझ कसरी अगाडि बढाउन सकिन्छ भनेर छलफल भइराखेका छ। उनले भने, ‘यो राहत कार्यक्रमलाई एउटा फुड बैंकजस्तो बनाएर देशभरी नै कसरी सञ्चालन गर्न सकिन्छ र साच्चिकै पीडितलाई कसरी राहत दिन सकिन्छ भनेर छलफल गरिराखेका छौं।’

करिब सय परिवारलाई पाँच लाखभन्दा बढी रकमको राहत बाँडिसकेको उक्त टिमले राहतलाई कसरी निरन्तरता दिन सकिन्छ भनेर छलफल गरिरहेको कार्कीले बताए। उनले भने, ‘पाँच–छ लाखसम्मको मात्र बाडिसकेका छौं । अझै पनि बाड्ने सिलसिलामा छौं । यसको लागि व्यापार व्यवसाय गर्ने साथीहरु, क्लबदेखि लिएर संस्थागत रुपमा पनि धेरै साथीहरु जोडिएका छन्। चार पाँच हजार त हाम्रो सहकारी संस्थाका सदस्यहरु नै हुनुहुन्छ। उहाँहरु क–कसले कतिकति दिनसक्ने र हामीले कति जम्मा गर्ने भन्ने विषयदेखि लिएर कसरी र कतिसम्म दिने, कस्ता परिवारलाई दिने भन्ने कुरामा छलफल गरिराखका छौं।’

उक्त टिमले यसै वर्षको निषेधाज्ञादेखि राहत बाड्न थालेको हो। कार्कीका अनुसार राहत बाड्दै जाँदा अहिले माग पनि बढेको छ।

यस्तो जोखिमको बेला आफ्नै खल्तीको पैसा खर्च गरेर पीडितलाई राहत बाड्न किन उत्साहित हुनु भएको त?, भन्ने प्रश्नमा कार्की भन्छन्, ‘पोहोरको लकडाउनमा सरकारले अलिपछि भएपनि राहत बाडेको थियो । कतिपय संघ संस्थाहरुले पनि बाडेका थिए। यो बेलाको निषेधाज्ञामा त्यस्तो छैन। कसैले पनि नगरेको देखेर र हामीले प्रत्यक्ष धेरै पीडितहरुलाई देखेकोले मन छोएर गरौं न त भनेर गरेका हौं। सुरुमा राहत दिने भनेर टिम बनाएर कार्यक्रम गरेका पनि होइनौं। प्रत्यक्ष देखिराखेको चिनेका ८–१० घर दुःखी पीडितलाई दिएका थियौं। त्यसबेला उहाँहरु खुशी भएको देखेर काठमाडौं उपत्यकाभरिका साच्चिकै अरु पीडितलाई पनि सहयोग गरौं भन्ने सोच आएर राहत वितरण गरेका हौं। हामीलाई डोनेशन आएर गरेका पनि होइनौं।’

यतिबेला गाउँघरमा त जस्तै दुखी पनि दुःख सुख गरेर या छिमेकीसँग मागेरै भएपनि खाएका हुन्छन् तर सहरमा भने मागेर खानेदेखि लिएर बिहान बेलुका काम गरेर हातमुख जोड्ने सबैलाई गाह्रो भएको उनले सुनाए। त्यही भएर नै साह्रै नै दुःखीहरुलाई एकचोटी हेरौं न त भन्ने लागेर टिम राहतको प्याकेज लिएर हिडेको बताए।

उक्त टिमले पीडित र दुःखी सानो परिवारलाई एक महिनासम्म पुग्ने सामाग्रीमा एक बोरा चामल, ठूलो परिवार छ भने दुई बोरा चामललगायत दाल, तेल, नुन, चिउरा, दालमोट, आलु, चाउचाउ आदि दिदैं आएको छ । साथै, खाना पकाउने ग्यास सकिएको र ग्यास भर्ने पैसा समेत नभएका दुई चार परिवारलाई टिमका साथीहरुले ग्यास भर्ने पैसा समेत दिएको कार्कीले बताए।

कुनै नाम नराखिएको सो टिममा जो कोही सहयोगी हातहरुको लागि स्वागत रहेको भन्दै कार्कीले भने, ‘कसैले सहयोग गर्न चाहनु हुन्छ भनेदेखि र कोही तपाईहरुको टिममा जोडिएर फिल्डमा खटिएर सहयोग गर्न चाहन्छु भन्नु हुन्छ भने हामी स्वागत गर्छौं। तर सहयोगको नाममा फोटो खिचेर फेसबुकमा पोष्ट गर्ने काम चाहीँ हाम्रो टिमबाट हुँदैन।’

कार्कीसँग टिमले गरेको कामको अर्थात् सहयोग गर्दै गरेको फोटो भए पठाउन आग्रह गर्दा उनी यसो भन्छन्, ‘हाम्रो टिमको कोहीकोही साथीले फोटो त खिच्नु भएको छ होला तर दिन मिल्दैन।’

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो