मातृभूमि बिक्रीको महाअपराध – Dcnepal

मातृभूमि बिक्रीको महाअपराध

पंक्तिकार वि.सं.२०५९, ६० र ६१ सालमा प्रदेश १ र २ कार्यरत थिए। कथित जनयुद्धको भुङ्ग्रोमा। भाइभाइ लडाएर हाम्रो प्राकृतिक श्रोत साधनमाथि लुट् मच्चाउने काम खुल्लेयाम भइरहेको थियो। दिनहुँ गैंडा मारिन्थ्यो।

वन विनास उत्कर्षमा पुगेको थियो। चुरेको खानीजन्य ढुंगा गिट्टी बालुवा उत्खनन व्यापक र तीब्र थियो। हामी १ थान बन्दुक समाउन र १ थान टाउको गन्न व्यस्त हुँदा हाम्रो चुरे हजारौं टिपरमा लोड भएर विहारतर्फ दगुरिरहेको थियो। उच्च कोटीको माल कौडीको भाउमा विहार पुग्दथ्यो। निम्न कोटीको माटो बालुवा पोखेर स्वदेशका सडक बन्दथे। निर्माण पूरा नहुँदै भत्किन्थे।

२०६२/६३ को जनआन्दोलनताका क्रसर माफिया दोब्बर तेब्बर बढे। प्राकृतिक श्रोतमाथि अन्धाधुन्ध ब्रम्ह्लुट बढ्यो। सीमानाका ढाठ (ब्यारियर) २४ घण्टा खुल्ला राखेर चुरेलाई भारत पुर्याइयो। विहारले विकासको काँचुली फेर्यो। हामी मुक्दर्शक साक्षी बस्यौं। न सरकारी अनुगमन , न नियमन, न नियन्त्रण।

डनको राजकाजमा नबधनाढ्यहरुको उदय भयो। अति भएपछि स्थानीय विरोध भयो। विरोधले पुगेन प्रतिकार शुरु भयो। वन मन्त्रालय तात्यो। वन, अर्थ र स्थानीय विकास मन्त्रालयको संयुक्त टास्कफोर्स र बैठकले निकासी रोक्न माग गर्यो। सर्वोच्चले साथ दियो । हामीले खुशीले ताली पड्कायौं।

बिडम्बना ! ऐले उही देशको त्यही अर्थमन्त्रालयले बजेट भाषण र ठाडो नीति मार्फत मातृभूमि बिक्रीको महाअपराध शुरु गरेको छ। वातावरण प्रभाव मूल्यांकन, व्यापारघाटा, रोपवेबाट भारी निकासीका गोलमटोल भाषा आँखामा छारो हाल्ने फर्जी बहानामात्र हुन्। अब मातृभूमि सीमानामा मात्र होइन, कलेजो फोक्सो मुटुदेखि लुटिने छिन्। अर्काको देश विकास गर्न। आफू जलेर अरुलाई चम्काउन।

प्राकृतिक श्रोतसाधन माथिको सार्वाधिक लुटपाटको न्यारेटिभ् डरलाग्दो छ। हामीले उपहारमा पाउने भनेको विपद् र अपमान मात्र हो। वातावरण दिवसको सन्दर्भमै हाम्रो सरकारबाट जघन्य अपराधको खाका अघि सार्ने काम भएको छ। कुन मुखले दिसव कसरी मनाउनु?

नारा मिठो काम उल्टो

बजेट बक्तव्यको १९९ नम्बर बुँदाले प्रकृति र संरक्षणविद्हरुलाई ज्वरो फुटाएको छ। सिपाहीले घाँस दाउरा वन्यजन्तुको संरक्षण गर्ने । प्रहरीले सालक चितुवाको अवैध व्यापार र तस्करी रोक्ने। सशस्त्रले खुला आकासमुनि खुलमखुला सीमाना अनुगमन र नियमन गरेर प्राकृतिक, आर्थिक, सामाजिक सम्पत्तिको रक्षा गरिदिनुपर्ने।

सरकारले समग्र भुगोल बेच्ने र सिपाहीले त्यहाँ भित्रको रुख समातेर राम राम भन्ने नाटकले जग हसाइएकोे छ। सोचकार, योजनाकार, नीतिनिर्माता बिकाउ हुने र कामदार होनहार बहादुर हुने बीचको तादात्म्यता नमिलेसम्म हामी दरिद्र भइरहने छौं।

तर राज्यले जैविक विविधताको खानी मातृभूमिको समग्र भूगोल मासेर कर छुट्को छिटो साधन (रोप वे) द्वारा पठाउने। खोला नालाको गिट्टी बालुवा होइन। समग्र विशाल भूपरिधि (ल्याण्डस्केप) लाई कौडीको भाउमा फ्याँकिदिने। छिमेकी मुलुकलाई विशाल पक्की पूर्वाधार खडा गरिदिने। उल्टो कामको पहिलो महसुर नजिर।

निर्धारित मापदण्ड पूरा गरेर बल्लतल्ल स्थापना भएको निकुञ्ज आरक्षका नदीमा ५० प्रतिशत पानी अनिवार्य छाड्नुपर्ने कानूनी व्यवस्थालाई आफूखुशी तोडमोड गरि १० प्रतिशत छाडे पुग्ने संशोधनको ठेक्कापट्टा बन्दोवस्ती सरासर वातावरण विरोधी छ।

राष्ट्रिय निकुञ्जको मूल्य मान्यताको धज्जी उडाउने त्यो नीतिले निकुञ्जलाई मरुभूमि बनाउने र जैविक विविधता सखाप पार्ने अवश्यम्भावी छ। अन्तर्राष्ट्रिय सन्धी सम्झौताको पक्ष राष्ट्रले विश्व वातावरण संघ संस्थाको छेकवार, कानूनको छेकबार र स्थानीय निकायको विरोध एवं छेकबारको हेक्का नराखी वर्तमान सरकारको तान्डव निर्णयको सहारा लिदा त्यो प्रत्युत्पादक हुने छ भन्ने दुरदर्शिता अपनाएको देखिँदैन। वातावरण विरोधीमात्र होइन, निकुञ्ज खारेजीको बाटोतर्फ अग्रसर यस्तो निर्णय आत्मघाती छ, दोश्रो महसुर उल्टो नजिर।

निकुञ्ज भित्र होटल संचालन गर्न दिने निर्णयको ढिलो चाँडो घोर निन्दा र बदर हुने निश्चित छ। बचपन निर्णय आफैं उल्टो कामको महसुर तेश्रो उल्टो नजिर।

सरकार निर्देशित र राजनीतिक अभिप्रेरित जग्गा कब्जा, भोगचलन र अतिक्रमण वातावरण विरोधी पराकाष्ठाको अर्को नजिर हो। वैधानिक वन व्यवस्थापनको नाममा भएको अख्तियार दुरुपयोग र वन विनासको विकृत नजिर यहाँ भन्नै परेन। अनि के वातावरण दिवस मनाउनु? यसको के अर्थ रह्यो? खोई दिवसको सार्थकता। केवल तामझाम र श्रोत साधन बजेटको खर्चमात्र।

कमजोरीको फाइदा

कमजोरी हुँदाको प्रहार कति महङ्गो हुन्छ भविष्यले देखाउला। इतिहासले लेखाजोखा गर्ला। तर किन हामीले यतिबेला साँध सीमाना गुमायौं ? अनागरिकलाई नागरिक बनाउन कबुल गर्यौं? र, चोरबाटोबाट चुरेलाई पखेटा हालेर उडाउँदै छौं? गुदी कारण भनिराख्नु परेन। प्रकृतिको धनी देश नेपालको प्राकृतिक श्रोत साधन माथि चौतर्फी कब्जा बढ्ने निश्चित छ।

श्रम बेचिने, चेली बेचिने, सूचना बेचिने, स्वाभिमान बेचिने क्रम तीब्र बढ्ने छ। बाँकी रहने छ कुरुप मरुभूमि, विषाक्त आकास, विषाक्त वायु, विषाक्त पानी र आधा पेटलाई विषाक्त खानेकुरा। गठजोडमा विपद् र महामारीको महङ्गो भारी हामीले हाम्रा भावी सन्ततीलाई बोकाइरहेका छौं। यी सबै हाम्रा कमजोरीका बेफाइदाहरु हुन्। दोषी हामी आफै हौं।

विविध वातावरणीय समस्याबाट विश्व झनझन आक्रान्त छ। आकाश, पताल, हिमाल, समुन्द्र, माटो जताततै समस्याको चुली छ । त्यसको बीचमा छौं हामी महामानव। धन सम्पत्ति, विकास र सभ्यताको महत्वकांक्षाले हामी अन्धो भएका हौं। विकासको तिव्र प्रतिस्पर्धामा सबै सामेल छौं। जलवायु परिवर्तनको मुख्य श्रृजनाकार हामी मानव हौं।

किन हामीले यतिबेला साँध सीमाना गुमायौं ? अनागरिकलाई नागरिक बनाउन कबुल गर्यौं? र, चोरबाटोबाट चुरेलाई पखेटा हालेर उडाउँदै छौं? गुदी कारण भनिराख्नु परेन। प्रकृतिको धनी देश नेपालको प्राकृतिक श्रोत साधन माथि चौतर्फी कब्जा बढ्ने निश्चित छ। श्रम बेचिने, चेली बेचिने, सूचना बेचिने, स्वाभिमान बेचिने क्रम तीब्र बढ्ने छ। बाँकी रहने छ कुरुप मरुभूमि, विषाक्त आकास, विषाक्त वायु, विषाक्त पानी र आधा पेटलाई विषाक्त खानेकुरा।

त्यसबाट सिर्जित विपदलाई हामी टेरपुच्छर लाउदैनौं। अहिले महामारीले हामीलाई सिस्नोपानी लाइरहेको छ। तर हामी चेतिरहका छैनौं। बरु थप वातावरण दोहन र विनास गर्न ‘न्यु नर्मल’को समय कुरेर बसिरहेका छौं। को धेरै को थोरै विनासकारी आरोप प्रत्यारोप गरिरहेको छौं।

न धर्तीमाता बोल्न सक्दछिन्। न वातावरणको बोली फुट्दछ। विपद र महाविपद् विमति जनाउने माध्यम हुन्। तर त्यसलाई हामी टेर्दैनौं। बरु अल्टो धम्की दिन्छौं– ‘अर्को ग्रहको खोजी।’ मानव वस्तीयोग्य ग्रहमा संभावित स्थानान्तरणको विकल्प खोजी। हेलिकोप्टरद्वारा सर्भिलेन्स। हाम्रा यस्ता घमण्ड र अहंकारबाट धर्तीमाता गुज्रिरहेकी छिन्।

आङ्गमा भैसी

हामी आफू वातावरणप्रति कति सम्वेदनशील छौं त? ऐना हेरौं। आङ्गमा छामौं। हाम्रो हिमालमा जमेको हिँउ तीव्र पग्लिरहेको छ। पानीको श्रोत दैनन्दिन भास्सिएको र मास्सिएको छ। फोहोरको डुंगुरले हिमाललाई जित्न खोजेको छ। आकास र वायुलाई विश्वकै उच्च प्रदुशित र स्वास्थ्यको लागि घातक मापन गरिएको छ। बागमतीलगायतका नदीहरू प्रदुिषत र बिषाक्त छन्।

माटोको उर्वर शक्ति क्षयीकरण भएर गएको छ। वन जंगलमाथि विकास नामको राजनीतिक बद्नियतले धावा बोल्दा जैविक विविधता र तिनको आश्रयस्थल सफाचट् भएको छ। अज्ञात कारणले अथवा अज्ञात रोगले नेपालको प्रतीक एक सिङ्गे गैंडा सोत्तर भएका छन्। हिउदको सुख्खायाममा मुलुक जलिरहेको हुन्छ।

खोइ हामीले वातावरणको स्वामित्व ग्रहण गरेको? धर्तीमाताको अपनत्व स्वीकार गरेको? तिनको संरक्षण अभिभारा इमान्दारसाथ पूरा गरेको? अर्काको टिकाटिप्पणी गर्नु अगाडि आफ्नो आङकाे भैंसी देख्न लेन्सको सर्वाधिक आवश्यकता छ नीति निर्माताहरुलाई।

बर्सेउनी बेहोर्नु पर्ने विपद् वातावरण विनासका उपज हुन्। विद्यमान महामारीको नालीबेली वातावरणसँग जोडिएर आएको छ। निःशुल्क प्राप्त अक्सिजनको आवश्यकता र महत्वको पाठ महामारीले पढाइरहेको छ।

रात परिसकेपछि हामी अक्सिजनजन्य बोट विरुवा रोप्न थालेका छौं। बगैचामा सजिएका बोट बिरुवालाई सयनकक्षमा नाक छेउ पुर्याएका छौं। न विपद्ले हाम्रो आखा कान खोल्यो। न त महामारीले खोल्ने आशा छ । हामी अझै आङ्ग बिटुलो पारेर भैंसी बोकेर हिंडिरहेका छौं।

कराई र गराई

वातावरण संरक्षण समयको जोडदार माग हो। भावी सन्ततीको प्रार्थना हो। नागरिकको संविधानप्रदत्त हक हो। सरकारले समग्र भुगोल बेच्ने र सिपाहीले त्यहाँ भित्रको रुख समातेर राम राम भन्ने नाटकले जग हसाइरहेकोे छ।

सोचकार, योजनाकार, नीतिनिर्माता बिकाउ हुने र कामदार होनहार बहादुर हुने बीचको तादात्म्यता नमिलेसम्म हामी दरिद्र भइरहने छौं। अनवरत लुटिरहने छौं र एकदिन समाप्त हुने छौं। ‘मुखमा संरक्षण र काममा विनास’ हाम्रो चरित्र बनेको छ। त्यसमा शीघ्र पूर्णविराम र सुधारको जरुरी छ। भोलि होइन आज र अहिले नै।

सबै एक ढिक्का भएर उठाैं,जागाैं

प्राकृतिक श्रोत साधनमाथिको हकवाला स्थानीयवासीहरु फलामको पर्खाल भएर खडा हुने। प्रकृतिविद्, संरक्षविद्, नागरिक समाज र संचारकर्मी ढाल भएर वातावरण रक्षार्थ अग्रसर हुने। विपदमा जीवन जोखिममा राखेर उत्रने सुरक्षा निकायहरुले प्राकृतिक श्रोत साधनको गैरकानुनी उत्खनन् र बिक्री निकासी बन्द गर्न सरकारलाई दबाब दिने।

विज्ञ र कानुनविद्हरुले प्राकृतिक प्रभाव मूल्यांकनको आवश्यक शर्त पूरा गर्न लगाउने। न्यायिक अंगले प्रकृति र धर्तीमाताको पक्षमा न्याय दिएर वातावरणको अन्तिम रक्षा गर्ने।

प्रकृतिमैत्री विकास हाम्रो रोडम्याप होस्। हरित वातावरण र प्रचुर अक्सिजनले अतिथि पर्यटकहरुलाई स्वस्थ र हासिखुशी राखोस्। त्यो भन्दा अगाडि आतिथ्यदा दिने हाम्रा जन जनलाई स्वस्थ र दीर्घजीवि बनावस्। मुलुकको ग्रीन गोल्ड, ह्वाईट गोल्ड(ढुंगा–गिट्टी–बालुवा) वाटर गोल्ड सबै अमूल्य पूँजी भावी नेपाल र भावी सन्ततीको लागि संचित होस्।

गरिब किन नहोस् तर स्वस्थ, सफा, स्वच्छ वातावरणले मातृभूमि मगमग बास आवस्।  सारा प्राणी जगतको सुस्वास्थ्य, सुख र सम्वृद्धि होस्। नीति निर्माताहरुको स्वाभिमान र राष्ट्रभक्ति नडग्मगावस्। हामी सबैको पहल र जोडबल प्रयासबाट आजको वातावरण दिवस साकार होस्। अर्काे वर्षकाे याे अन्तराष्ट्रिय दिवस मनाउने पहल नेपालले लिओस्।

विश्व वातावरण दिवसलाई हार्दिक शुभकामना।

लेखक संरक्षणकर्मी हुन् ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो