विवादमा वन मन्त्री, सामाजिक सञ्जालमा तीब्र आलोचना

डिसी नेपाल
११ जेठ २०७८ १२:५८
620
Shares

काठमाडौं। वन मन्त्री प्रेमबहादुर आले बेला बेलामा विवादमा परेका छन्। ‘हामीले रुखहरुलाई अक्सिजन दिन्छौं र रुखबाट कार्बन्डाइडअक्साइड लिन्छौ’ भन्ने वाक्यका कारण विवादमा परेका उनी पछिल्लो समय महामारीमा प्रचार गरेको भन्दै विवादमा परेका छन्।

नीला रंगका अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री प्याक गरेको कार्टुनमा समेत मन्त्री आलेको फोटो टाँसिएका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्। सामाजिक सञ्जालमा उक्त तस्वीरहरुका कारण वनमन्त्री आलेको चर्को आलोचना भइरहेको छ।

सामाजिक सञ्जालमा चिनियाँ अनुदानको अक्सिजन सिलिण्डर व्यक्तिगत सहयोग भनेर प्रचार गरेको आरोप समेत लगाएका छन्।

डोटी गृहजिल्ला भएका मन्त्री आलेले सोमबार सहयोग हस्तान्तरण गरेका थिए। उनले वितरण गरेको सिलिण्डरमा ‘नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले ज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखेको स्टिकर टाँसिएको छ।

उनले डोटी अस्पताल र धनगढी प्रादेशिक अस्पतालमा आफै पुगेर सामग्री उपलब्ध गराएका थिए। उनले एन्टिजेन किट, अक्सिजन सिललिण्डर, सेनिटाइजर, जनरल बेड र सर्जिकल मास्क सहयोग स्वरुप उपलब्ध गराएका थिए।

यसअघि सांसदहरु गंगा चौधरी र हिरा केसीले पनि सोही रंगका सिलिण्डरहरु आफ्नो व्यक्तिगत पहलमा गृहजिल्ला पु-याएका थिए। उनीहरुले मन्त्री आलेको जस्तो स्टिकर नै टाँसेका भने थिएनन्।

मैले किनेको सामान विदेशी अनुदान होइन : वनमन्त्री

यसैबीच वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको स्पष्टीकरण दिएका छन्।

सेती प्रादेशिक अस्पताल कैलालीमा मंगलबार अक्सिजन सिलिण्डर वितरण कार्यक्रममा मन्त्री आलेले विदेशीले दिएको नभई आफ्नै खर्चमा किनिएको बताए।

उनले भने, “अक्सिजन नभएर नागरिकले ज्यान गुमाइरहेका बेलामा भ्रामक समाचार सम्प्रेषण हुनु आफैँमा नराम्रो हो, सकिन्छ भने सत्य समाचार लेखौँ, सकिँदैन भने गलत प्रचार नगरिदिऔँ।”

महामारीका बेलामा आफ्ना नागरिकको ज्यान बचाउनु नेताहरुको धर्म र कर्तव्य भएको जनाउँदै आफूले अन्य समयमा पनि बिरामी नागरिकलाई पटकपटक स्वास्थ्योपचारका लागि व्यक्तिगतदेखि सामूहिक सहयोग गर्दै आएको जानकारी दिए।

उनले जिल्ला अस्पताल डोटीमा चार कन्सन्ट्रेटरसमेत आफ्नै लगानीमा किनेर प्रदान गरेको बताउँदै भने, “म व्यापारी होइन, जनताको सेवक हुँ, छातीमा हात राखेर भन्छु मैले किनेर दिएको सामान विदेशी अनुदानको होइन।”

मन्त्री आलेले आफ्नो व्यक्तिगत खर्चमा डोटीमा ६० थान अक्सिजन सिलिण्डर, एक लाख ५० हजार मास्क तथा सेती प्रादेशिक अस्पताल कैलालीमा ५० थान भरिएका अक्सिजन सिलिण्डर र ५० हजार मास्क प्रदान गरेको उनको सचिवालयले जनाएको छ। मन्त्री आलेले आफ्नो व्यक्ति लगानीमा डोटी र सेती प्रादेशिक अस्पतालमा गरी कुल ११० अक्सिजन सिलिण्डर प्रदान गरिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *