खाद्यान्न र ग्यासमा २० प्रतिशत छुट

डिसी नेपाल
२१ जेठ २०७८ ६:४१
376
Shares

काठमाडौँ। निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएका छन्। सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत सो व्यवस्था गरेकामा उक्त व्यवस्था शुक्रबारबाट लागू गरिने भएको हो।

नयाँ व्यवस्था कार्यान्वयनको विषयमा बिहीबार अर्थ मन्त्रालयमा ती कम्पनीका प्रमुखबीच भएको छलफलपछि उक्त निर्णय कार्यान्वयनमा आएको जनाइएको छ। यो योजना निषेधाज्ञा अवधिसम्म मात्रै लागू हुनेछ । गत वर्षको बजेटमा पनि दुई कम्पनीले वितरण गर्ने खाद्यान्नमा १० प्रतिशत छुटको व्यवस्था गरिएको थियो।

दुई सरकारी कम्पनीले हाल चामल, दाल, चिनी, नुन, गेडागुडी, तेल र एसटीसी ग्यासलगायतका सामान बेच्दै आएका छन् । खाद्य कम्पनीले छ प्रकारका चामल र कर्णालीको सिमीमा सरकारले तोकेको २० प्रतिशत छुट दिनेछ ।

साल्ट ट्रेडिङले पाँच जनासम्मको परिवारका लागि ग्यास (एसटीसी) एउटा, चिनी दुई केजी र नुन दुई केजी, भटमास तेल एक लिटर, दुई केजीको पिठोमा छुट दिनेछ।

खाद्य कम्पनीका कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले सरकारले बजेटमार्फत दिने भनेको छुट योजनाअनुसार कम्पनीले शुक्रबारदेखि नै चामल र कर्णालीको सिमी बिक्री गर्ने जानकारी दिए। उनका अनुसार कम्पनीले सोना मन्सुली चामल, जिरा मसिनो (स्टिम), स्टिम रज्जित, मध्यम मकवानपुरे चामल र कर्णालीको सिमीमा छुट दिने छ।

“खाद्यान्न कम्पनीले हाल तेल, डीडीसीको घिउ, साल्ट ट्रेडिङको ग्यास (एसटीसी), दाल, पिठोलगायतका थुप्रै सामान बिक्री गर्दै आएको छ,” कार्यकारी अधिकृत चन्दले थपे “तर सबैमा हामी त्यो छुट दिन सक्दैनौँ । हामी आफूले खरिद गरेको सामानमा मात्रै छुट दिने तयारी गरेका छौँ।” गाेरखापत्र दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *