संक्रमणका कारण स्थगित कक्षा १० र १२ को परीक्षा लिन ३ विकल्प

डिसी नेपाल
१७ जेठ २०७८ ७:२६
212
Shares

काठमाडाै। राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणका कारण स्थगित कक्षा १० र १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई विभिन्न सुझावसहित ३ विकल्प सिफारिस गरेको छ । बोर्ड बैठकले तत्काल संक्रमण सामान्य नहुने ठहरसहित वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालनमा जोड दिएको छ ।

परीक्षा सञ्चालनमा हतार नगर्न सुझावसहितको सिफारिस गरिएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । ‘विभिन्न विकल्प दिएका छौं, मन्त्रालयले मन्त्रिपरिषद्मा लगेर निर्णय गरेपछि त्यसैअनुसार परीक्षा हुन्छ,’ उनले भने । सामान्य अवस्था भए परम्परागत विधिबाटै परीक्षा सञ्चालन गर्न उपयुक्त हुने बोर्डले जनाएको छ तर तत्काल सामान्य अवस्था हुने सम्भावना कम छ ।

यस्तो परिस्थितिमा वैकल्पिक विधिबाटै कार्यविधि बनाएर परीक्षा सञ्चालन गर्न सिफारिस गरिएको अर्यालले जानकारी दिए । क्रमिक रूपमा संक्रमण घट्दै गए होम सेन्टरमा लिखितसहित आंशिक रूपमा वैकल्पिक परीक्षा सञ्चालन गरेर पनि मूल्यांकन गर्न सकिने बोर्डले जनाएको छ।

कक्षा १० को परीक्षा गत वर्षको जस्तै आन्तरिक मूल्यांकनका आधारमा पनि सञ्चालन गर्न सकिने बोर्ड सदस्यहरूको जोड थियो । त्यसका लागि गत वर्षको कमीकमजोरीमा सुधार गर्नुपर्ने उनले बताए । गत वर्ष आन्तरिक मूल्यांकनमा शिक्षकले जथाभावी नम्बर दिँदा उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या अस्वाभाविक रूपमा बढेको थियो ।

तेस्रो विकल्पमा संक्रमण अहिलेभन्दा अझै बढे र परिस्थिति झनै प्रतिकूल भए पूर्ण वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न सकिने सिफारिस गरिएको छ । उक्त सिफारिसलाई मन्त्रालयले आन्तरिक छलफलमा लैजाने र मन्त्रिपरिषद्बाट स्वीकृत गराएपछि परीक्षा विधि तय हुने बोर्डले जनाएको छ ।

३ विकल्पमा पनि परीक्षा सञ्चालनका धेरै विधिहरू सुझावसहित प्रस्ताव गरिएको छ । परीक्षा सञ्चालनको विधि चयन गर्न बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले बिहीबार बोर्डलाई सुझावहरू बुझाएपछि बोर्ड बैठक डाकेर आइतबार मन्त्रालयमा सिफारिस गरिएको हो । यो समाचार कान्तिपुर दैनिकमा छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *