इजरेलमा बेन्जामिन नेतान्याहुको १२ वर्षे शासन समाप्त गर्न आठ दलको गठबन्धन

डिसी नेपाल
२० जेठ २०७८ १५:३८

बीबीसी। कैयौँ दिनको सघन वार्तापश्चात् इजरेलमा विपक्षी दलहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको १२ वर्षे शासन समाप्त पार्ने गरी नयाँ गठबन्धनको सरकार बनाउने सहमति गरेका छन्।

आठ दलको नयाँ गठबन्धन बनेको घोषणा गरिएको छ जसलाई संसद्‌ले स्वीकृति दिएपछि नयाँ सरकार गठन हुनेछ। नयाँ सरकारको सुरुको दुई वर्ष कट्टरपन्थी नेता नाफ्ताली बेनेट प्रधानमन्त्री हुनेछन्।

मध्यपन्थी येश अटिड पार्टीका नेता याएर लापिडले आठ दलको गठबन्धन घोषणा गरेका हुन्। पछिल्लो सहमतिमा नेताहरूले आलोपालो गरी सरकारको नेतृत्व गर्ने भनिएको छ। त्यसअनुसार बेनेटले दुई वर्षपछि लापिडलाई नेतृत्व हस्तान्तरण गर्नेछन्।

नयाँ सरकारले पदभार ग्रहण गर्नुअघि संसद्मा मतदान हुनेछ। भ्रष्टाचारको अभियोगदेखि आफूलाई हटाउने विभिन्न किसिमका प्रयासलाई १२ वर्षसम्म नेतान्याहुले विफल पारेका थिए।

तर अहिले एकअर्काको विपक्षमा उभिँदै आएका उग्रराष्ट्रवादीदेखि अरब इस्लामवादी समूहहरू नेतान्याहुलाई हटाउने साझा उद्देश्यमा एक ठाउँमा उभिएका छन्।

बीबीसी संवाददाता योलान्डा नेल भन्छिन्, “इजरेलमा नाटकीय परिवर्तन हुन लागेको छ। एक दशकभन्दा बढी समयदेखि इजरेलको राजनीति र कूटनीतिमा हाबी भइरहेका नेतान्याहुलाई अब प्रतिपक्षमा धकेलिएको छ।”

राजनीति सुरु गर्दा बेनेट प्रधानमन्त्री नेतान्याहुका सहकर्मी वा चेला जस्ता थिए। उनले नेतान्याहुको सल्लाहकार, वरिष्ठ सहयोगी र चिफ अफ स्टाफको रूपमा पनि काम गरे।

नेतान्याहुका पछिल्ला सरकारमा उनी शिक्षा र रक्षामन्त्री पनि बनेका थिए। प्रस्तावित गठबन्धनमा वैचारिक हिसाबले उनी नेतान्याहुका सबैभन्दा बढी निकट व्यक्ति हुन्। नेतान्याहुजस्तै उनी दक्षिणपन्थी हुन्।

“मलाई त्यसमा गौरव लाग्छ,” उनले भनेका छन्। हालै उनले टाइम्स अफ इजरेलसँग भनेका थिए, “म नेतान्याहुभन्दा पनि बढी दक्षिणपन्थी हुँ तर म घृणा वा ध्रुवीकरणलाई औजारका रूपमा प्रयोग गर्दिन।”

उनले खुला रूपमा वेस्ट ब्याङ्क र गाजामा स्वतन्त्र प्यालेस्टीनी राज्यको अवधारणालाई अस्वीकार गर्दै आएका छन्। उनी वेस्ट ब्याङ्कमा यहुदी बसोबासको पैरवी गर्छन्।

सन् २००० को दशकमा राजनीतिमा आउनुअघि सान फ्रान्सिस्कोबाट आएका आप्रवासी परिवारमा सदस्य उनले प्रविधि कम्पनीमा काम गरेर दशौँ लाख डलर कमाएका थिए।

सन् १९९९ मा स्थापना गरेको एउटा सफ्टवेअर कम्पनीलाई उनले १४ करोड ५० लाख डलरमा बिक्री गरेका थिए। उनी अहिले दक्षिणपन्थी दल यामिनाको नेता हुन्। चुनावमा जम्मा सात सिटसहित पाँचौँ स्थान हात पारे पनि अहिले उनी निर्णायक बनेका हुन्।

लामो समय सँगै काम गरेका नेतान्याहु र बेनेट पछिल्लो समय एकअर्काका साझेदार भने थिएनन्। सार्वजनिक रूपमा विवाद भए पनि उनीहरूले विभिन्न मन्त्रिमण्डलमा सँगै काम गरेका थिए।

बेनेटले पहिलोपटक आफ्ना पूर्व राजनीतिक मार्गदर्शकलाई चुनौती दिएका छन् र नेतान्याहुले यसलाई सामान्य रूपमा लिएका छैनन्।

“यो देशभित्र तिमीले यस्तो गर्छौँ भन्ने थाहा भएको भए एक जनाले पनि तिमीलाई मतदान गर्ने थिएनन्,” गठबन्धन घोषणा भएपछि नेतान्याहुले भने।

अङ्ग्रेजीमा राम्रो दक्खल राख्ने उनी इजरेलको कदमको प्रतिरक्षा गर्दै सञ्चारमाध्यममा निरन्तर देखिने व्यक्तिमा पर्छन्। एउटा टेलिभिजन बहसमा उनले इजरेली अरब पृष्ठभूमिका सांसद सदस्यलाई भनेका थिए, “तिमी जुन बेला रुखमा झुन्डिरहेको थियौ, यहाँ हाम्रो यहुदी राज्य थियो।”

उनले प्यालेस्टीनी राज्यको निर्माण इजरेलका लागि ‘आत्मघाती’ हुने पनि बताएका थिए। बेनेटसँगै गठबन्धनमा रहेका लापिड लोकप्रिय पूर्व टेलिभिजन प्रस्तोता र विपक्षी दलका प्रमुख हुन्। सत्तारूढ गठबन्धन निर्माण गर्ने कामको नेतृत्व उनले गरेका थिए।

उनी अलि बढी मध्यमार्गी छन् र आफ्ना गठबन्धन साझेदारभन्दा फरक दुई राज्यको अवधारणाबाट समाधान खोजिनुपर्ने धारणा राख्छन्। अहिलेको प्रस्तावित सहमति अनुसार दुई वर्षको बेनेटको प्रधानमन्त्रीको कार्यकाल समाप्त भएपछि लिपिडले सरकारको नेतृत्व गर्नेछन्।

गठबन्धनमा अर्को उल्लेख्य नेता एभिगडोर लिबरमेन हुन्। अति दक्षिणपन्थी राष्ट्रवादी धार प्रतिनिधित्व गर्ने विवादास्पद नेता लिबरमेनले एकपटक ‘वफादार नरहेका’ अल्पसङ्ख्यक अरबहरूको टाउको काटिदिनुपर्ने धारणा राखेका थिए।

उक्त गठबन्धनलाई अरब इस्लामवादीहरूको सानो दल रामको पनि समर्थन चाहिन्छ। आफ्नो समर्थनका लागि उक्त दलले परम्परागत मुसलमान जीवनशैलीको संरक्षण र अरब बहुल सहरमा बढी बजेटको माग गरेको छ।

विविधतायुक्त यी राजनीतिक समूहहरूबीच नेतान्याहुलाई सत्ताबाट हटाउनेबाहेक अरू कुनै साझा अवधारणा छैन। पदबाट हटेको अवस्थामा नेतान्याहुले सत्ता मात्रै गुमाउने नभई भ्रष्टाचार, धाँधली र विश्वास भङ्ग गरेको भन्दै लाग्दै आएका अभियोगको अनुसन्धानले गति लिन सक्छ।

ती आरोप पूर्वाग्रही रहेको नेतान्याहुले बताउने गरेका छन्। नेतान्याहुले पछिल्लो गठबन्धन इजरेलको सुरक्षाका लागि खतरा भनेका छन्। र यो विफल हुने कैयौँ सम्भावना छन्। तर गठबन्धनमा सामेल दलहरूको लक्ष्य भने शक्तिशाली रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *