कास्कीका चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर

डिसी नेपाल
२२ जेठ २०७८ ९:३९

कास्की । कास्कीका चार गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। काठमाडौँको बोधिसत्व विहार र सामाजिक अभियानकर्मी शान्त शर्माका सहयोगमा कोरोनाको दोस्रो लहर रोकथाम र सङ्क्रमण न्यूनीकरणमा क्रियाशील स्थानीय तहलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो।

कोरोना सङ्क्रमित बिरामीको प्राथमिक उपचार गाउँमै गर्ने गरी जिल्लाका चार वटै स्थानीय तहले अक्सिजन सुविधासहितको आइसोलेशन अस्पताल सञ्चालनमा ल्याएका छन्। जिल्लाका रुपा, अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकालाई शुक्रबार पाँच/पाँच लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको पोखरा संयोजक दीननाथ बरालले बताए।

कन्सन्ट्रेटरसहित अक्सोमिटर, मास्क, थर्मल गन, प्रेसर नाप्ने मेसिन, सेनिटाइजर, ह्याण्डवास, फिनेल, स्प्रे मेसिनलगायत स्वास्थ्य सामग्री प्रदान गरिएको थियो।

अक्सिजन अभाव भएका अवस्थामा अक्सिजन कन्सन्ट्रेटरसहितको स्वास्थ्य सामग्री प्राप्त गर्दा ठूलो राहत महसुस भएको मादी गाउँपालिकाले जनाएको छ। यसैबीच सृजनशील अपाङ्गता सरोकार समितिलाई औषधि सहयोग गरिएको छ।

समितिलाई प्यान्टो प्राजोल, कफ सिरप, भिटामिन बी कम्प्लेक्स, सिटामोल, साइनेक्सलगायत एक बाकस औषधि वितरण गरिएको संयोजक बरालले जानकारी दिए। यसअघि बिहीबार बोधिसत्वा विहारबाट प्राप्त स्वास्थ्य सामग्री पोखराका तीन अस्पताललाई प्रदान गरिएको थियो।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *