भारतको १४ हजार करोड रुपैयाँ चोरेर एन्टिगुआमा लुकेका मेहुल चौकसी गायब !

डिसी नेपाल
११ जेठ २०७८ १३:३२

काठमाडौं। भारतको पंजाब नेशनल बैंकको १४ हजार करोड रुपैयाँ घोटाला गरेर भागेका हीरा व्यवसायी मेहुल चौकसी गायब भएका छन् । क्यारेबियन देश एन्टिगुआ एण्ड बारबुडाको एन्टिगुआ द्विपबाट उनी गायब भएका हुन् । एन्टिगुआ पुलिसले उनको खोजी गरिरहेको जनाएको छ । एन्टिगुआको मिडिया आउटलेट एन्टिगुआन्यूजरुमका अनुसार मेहुल चौकसी हराइरहेको रिपोटए दर्ता गरिएको छ र पुलिसले उनको खोजी गरिरहेको छ । २०१८ मा भारतबाट फरार भएका मेहुल त्यसपछि यो क्यारेबियन देशमा बस्दै आएका थिए ।

समाचारअनुसार मेहुललाई पछिल्लो पटक आइतबार स्थानीय समयअनुसार बेलुकी सवा ५ बजे आफ्नो निवासबाट कारमा निस्किँदै गरेको देखिएको थियो । त्यसपछि उनी देखिएका छैनन् । एन्टिगुआको जोनसन प्वाइट पुलिस स्टेशनमा उनी बेपत्ता भएको केस दर्ता गरिएको छ । पुलिसले उनीबारे कुनै सूचना भए उपलब्ध गराउन जनतालाई आग्रह गरेको छ । मेहुल एन्टिगुआबाट भागेर क्युबा पुगेको आशंका गरिएको छ । क्युबामा उनको आफ्नो घर छ ।

मेहुलका एक सहयोगीलाई उद्धृत गर्दै स्थानीय मिडियामा उनले देश छाडिसकेको र क्युबामा आफ्नो भव्य घरमा बसिरहेको दावी गरिएको छ । पछिल्लो समय भारतले एन्टिगुआ सरकारलाई उनको नागरिकता रद्द गर्ने विषयमा दबाब दिइरहेको थियो । सम्भवतः यही कारण उनी फरार भएको हुन सक्ने पनि आशंका गरिएको छ । रिपोर्टका अनुसार मेहुलसँग एन्टिगुआ मात्र नभइ अन्य क्यारेबियाली देशको पनि नागरिकता छ ।

एन्टिगुआ एण्ड बारबुडाका प्रधानमन्त्री गेस्टन ब्राउनका चीफ अफ स्टाफले बताएअनुसार यदि मेहुल चौकसी त्यहाँ भेटिएनन् भने उनलाई भारतमा चलिरहेको मुद्दामा सजाय दिलाउनको लागि प्रत्ययार्पणको कुनै प्रक्रिया हुने छैन । चीफ अफ स्टाफ लियोनेल हर्स्टले अहिले प्रत्यार्पणका विषयमा केही भन्नु हतार हुने बताए । उनका अनुसार यदि मेहुल फेला परेमा उनलाई भारतको जिम्मा लगाउने विषयमा प्रक्रियाअगाडि बढ्न सक्छ तर उनी नभेटिए कुनै प्रत्यार्पण हुने छैन किनकि उनी नभेटिएपछि केस अगाडि बढाउनुको कुनै फाइदा हुने छैन ।

एन्टिगुआ एण्ड बारबुडाको नागरिकता भएका मेहुललाई आइतबार द्विपको दक्षिणी क्षेत्रमा गाडी चलाइरहेको देखिएको थियो । पछि उनले चलाइरहेको गाडी भेटियो तर उनी भेटिएनन् । मेहुल चौकसी र निरव मोदी पंजाब नेशनल बैंक घोटालामा भारतमा वान्टेड छन् । निरव मोदी लण्डनमा जेलमा छन् । उनलाई प्रत्यार्पणमार्फत भारत ल्याउन भारतले प्रयास गरिरहेको छ । चौकसीले २०१७ मै लगानी कार्यक्रमअन्तर्गत एन्टिगुआ एण्ड बारबुडाको नागरिकता लिएका थिए र उनी २०१८ मा भागेर त्यहाँ पुगे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *