पशुपति परिसर : कारोनाको अति उच्च संक्रमणको जोखिमयुक्त क्षेत्र (तस्विर)

रिता बस्नेत
१३ जेठ २०७८ ७:१९

काठमाडौं। पछिल्लो समय नेपाली सेनाले पशुपति परिसरमा रहेको विद्युतीय शवदाह गृहको पूर्वपट्टी वाग्मती नदीको पुल (तिलगंगा नजिक) मा कोरोना सचेतनाको लागि सूचनामूलक बोर्ड राखेको छ। कोरोनाबाट मृत्यु भएकाको परिवारको जमघट हुने ठाउँ भएकाले सेनाले उक्त सन्देशमूलक बोर्ड झुण्डियाएको हो।

उपत्यकामा कोरोनाबाट मृत्यु भएकाहरुको शव पशुपतिस्थित विद्युतीय शवदाह गृह र सोही शवदाह गृहको पूर्वपट्टी वाग्मती नदीको किनारमा जनाउने गरिँदै आइएको छ।

कोरोनाबाट मृत्यु भएकाहरुको परिवारले आफन्तको शवलाई अन्तिम पटक बुझेर जलाउने अनुमति दिन आउने हुनाले त्यस ठाउँमा कोरोनाबाट मृत्यु भएकाहरुको आफन्त, साथीभाइ मात्र जमघट हुने गर्छ। र, यही कुरालाई मध्यनजर गर्दै सेनाले कोरोना संक्रमण हुनबाट जोगिन सूचनामार्फत आग्रह गरेको हो।

त्यसैगरी, सेनाले विद्युतीय शवदाह गृहको गेट छेउमा एउटा हेल्प डेक्ससमेत राखेको छ। जहाँ शवहरु आएपिच्छे सेतो बोर्डमा लेखिएको पहिलो विवरण मेटाएर पुनः थप्ने गर्छ। जुन प्रक्रिया चलिराख्ने क्रममा डिसी नेपालले सोही गेट नजिकै बुधबार दिउँसो १ः३८ देखि २ः१० बजेसम्म ३२ मिनेटको समय बिताउँदा त्यहाँ शवको विवरण क्रमशः छिटोछिटो बढिराखेको थियो र दाहसंस्कार हुँदै गरेको विवरण पनि धेरै देखाइएको पाइएको छ।

त्यहाँ सेनाले सुरुमा हालसम्म प्राप्त पार्थिव शरीरको संख्या १३ लेखेको थियो। तर ३२ मिनेटको समयभित्र शवको संख्या १९, २३ गर्दै २७ पुगेको थियो।

तर, सो समयमा दाहसंस्कार भइसकेको संख्या भने ४ देखि ५ मात्रै पुगेको थियो। शव १३ बाट २७ वटा थपिइसक्दा दाहसंस्कार भइसकेको संख्या भने धेरै कम अर्थात् पाँच जनाको मात्रै भइसकेको थियो। यसबाट के अनुमान लगाउन सकिन्छ भने दाहसंस्कार भइसक्ने भन्दा शव थपिनेको संख्या धेरै नै मात्रामा बढिराखेको छ।

त्यस्तै, त्यहाँ लेखिएको विवरण हेर्दा के पनि बुझ्न सकिन्थ्यो भने दाहसंस्कार भने धेरै संख्यामा हुँदैछ। ३२ मिनेटको समयमा दाहसंस्कार हुँदै गरेको संख्या १३, १६ हुँदै १८ पुगेको थियो। तर, त्यस समयमा दाहसंस्कार हुन बाँकी संख्या भने धेरै कम अर्थात् २ हुँदै ४ जनाको रहेको थियो।

हाल पशुपति परिसरमा सेनाले शवको विवरण आदिका बारेमा हेल्प डेक्स राखेकाले अहिले त्यहाँ गएर जिज्ञासा राख्ने र मृत्यु भएकाको आफन्त, साथीभाई सबैलाई सजिलो पारिदिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *