दरवार हत्याकाण्डकाे २० वर्ष पूरा, सम्झनामा राजा वीरेन्द्र

सम्भव सिंह ठकुरी
१९ जेठ २०७८ ६:५१

काठमाडौं। दरवार हत्याकाण्ड अर्थात् तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको वंश नाश भएको आज २० वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते नारायणहिटी राजदरवारभित्र राजा वीरेन्द्रको सपरिवारको हत्या भएको थियो।। यही हत्याकाण्डले नै गणतन्त्रको विउ उम्रेको भन्नेहरु पनि छन्।

जेठ १९ को त्यो कहालिलाग्दो घटनाले अहिले पनि हरेक नेपालीको मन झस्काउने गर्छ। हरेक शुक्रवार राजसंस्थाको पारिवारिक जमघट हुने गथ्र्यो। उक्त जमघटको बेला राजा वीरेन्द्र, रानी ऐश्र्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारीहरु शान्ति राज्यलक्ष्मी सिंह र शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाहसहित अन्य राजपरिवारका सदस्यहरुको हत्या भएको थियो।

उदार,जनप्रिय र शान्ति प्रेमी राजाको छवि बनाएका वीरेन्द्रको वंशनाश भएपछि नेपालमा राजसंस्था धेरै समय टिक्न सकेन। राजा वीरेन्द्रको मृत्यु भएपछि उनका माइला भाइ ज्ञानेन्द्र वीरविक्रम शाह राजा भए।

तर उनले प्रत्यक्ष शासनसत्ता आफ्नो नियन्त्रणमा लिएर निर्दलिय व्यवस्था प्रयोग गर्न खोजेपछि ७ राजनीतिक दलहरुको ०६२–०६३ को जनआन्दोलन चर्काए। र, सशस्त्र युद्ध गरेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याएपछि २०६५ जेठ १५ गते मुलुकमा राजतन्त्र समाप्ति र गणतन्त्रको घोषणा भयो।

राजतन्त्रको समाप्ति भएर मुलुक अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक,राजनीतिक व्यवस्थामा चलेपनि राजा वीरेन्द्रलाई मनमा सजाएका धेरै नेपालीहरु छन्। त्यसैले जेठ १९ को कहालिलाग्दो दरबार हत्याको घटना नेपालीको मनबाट मेटिन सकेको छैन।

अमेरिकाको ह्वाइट हाउस भित्र राष्ट्रपति रेगनले एक भव्य कार्यक्रमबीच राजालाई प्रशंसा गर्दै भनेका थिए, ‘संसारमा बिरल्लै राजा हुन्छ, जसले आफ्नो धर्म, संस्कृति र परम्पराको रक्षा गर्दा गर्दै देशलाई प्रजातान्त्रिककरण तिर लैजान्छ। त्यो मध्यको दुर्लभ राजा वीरेन्द्र हो, भनेर रेगनले भनेको कुरा मेरो मनमा ताजा स्मृतिको रुपमा खेलिरहेको छ।’

दरवार हत्याकाण्डपछि सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार युवराज दीपेन्द्रलाई दोषी ठहर गरेका थियो।

युवराज दीपेन्द्रलाई दोषी देखाइएपनि धेरै नेपालीले उक्त कुरा पत्याउन सकेका छैनन् र घटनाको पूर्ण छानबिन पनि हुन सकेको छैन। त्यसैले यस घटनालाई अहिले पनि रहस्यमय हत्याकाण्ड नै मानिरहेका छन्।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालेसमेत यो घटनालाई ग्राण्ड डिजाइनको संज्ञा दिएका थिए। तर डिजाइनर को हुन्? भन्ने कुरा रहस्यमै सीमित भएको छ।

तत्कालीन सभामुख तारानाथ रानाभाटले उच्चस्तरीय छानबिन प्रतिवेदन सार्वजानिक गरेका थिए। डिसी नेपालले उक्त घटनामा युवराज दीपेन्द्रलाई दोषी ठहरेपनि धेरै नेपालीहरु रहस्यमय घटनानै भनिरहेका छन् नि? यसमा के भन्नु हुन्छ ? भनेर तत्कालीन सभामुख रानाभाटलाई गरेको प्रश्न मा उनले भने, ‘यो घटनामा तत्कालीन छानबिन समितिको प्रतिवेदनले जे कुरा निकाल्यो सोही कुरा पढेर सार्वजानिक गरेको हुँ।’
‘अब उक्त घटनाप्रति मानिसहरुको विभिन्न शंका, आशंका कायमै छ,’ उनले भने, ‘त्यसकारण मसँग भन्दा पनि कानूनी अधिकार भएका निकायसँग बुझ्नु उचित हुनेछ।’

राजा वीरेन्द्र एक असल, इमान्दार जनप्रिय र राष्ट्रप्रेमी राजा भएको उनको भनाइ छ। ‘राजा भएर पनि देशमा संसदीय प्रजातन्त्रको लागि उदार मन भएका राजा हुन्। समग्रमा उनी संवैधानिक राजा हुन्। यस अर्थमा पनि उनी आजसम्म अमर छन्,’ रानाभाटले भने।
नेपाली सेनाका पूर्व उपरथी तथा स्वर्गीय राजा वीरेन्द्रको अंग रक्षक टीका धमला भन्छन्, ‘राजा वीरेन्द्रको नाम सुन्न साथ सद्भावको आँशु आउँछ।’

उनी भन्छन्, ‘राजा वीरेन्द्र यो देशको नेतृत्वको लागि सर्वोत्कृट र सर्वचाहनाको पात्र हुनुहुन्थ्यो। उनी ०२८ देखि ०६८ सम्म राजा रहँदा नेपाल भित्र,नेपाल बाहिर नेपाल नेपालीको शिर सधैं उच्च राख्नु भएको थियो। देश भित्र सधैं सबै जात, धर्म, वर्गबीच एकता कायम राख्नुमा महत्वपूर्ण उहाँको भूमिका थियो।’

‘देश बाहिर पनि उहाँको कारण नेपालीलाई हेर्ने नजर राम्रो थियो। उहाँसँगको सामिप्यता र अनुभव धरै छ,’ उनले भने, ‘ग्लोबल याक्ट्र्सले आयोजना गरेको कार्यक्रममा कम विकसित देशहरुको प्रतिनिधित्व गर्दै राजाले प्रमुख अथितिको रुपमा निर्भिक भाषण गरेको मेरो मनमा आज पनि ताजा नै छ। उहाँले भन्नुभएको थियो, आज मैले यहाँ बोलिरहँदा गरिब देशका बच्चाहरुले दाल, भात, रोटी खान पाउँ भनेर भोको पेटले हात पसारिरहेका छन्। त्यो भोको हातमा हामीले बम दिइराखेका छौँ।’

धमलाले अगाडि यसरी भने, ‘सन् १९८३ मा राजा वीरेन्द्रको अमेरिका भ्रमण भएको थियो। तत्कालीन अमेरिकाको राष्ट्रपति रोनाल्ड रेगन हुनुहुन्थ्यो। त्यो भ्रमणमा राजासँगै भ्रमणमा जाने अवसर मलाई पनि प्राप्त भएको थियो। अमेरिकाको ह्वाइट हाउस भित्र राष्ट्रपति रेगनले एक भव्य कार्यक्रमबीच राजालाई प्रशंसा गर्दै भनेका थिए, ‘संसारमा बिरल्लै राजा हुन्छ, जसले आफ्नो धर्म, संस्कृति र परम्पराको रक्षा गर्दा गर्दै देशलाई प्रजातान्त्रिककरण तिर लैजान्छ। त्यो मध्यको दुर्लभ राजा वीरेन्द्र हो, भनेर रेगनले भनेको कुरा मेरो मनमा ताजा स्मृतिको रुपमा खेलिरहेको छ।’

उनले अगाडि भने, ‘राजा वीरेन्द्रको शालिनता र उदारताले विश्व सामु हामी नेपालीको गौरवमय चिनारी थियो। अहिले बिश्व सामु हाम्रो अवस्था के छ ? कस्तो छ ? आफै महशुस गर्नुस्।’

‘एउटा कुशल नेतृत्वले गर्दा देशको सामाजिक,आार्थिक लगायत नागरिकको समस्या समाधान गर्न धेरै समय लाग्दैन। उनले भने, ‘म अमेरिको उदाहरण दिन चाहन्छु। अमेरिकामा डोनाल्ड ट्रम्प हुँदा नागरिकहरु सडकमा कति आन्दोलनमा थिए, कति सडकमा मरेका थिए। त्यसैगरि नागरिकले कोरोनाको खोप हान्न नपाएर धेरै अकालमा मृत्युवरण गरेको अमेरिकामा नयाँ राष्ट्रपति जो वाइडेन निर्वाचित भएको छोटो समयमानै अमेरिकी जनताको धरै आवश्यक्ता पूर्ती भएको छ भने कोरोना नियन्त्रण गर्नमा पनि अहिलेको राष्ट्रपतिले प्रभावकारी भूमिका खेलेका कारणनै जनता शान्त भएका छन्,सबैको दैनिकी सहज बनेको छ। कोभिड नियन्त्रण भएको छ।’

उनले भने, ‘त्यसकारण देश जनताको भाग्य र भविश्य कुशल नेतृत्वमा हुन्छ। अहिले नेपालमा राजनीति अन्यौलताको अवस्था,नागरिकहरु कोरोनाका कारण अक्सिजन र नपाएर छट्पटिँदै मर्नु परेको अवस्था आएको छ। यो सबै अवस्था आउनुमा अहिलेको नेतृत्व असक्षम हुन्। यस्तो संकटको बेला राजा वीरेन्द्रको नेतृत्वको अभाव नेपाली जनताले सधैं स्मरण गरिरहने छन्।’

‘राजा वीरेन्द्र लोकतान्त्रिक थिए, जनताको भावना अनुकुल देशको शासन व्यवस्था चलानुपर्ने उनको मान्यता थियो। त्यसैले पनि उहाँले नेपालको इतिहासमा पहिलोपटक २०३७ सालमा जनमत संग्रह गर्नुभयो। संसारमा राजाले जनताको लागि भनेर जनमत संग्रह गराएको क्षण विरल्लै होला,’ उनले भने, ‘०४६–०४७ को प्रजातन्त्र पुनःस्थापनामा जनभावना अनुसार मैले हारेपनि देशले हार्नु हुँदैन भनेर सहज भूमिका खेल्नुभयो।’

उनले भने, ‘मनमोहन अधिकारी नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री हुँदाकुनै एक प्रजातन्त्रवादी भनौंदाले राजा वीरेन्द्रलाई के भनेछन् भने,सरकार कम्युनिष्ट प्रधानमन्त्री भएको मुलुकमा पनि राजा रहन्छ र? राजाको जवाफ थियो, ०४७ को संविधान नेकपा एमाले र मनमोहन अधिकारीले मानेको छ। त्यसकारण संवैधानिक प्रधानमन्त्री बिरुद्ध तपाईँहरु देशमा विभेद् र द्वन्द्व फैलाउने काम नगर्नुस्। म उहाँलाई स्वीकार गर्छु।’

‘०४७ को संविधान बनाउन तत्कालीन प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, एमालेका शिर्ष नेताहरु कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारीलगायतकका नेताहरुसँग सौहार्दपूर्ण सम्बन्धबाट जारि भएको थियो,’ उनले भने, ‘नेपालको राजनीति युगमा स्वर्णिम काम गरेका राजा प्रति हार्दिक श्रद्धा सुमन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *