व्यंग्य : अम्रिकामा यस्ता भेटिए केपी काका

डिसी नेपाल
१५ जेठ २०७८ ६:५४

बिहान उठ्दा , चार/ पाँच वटा मिस्कल आएर बसेको रहेछ। म्यासेन्जरतिर पनि, फोन तिर पनि! आँखा मिच्दै यसो हेरेको, केपी काकाले मध्यरातमा मस्त फोन हानेका रहेछन्। रात बिरात केही नहेर्ने, बुढाको यही बानीका पिरले मैले फोन साइलेन्समा राख्न थालेको थिएँ। त्यही साइलेन्समा भएको फोनमा बुढाका सबैतिर गरेर दर्जन जति कल “मिस” भएर बसेका रहेछन्।

अब यति पढिसकेपछि, धेरै जनालाई ,सन्तेलाई, प्रधानमन्त्रीको फोन आएछ भन्ने भ्रम पर्न सक्छ । तर कुरो त्यसो होइन। फोन गर्ने मान्छे , यता अम्रिकातिरै बस्ने एकजना सदाबहार अध्यक्ष हुन्। सबैले अध्यक्षज्यु ! अध्यक्षज्यु ! भन्नाले बुढाको औपचारिक नाम चाहिँ मलाई ठ्याक्कै अहिले याद भएन। फोनमा पनि बुढा आफैले अध्यक्षज्यू भनेरै सेभ गरिदिएका थिए। त्यसैले काम चलिरहेको छ। यसो भेट हुँदा पनि अध्यक्षज्यु भनिन्छ। नमस्कार गरिन्छ। नामको उस्तो जरुरत पनि पर्दैन।

तर, बुढाउको नामै याद नभए पनि , केपी नै चाहिँ बुढाको नाम होइन। यो, म दावीका साथ भन्न सक्छु। अचाकली उखान टुक्काका गर्ने र साथमा ज्यास्तै वायु गफ हान्ने अनि अम्रिकातिर हुने नाथे गोर्खे चुनाबमा पनि, धेरै खुरापाती गर्ने भएकाले बुढालाई सबैले केपी÷ केपी भन्ने गरेका होलान् भन्ने मेरो अनुमान छ।

सार्बजनिक रुपमा प्याच्चै नभने पनि, आन्तरिक सर्कुलेसनमा बुढाको बेहोरा अनुसारको नामाकरण हुन पुग्दा, उनको अनौपचारिक उपनाम केपी काका रहन गएको हो। त्यसैले मात्र ,अहिले मेरा मुखबाट उनको त्यही नाम उच्चारण हुन गएको हो । अन्यथा उनको नाम केपी नै चाहिँ होइन।

त्यसैले बुढालाई धेरै जसोले केपी काका भने पनि, कसै कसैले चाहिँ माकुने/माकुने पनि भन्छन्। निर्णय र जोखिम लिनै नसक्ने, उही अपुताली परिहाले खाने बानीले गर्दा बुढालाई त्यो दोस्रो उपनाम जुरेको थियो।

हुनत कसै कसैले, बुढालाई, फेरि माकुने नि भन्ने गर्छन्। यतै अम्रिकातिरै अबैध भएर बस्ने कि , नेपाल जाने भन्ने निर्णय गर्न नसक्दा बुढाले पांच बर्ष अगाडि नै हाफ सेन्चुरी हानेका रहेछन्। पचासौं वसन्त पार गरेपछि, बुढाले ,बल्लतल्ल नजाने निर्णयमा पुगेर यतै असाइलम फाइल गरेका रहेछन्।

तर डेट कहिले लिने, ट्रम्पका पालामा लिने कि, ट्रम्प गएपछि लिने, ओकिल इन्डियन राख्ने कि चाइनिज राख्ने, नेपाली नै पो राख्ने कि, कथा कस्तो हाल्ने, माओवादीले गर्दा भागेको भन्ने कि, सरकारले मार्छ जान्न भन्ने कि, आदि इत्यादिको निर्णय लिन नसक्दा बुढाले अस्ति भर्खरै ५५ औं हेप्पी वर्थ्डे मनाए। त्यसैले बुढालाई धेरै जसोले केपी काका भने पनि , कसै कसैले चाहिँ माकुने/माकुने पनि भन्छन्। निर्णय र जोखिम लिनै नसक्ने, उही अपुताली परिहाले खाने बानीले गर्दा बुढालाई त्यो दोस्रो उपनाम जुरेको थियो।

तर , बुढालाई प्रचण्ड भन्नेहरूको कमी पनि यो अम्रिकामा छैन। एक त सदाबहार अध्यक्ष भएकाले पनि , प्रवासी गोर्खेजन बुढालाई गिज्याएर प्रचण्ड भन्छन्। अर्को बुढाले खै के जुक्ति लगाउछ्न कुन्नि!

छोराछोरी,  बुहारी/ज्वाइँ , भतिजा/ भतिजी, देखि सम्धिनीसम्मलाई अमेरिका तान्न सफल भएका छन्। बुढाको यो खुबीको सम्मानमा पनि , मान्छेहरूले उनलाई तेस्रो उपनामले विभुषित गरेको हुनुपर्छ। बुढाले ल्याउन नसकेको भनेको चाहिँ आफ्नै श्रीमती मात्रै हो।

त्यसैले, बुढालाई उनकै घर गाउँतिरका भेगी मान्छेहरु भने प्रचण्ड /प्रचण्ड भन्ने गर्छन् । फेरि यसको मतलब बुढालाई शेरबहादुर भन्नेहरु छैनन् भन्न खोजेको होइन। बामेको नाम लिँदा पनि, मुख अपबित्र हुन्छ भन्ने मान्यता राख्ने बुट्टो पार्टीका चारतारे एनआरएनहरुले बुढालाई आफ्नो सर्कलमा शेरबहादुर/शेरबहादुर भन्ने गर्दा रहेछन्।एक त बुढाको घर बुढानिलकण्ठ तिर! त्यसमाथि पाईला पाईलामा ज्योतिष परामर्श लिने बानी !

तर जे जे गरे पनि ज्योतिषले भनेको पुगेन। बुढालाई अम्रिकाले बस्ने अनुमतिपत्र दिएन। त्यो घट्नाले गर्दा, बुढा ज्योतिषसँग उग्र रिसाएका रहेछन्। सबै थोक छोडेर ज्योतिष कुट्नै मात्रै नेपाल जान नसकेकाले अहिलेसम्म ज्योतिष सही सलामत रहेछ।

आइतबारका दिन सूर्यलाई जल चडाएर मात्रै असाइलम फायल गर्नु भनेर, उता नेपालबाट बुढालाई ज्योतिषले भनेको रहेछ । अब यताको आइतबार कि उताको आइतबार भनेर खुट्याउन खोज्दा खोज्दै, बुढाको ६ महिना यसै बितेर गयो । बल्लतल्ल यताको आइतबार भनेर पत्तो लागेपछि, जल चडाएर असाइलम फाइल गर्न जाँदा, यता आइतबार सार्बजनिक बिदा हुन्छ भन्ने थाहा भयो ।

अब एकदिन मात्रै खोल्देउ न , भन्न नमिलेपछि,बुढाले सारा समस्या बताएर , ज्योतिषसंग फेरि बैकल्पिक परामर्श गरे। बल्लतल्ल सोमबारका दिन, जोरै बरपिपलमा पानी चडाएर असाइलम गरे काम हुने बैकल्पिक उपाय ठहर भयो। ठहर त भयो, तर धुईपत्ताल खोज्दा पनि जोडी बरपिपल त परै छौडौं, सिंगल /सिंगल वर र पिपल पनि भेटिएन।

बरु, त्यसको चक्करमा अर्को एक बर्ष बितेर गयो। पचासवटै राज्यका कुनै पनि नेपालीले मेरा ठाउँमा वर– पिपल छ भनेर भन्न सकेन। अनि बुढा जुटे तेस्रो चरणको परामर्शमा । मंगलबारका दिन गौमुत्र पान गरेर असाइलम गर्नु भन्ने तेस्रो तथा अन्तिम परामर्श ज्योतिषवाणी भयो। त्यो कसोकसो संभब भयो।

धुईपत्ताल खोजेर बुढाले गाईफर्म पत्ता लगाए । अनि घुम्न आएको भनेर कसोकसो गौमुत्र जोहो गरेछन्। र, मंगलबारका दिन एकाबिहानै नाक बन्द गरेर , एक बोतल गौमुत्र घुट्क्याएर बुढाले असाइलम फाइल गरेका रहेछन्। तर जे जे गरे पनि ज्योतिषले भनेको पुगेन। बुढालाई अम्रिकाले बस्ने अनुमतिपत्र दिएन।

त्यो घट्नाले गर्दा, बुढा ज्योतिषसंग उग्र रिसाएका रहेछन्। सबै थोक छोडेर ज्योतिष कुट्नै मात्रै नेपाल जान नसकेकाले अहिलेसम्म ज्योतिष सही सलामत रहेछ।

यही घट्ना सार्बजनिक भएपछि , बुढालाई शेरबहादुर भन्नेहरु ह्वात्तै बढेर गएका रहेछन्। तर, बुढाका अनौपचारिक नाम जे जे भए पनि, गएराति दर्जनपटक सम्पर्क गर्न खोजेको मानिसलाई वेवास्ता गर्ने कुरो भएन। त्यसैले, बुढाका गफ, सहन र सुन्न सक्ने गरी शक्ति आर्जन गर्न दुई थाल भात खाएपछि बुढालाई फोन गरें।

“ अध्यक्षज्यु ! नमस्कार ।”

“ नमस्कार ! नमस्कार !! नमस्कार !!!

मैले जम्मा एउटा मात्रै नमस्कार गरेको थिए। त्यसमा अरु दुईवटा नमस्कार आफैं थपेर , बुढाले अघाउन्जेल नमस्कार खाए। अनि मैले नै फोन गरेजस्तो बनाउन वरिपरि सबैले सुन्ने गरी सोधे।

“ अनि किन फोन गर्नुभयो त ?”

मैले पनि बुढाको मान राखें । एक दर्जन मिस्कलको कुरो उठाइन ।

“ हैन ! हजुरलाई यसो सम्झेको नि ।”

बुढा खुसी भए । अनि ए ! ए ! भनेर , त्यहाँ उपस्थित महानुभाबहरुलाई “एकैछ्न है” भन्दै बुढा गाडीमा आएर बसे। अनि ढुक्कसँग गफ गर्न थाले।

“ देख्नुभयो त ! मैले भनेको पुग्यो कि पुगेन ?”

“ के कुरा अध्यक्षज्यु ?”

“ केपी ओलीको राष्ट्रवाद, नक्कली राष्ट्रवाद हो भन्या थिइनँ मैंले । देख्नु भएन नागरिकतासम्बन्धी अध्यादेश । “

“ खै ! हेर्नै पो भ्याएको छैन त अध्यक्षज्यू ।”

म उम्किन खोजें ।

“ मैंले हेरिसके । यसरी जसलाई पायो त्यसलाई नागरिकता दिन हुँदैन । अहिलै बिरगंजमा नागरिकता लिनेको भिड उर्लिसक्यो । मेरो सालो छ त्यहाँ , बिरगंजमा खुट्टो राख्ने ठाँउ छैन भिनाजु भन्दै थियो । यस्तो चालले त देश पुरै फिजीकरण हुन्छ नि ।”

मलाई जो– कसैसँग पनि गोर्खे राजनीतिमा बहस गर्न झिंजो लागेर आउँछ । बुढासँग त झनै झिंजो लाग्छ । बुढा, जुनसुकै कुरामा पनि लम्बेतान पुराण हालेर दिक्क लगाउछन । हुने नहुने कुरा गर्छन् ।

झन ,राष्ट्रवाद शीर्षक भेटे भने त, बुढा जतिको राष्ट्रवादी दुनियाँमा दोस्रो भेटिदैन । तर, अब प्रसंग उठिसक्यो । बीचमै फोन काटेर भाग्न नि भएन । हो , त झन भन्नै भएन ।

बुढा झन हौसी/ हौसी फिजीकरण , सिक्किमीकरण, भुटानीकरण , लेन्डुप दोर्जे आदिका दिक्कलाग्दा बासी कथा हाल्न थाल्छन् । त्यसैले, बुढालाई थोरै हतोत्साहित गरेर वार्ता छिटो टुंग्याउने असफल प्रयास गरें।

“अहिले त बिरगंजतिर पनि लकडाउन छ ,अध्यक्षज्यु । तपाईंले भनेजस्तो नहोला।”

बुढा किन मान्थे। सालोले आफ्नै आँखाले देखेको भनेर मलाई झम्टिहाले । मैले हत्तपत्त बुढाभित्र बग्ने ज्ञानको अथाहा समुन्द्रबाट, एक लोटा राष्ट्रवादसम्बन्धी ज्ञान मांगेर, बुढालाई शान्त बनाउन खोजे।

“ त्यसो भए अब नेपाल राष्ट्रको भविष्य के हुन्छ त , अध्यक्षज्यु ?”

“ नेपालको भविस्य के हुन्छ ,भन्ने कुरा बुझ्नुभन्दा अगाडि , नेपाल कस्तो देश हो भनेर हामीले बुझ्नुपर्छ ?”

“नेपाल कस्तो देश हो त , अध्यक्षज्यू ?“

अनि बुढाले सुरु गरे ।

“ नेपाल हाम्रा वीर पुर्खाले आर्जेको प्यारो देश हो । सगरमाथाको देश हो । गौतम बुद्धको देश हो। प्राकृतिक सुन्दरताले भरिएको देश हो। यहाँ हिमाल छन । पहाड छन् । र , तराईका समथर फांटहरु छन । यहाँ दुर्लभ जडीबुटी प्रसस्त छ्न । जलस्रोतको धेरै ठुलो सम्भावना छ। “

“ ज्यु ! अध्यक्षज्यू ।”

“ त्यसैले भारतले यसमा आँखा गाडेको छ । अब उसले पारिबाट ह्वार ह्वार मान्छे पठाउँछ । ती सबैले यताको नागरिकता पाउछन् । अनि, तिनले लास्टमा जनमतसंग्रहको माग गर्छन् । अनि सके नेपाललाई , नसके तराईलाई भारतमा मिलाउछ्न। “

“ अनि यसलाई रोक्न हामीले के गर्नुपर्छ त अध्यक्षज्यू ? “

यसलाई रोक्न मैले यसपटक पनि एनआरएनको स्थानीय च्याप्टरमा फेरि पनि अध्यक्षको उम्मेद्बारी दिएको छु हेर । मैले अन्लाइन घोषणापत्र पनि बनाएको छु । त्यसलाई फेसबुकमा सेयर गर है। अनि सुन ! भोट चाहिँ मलाई नै दिनुपर्छ है।”

बुढाले रातभरि फोन गर्नुको चुरो कारण खोतले । मैले पनि नाईनस्ती गर्न पर्ने खासै कारण थिएन।

“ भइहाल्छ नि अध्यक्षज्यू, मेरो त सदाबहार अध्यक्ष नै हजुर हो। “
अनि झिझ्याट लाग्दा गोर्खे बायुगफबाट उम्किने उपक्रम खोज्दै भनें।

“ अनि अरु नयाँ ताजा के छ ,अध्यक्षज्यु ?“

“ एकदम नयाँ, ताजा र खुशीको कुरो चाहिँ मेरो पनि ग्रीनकार्ड आयो भाइ। अब पाँच बर्षमा यतैको नागरिकता लिन्छु भन्दा नि हुने भो । आखिरमा अम्रिकन पासपोर्ट बोकेरै छोड्ने भइयो भनम्न।”

बुढाले गोर्खे राष्ट्रवादको अन्तिम वास्तविकता खोतले । मैले पनि बधाइ दिन कन्जुस्याइँ गरिन।

“ ल बधाई अध्यक्षज्यु ।”

“ धन्यवाद भाइ ।

“ ढिलो आयो, कडा आयो । होइन्त , अध्यक्षज्यु ?“

“ हो भाइ हो । ढिलो आयो तर कडा आयो । हेहेहेहे ……”

बुढा, वास्तवमै सारै खुशी भए । उनको हाँसोबाट प्रस्फुटन भएको चरम आत्मासन्तुष्टि मेरा कानभरि गुन्जियो।

“ हस्त अध्यक्षज्यू ! नागरिकतासम्बन्धी अध्यादेशको बिरोधमा बोल्दै, लेख्दै र जनचेतना जगाउदै जानुहोला । यहाँको राष्ट्रवाद सधैं यसैगरी सगरमाथा जस्तै अटल रहोस्।”

मैलें, संसारको सबैभन्दा बेइमान वार्तालाप टुंग्याउन खोजें।

उनले पनि , “हस्त भाई धन्यवाद । बाई” भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *