उड्न नपाएपछि बिहे हल बने विमान, एयरपोर्टमा ग्राउण्डेड विमानमा भाडा लिएर बिहेको कार्यक्रम

डिसी नेपाल
२० जेठ २०७८ १७:०९

काठमाडौं। महामारीका कारण विश्वका अधिकांश देशमा विभिन्न किसिमका यात्रा प्रतिबन्ध लागू गरिएका छन् । केही देशमा प्रतिबन्ध कडा छ र केही देशमा केही खुकुलो छ । तर, प्रतिबन्धका कारण ठूलो संख्यामा विमानहरु ग्राउण्डेड भएका छन् । जापानको सबैभन्दा ठूलो एयरलाइन्स कम्पनी अल निप्पोन एयरवेजले भने यी ग्राउण्डेड विमानलाई आयआर्जनका लागि प्रयोग गर्न नयाँ आइडिया निकालेको छ । उसले आफ्ना ग्राउण्डेड विमानलाई बिहे हलमा परिणत गरेको छ ।

द जापान टाइम्सका अनुसार जापानमा अहिले एयरपोर्टमा राखिएका विमानभित्र विवाहको कार्यक्रम गर्न पाइन्छ । यी विवाह कार्यक्रममा ३० जना पाहुना पनि जान पाइन्छ । एयरलाइन्सले विमानमा लाइभ म्युजिकका साथसाथै खानपिनका सबै सुविधा पनि दिएको छ । बिहे गर्न चाहनेले १.५६ मिलियन येन अर्थात १६ लाख ५८ हजार रुपैयाँ तिर्नुपर्छ ।

अल निप्पोन एयरवेजसँग साना र ठूला गरी २३९ विमान छन् । यीमध्ये १० प्रतिशतमात्रै अहिले उडिरहेका छन् । बाँकी ९० प्रतिशत विमान ग्राउण्डेड छन् । यसरी विमान ग्राउण्डेड हुँदा एयरलाइन्सलाई लगातार ठूलो रकम नोक्सानी भइरहेको छ । यो नोक्सानीबाट बच्नको लागि एयरलाइन्सले नयाँ उपाय निकाल्दै विमानमा बिहेका कार्यक्रम गर्न दिन थालेको हो । जापानमा मे र जुन महिना बिहेको मौसम हो ।

मे र जुन महिनामा जापानमा लाखौं बिहे हुन्छन् । तर, यस वर्ष महामारीका कारण अधिकांश बिहे हलहरु बन्द छन् । खुलेकाहरुमा भारी भीड जुटिरहेको छ । कम्पनीले यो अफर ती जोडीका लागि ल्याएको हो जो भिडभाडबाट बच्न चाहन्छन् । एयरलाइन्सले यसबाट विमान ग्राउण्डेड भएर भएको नोक्सानीको भर्पाइ हुने अपेक्षा गरेको छ ।

यो अफरअनुसार एक बिहेको कार्यक्रम साढे ३ घण्टाको हुन्छ । यसमा खानपिन, रिसेप्सन र म्युजिक कन्सर्ट जस्ता सुविधाहरु एयरलाइन्सले दिन्छ । यो साढे ३ घण्टाको समयमा नव दम्पती र पाहुलाहरुलाई आकाशको सयर पनि गराइन्छ । यस क्रममा विमानमा १ पाइलट, २ क्रु सदस्य पनि हुन्छन् । कम्पनीले पछिल्ला ७ दिनमा २० भन्दा धेरै बिहे गराइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *