हुम्लाका ७० स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

डिसी नेपाल
२७ जेठ २०७८ ९:४८
44
Shares

काठमाडाैं । हुम्ली सेवा समाज नेपालगञ्जले हुम्लाका ७० वटा स्वास्थ्य संस्थालाई कोभिड–१९ का सामग्री सहयोग गरेको छ। जिल्लाबाहिर नेपालगञ्जमा बस्दै आएका हुम्ली सेवा समाजमा आबद्ध १४ व्यक्तिको संयुक्त आर्थिक सहयोगमा जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरिएको सिमकोट गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक दानबहादुर बोहराले जानकारी दिए।

विश्वव्यापी महामारिका रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण दिनानुदिन तीव्रगतिमा फैलिरहेको अवस्थामा हिमाली जिल्ला हुम्लाका सम्पूर्ण स्वास्थ्य संस्थालाई ती सामग्री सहयोग गरिएको नेपालगञ्जमा बसोबास गर्दै आएका सिमकोट–५ का जीवन बोहराले बताए।

हुम्लामा भौतिक पूर्वाधार, स्रोत साधन र जनशक्तिको अभावलगायतका विभिन्न प्रतिकूल अवस्था र महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै थोरै भए पनि केही सहज होस् भन्ने उद्देश्यका साथ समाजले उक्त सामग्री सहयोग गरेको हो।

जिल्लाका सिमकोट, नाम्खा, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका स्वास्थ्य संस्थाका लागि हवाईजहाजमार्फत ती सामग्री आपूर्ति भएको छ। ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका लागि पैदल मार्ग हुँदै जिल्लामा उपलब्ध हुने संयोजक बोहराको भनाइ छ।

बुधबार हवाईजहाजमार्फत आपूर्ति भएको स्वास्थ्य सामग्री सिमकोट–६ को वडा कार्यालयबाटै गाउँपालिकाअन्तर्गतका ठेहे, बरगाउँ, स्याँडा, खोल्सीलगायतका स्वास्थ्य संस्थामा वितरण गरिएको थियो।

त्यस्तै सर्केगाड गाउँपालिका र जिल्ला अस्पताललाई पनि सोही दिन सामग्री हस्तान्तरण गरिएको संयोजक बोहराले बताए। प्रतिस्वास्थ्य संस्थालाई एक थान पल्स अक्सिमिटर, एक थान डिजिटल थर्मोमिटर र ५०० थान सर्जिकल मास्क उपलब्ध गराइएको थियो।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *