खुकुलो पारिँदै निषेधाज्ञा, आज थप निर्णय हुँदै

डिसी नेपाल
१९ जेठ २०७८ ८:५५
596
Shares

काठमाडौं। उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू जेठ २१ गतेपछि निषेधाज्ञामा खुकुलो गर्ने तयारीमा पुगेका छन् ।उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको बैठकले निषेधाज्ञाको अवधि जेठ मसान्तसम्म लम्ब्याउने निर्णयमा पुगेको हो भने अबको निषेधाज्ञा पछिल्लो निषेधाज्ञाभन्दा खुकुलो हुने बताइएको छ ।

एक साताको कडा निषेधाज्ञाको समीक्षा गर्दै खुकुलो बनाउने विषयमा छलफल गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए । उनले भने ‘अहिलेसम्म गरिएको निषेधाज्ञा केही सुधारोन्मुख भएको छ ।अहिले संक्रमणदर घट्दै गएको छ भने अस्पतालहरूमा संक्रमितका लागि उपचार गर्न बेड तथा अक्सिजनको अभाव हटेको छ । आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारेमा थप छलफल भएको छ ।’

बैठकले गरेको निर्णय गृह सचिव महेश्वर न्यौपानेसँग छलफल गरे पनि सार्वजनिक जानकारीको लागि प्रकाशित गर्ने बुझिएको छ । पछिल्लोपटक खाद्य पसलहरूमा समेत लगाइएको प्रतिबन्धले भीड धेरै हदसम्म नियन्त्रणमा आएको निष्कर्षमा अधिकारीहरू पुगेका थिए ।

‘अब खाद्य सामग्री बिक्रीमा केही खुकुलो र व्यवस्थित बनाउनेबारे तयारी गरेको छौं । स्वास्थ्य मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने तथ्यांकमा हाल संक्रमण दर केही घटेको देखिन्छ’ –प्रजिअ निरौलाले भने ।

संक्रमण र स्वास्थ्यविज्ञहरूको सुझाव तथा अन्य अध्ययनलाई विश्लेषण गरी निषेधाज्ञाबारेको निर्णय लिने ललितपुरका प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए। नेपाल समाचारपत्र दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *