विदेशमा कोरोनाबाट थप १३ नेपालीको निधन, मृतकको संख्या ४ सय ३५

डिसी नेपाल
२४ जेठ २०७८ १८:१७

काठमाडौं । कारोना भाइरस (कोभिड १९) का कारण गत दुई सातामा विदेशमा थप १३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्वास्थ्य समितिका संयोजक डा.संजिव सापकोटाका अनुसार साउदी अरबमा ७ जना, भारतमा ५, कतारमा १ गरी १३ जना नेपालीको निधन भएको हो ।

संघले संकलन गरेको तथ्यांक अनुसार भारतसहित विश्वभर २८ मुलुकमा रहेका ४ सय ३५ जना नेपालीको कोरोनाका कारण ज्यान गइसकेको छ । एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार हालसम्म विदेशमा ५४ देशमा १ लाख १० हजार १ सय ९६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये १ लाख ६ हजार ८ सय २३ हजार नेपाली कोरोनामुक्त भएका छन् ।

हालसम्म विदेशमा कोरोना संक्रमणबाट ९३ प्रतिशत नेपाली मुक्त भएका छन् । संघका अनुसार विगत दुई सातामा भारत, माल्दिभ्स्, साउदी अबर, कतार लगायतका देशमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

गैरआवासीय नेपाली संघले विगत कोरोना भाइरसको महामारी सुरु भएदेखि विदेशस्थित नेपाली समुदाय, विदेशमा कार्यरत नेपाली चिकित्सक, नेपाली नियोग, संघसंस्था र संघका शाखाद्वारा प्राप्त सूचनाका आधारमा तथ्यांक संकलन गर्दै आएको छ ।

डा.सागर पौडेल (भारत), डा.नितेश शर्मा (मध्यपूर्व), डा.बोधराज सुवेदी (युरोप), डा.रुपक श्री (माल्दिभ्स) लगायत विश्वभर २ सय जना चिकित्सकहरुले तथ्यांक संकलनमा सहयोग गरिरहेका छन् ।

समितिले जारी गरेको स्वास्थ्य निर्देशिकालाई अनुशरण गर्न पनि अनुरोध गरिएको छ । यस्तै संक्रमणबाट बच्नका लागि खोप मात्रै अचुक उपाय साबित भइरहेको छ । तर सबैको पहुँचमा खोप पुगिरहेको अवस्था छैन ।

यस्तोमा एउटै कम्पनीबाट विभिन्न मुलुकमा विकास गरिएका खोपहरुको प्रयोग पनि गर्न सकिने तथ्य आइरहेका छन् । यसर्थ तत्काल खोपको सुनिश्चितता गरी खोपको पहुँच स्थापित गर्नेतर्फ पनि लाग्नुपर्ने समितिले सुझाएको छ ।

पछिल्लो समय बालबालिकामा कोरोना संक्रमणको जोखिम अत्याधिक देखिएको र स्वास्थ्य विज्ञहरुले पनि नेपालमा तेस्रो र चौथो लहरको चेतावनी दिइरहेका छन् । नेपालमा ८ दशमलव ८ प्रतिशत बालबालिकामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसर्थ पनि बालबालिकाको स्वास्थ्य संकट बढ्दो छ ।

यस अवस्थामा सम्पूर्ण अभिभावकहरुलाई आफू संक्रमणबाट बच्न हरसम्भव स्वास्थ्य सावधानी अपनाउन समितिले अनुरोध गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *