अर्कै समस्याको उपचार गर्न अस्पताल जाँदा कोरोना सरेर मर्नेहरुको तथ्यांक डरलाग्दो !

डिसी नेपाल
११ जेठ २०७८ १४:४५

काठमाडौं। विभिन्न फरक फरक स्वास्थ्य समस्या भएका तर कोरोनाभाइरस संक्रमण नभएका बिरामीहरु उपचारको लागि अस्पताल जाँदा अस्पतालमा कोरोना सरेर ठूलो संख्यामा बिरामीहरुको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । अस्पतालले उपलब्ध गराएका तथ्यांक र मृत्यु भएका बिरामकिा आफन्तले दिएका जानकारीका आधारमा द गार्डियनले एक रिपोर्ट प्रकाशित गर्दै यो तथ्यांक डरलाग्दो भएको भनेको छ ।

यो तथ्यांक इङ्ल्याण्डको मात्र हो तर यसले विश्वका अन्य क्षेत्रको समेत प्रतिनिधित्व गर्न सक्छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार बेलायतमा सोमबारसम्म कोरोनाभाइरस संक्रमित भएका मृत्यु भएकाहरुको संख्या १ लाख २७ हजार ७२४ छ । यीमध्ये ८ हजार ७ सय जना बिरामीलाई अस्पताल जाँदा कोरोनाभाइरस संक्रमण नभएको तर अस्पतालमै संक्रमण सरेपछि उनीहरुको मृत्यु भएको रिपोर्टमा दावी गरिएको छ ।

बरिष्ठ डाक्टर तथा एनएचएसका लिडरहरुले यसअघि नै आफूहरुले अस्पतालमा भाइरस फैलिनबाट रोक्नको लागि संघर्ष गर्नु परिरहेको बताएका थिए । बिरामीलाई राख्न एकल कोठाको अभाव, पीपीइ किट र अन्य उपकरणको अभाव तथा अस्पतालका स्टाफ र अनय बिरामीहरुलाई समयमै जाँच गर्न नसकिँदा यस्तो भएको उनीहरुले बताएका थिए ।

संक्रमण उच्च विन्दूका पुगेका बेला कैयौं अस्पतालहरु कोभिड पोजेटिभ बिरामीहरुलाई अन्य संक्रमित नभएका बिरामीहरुबाट छुट्टै राख्न सकेका थिएनन् । भाइरसको घातक संक्रमण फैलिनुमा यसले पनि भूमिका खेलेको थियो । २०२० को अन्तिममा लिइएको यो तथ्यांकले हरेक ६ जना संक्रमितमध्ये १ जना अस्पतालको वार्डमा रहँदा संक्रमित भएको देखाएको छ । गएको डिसेम्बरको सुरुवातमा इङल्याण्डको एक एनएचएस ट्रस्टमा हरेक १० संक्रमणमध्ये झण्डै ४ संक्रमण अस्पतालको वार्डमा सरेको पाइएको थियो ।

ह्याम्पसायर हस्पिटल्स एनएचएस फाउन्डेसन ट्रस्टले त्यहाँ भएका ३५७ संक्रमितमध्ये १३९ जना जना बिरामीलाई अस्पतालमा भर्ना भइसकेपछि कोभिड–१९ संक्रमण भएको बताएको थियो । एप्सम र सेन्ट हेलियर युनिभर्सिटी हस्पिटल एनएचएस ट्रस्टमा पनिभर्ना भइसकेपछि संक्रमित हुने बिरामीहरु ३६.६ प्रतिशत थिए । अहिले इङल्याण्डमा रहेका एनएचएस ट्रस्टहरुले उपलब्ध गराएको आधिकारिक तथ्यांकअनुसार ३२ हजार ३०७ जना बिरामीहरु अस्पतालमा हुँदा संक्रमित भएको देखाएको छ ।

अस्पतालमा आइसकेपछि संक्रमित भएका यी बिरामीहरुमध्ये ८ हजार ७४७ बिरामीको मृत्यु भयो । जसको अर्थ अस्पताल आएपछि संक्रमित भएका हरेक १० जना बिरामीमध्ये ३ जना (२७.१ प्रतिशत) को २८ दिनभित्र मृत्यु भयो । द गार्डियनले यो तथ्यांक इङल्याण्डका १२६ एक्युट ट्रस्टमध्ये ८१ वटाबाट लिएको थियो । तथ्यांकका अनुसार अस्पताल आएर संक्रमित भएकाहरुको सबैभन्दा धेरै ४०८ जनाको मृत्यु युनिभर्सिटी हस्पिटल्स बर्मिंघममा भएको देखिन्छ । त्यसपछि नटिंघम युनिभर्सिटी हस्पिटल्स (२७९) र फ्रिम्ले हेल्थ (२५९) छन् । ९ वटा अस्पतालमा प्रत्येकमा २ सयभन्दा धेरैको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *