खतरनाक पाँच पूर्वप्रधानमन्त्रीहरु – Dcnepal

खतरनाक पाँच पूर्वप्रधानमन्त्रीहरु

पूर्व प्रधानमन्त्रीहरुको सामुहिक अपिलले गाउँ सहर बजार गर्माएको छ। अपिल अनौठो र रहस्यमय छ–राज्यका अंगहरु, सबै सरकारी निकायहरु, प्रशासनिक अंग र सुरक्षा निकायहरुलाई सरकारको आदेश पालना नगर्न उक्साइएको छ।

वर्तमान प्रधानमन्त्री भर्सेस, ५ पूर्वप्रधानमन्त्रीको तानडोरीले दिन खोजेको सन्देश र भ्रम अनेक होलान् तर यसले राष्ट्रिय सुरक्षाको पिँध उप्काएको छ। राष्ट्रिय सुरक्षालाई खतरा अरु केही होइन हाम्रा शासकहरु र तिनले दुरुपयोग गर्दै आएको शासकीय व्यवस्था हो भनेर पंक्तिकारले पूर्व आलेखहरुमा प्रष्ट्याइसकेको थिएँ।

साथै, मातृभूमिको ईण्टेलिजेन्स चुहाउने, बेच्ने र विदेशी हस्तक्षेप गुहार्ने काम अरुबाट होइन प्रधानमन्त्रीहरुको तहबाट भइरहेको खुलासा पनि गरेको थिएँ। राष्ट्रभक्ति अवसरवादी चरित्र मात्र हो र परदेशभक्ति अटल स्थायी र सत्य सेवा हो भन्ने रहस्योद्घाटन पनि गरिसकेको थिएँ। राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गराउनेहरुमध्ये उहांहरु नै मुख्य हुनुहुन्छ।

भोलि १० जना उपप्रधानमन्त्रीहरुको संयुक्त विज्ञप्ति नआउला भन्न सकिन्न । पर्सि २०/२० जना रक्षा, गृह र परराष्ट्रमन्त्रीहरु गोलबद्ध भएर मातृभूमिमाथि विषबमन र लातभात गरेमा आश्चर्य नमाने हुन्छ। पूर्व प्रधान न्यायाधिसहरुले यो विकृत र विसंगत नजिर स्थापित गरेर नग्नता प्रदर्शन गरिसकेकै छन्।

राष्ट्रिय सुरक्षामाथि न बाह्य खतरा न आन्तरिक। महसुर खतरा नै बाह्य शक्तिका एजेण्टरूपी शासकहरुको भिड हो भन्ने कुरा निर्वाध बुझ्न अब बिलम्ब गर्नु हुँदैन। हामी को बाट किन र कसका लागि शासित छौं भन्ने सत्य सर्वसाधारण आम जनताले बुझेर कोर्स करेक्सनको बाटो नपहिल्याएसम्म हाम्रो राष्ट्रियता, सीमाना, प्राकृतिक श्रोत र माटो लगातार बेचिरहने अवश्यम्भावी छ।

कालो इतिहास

नेपालको इतिहासको कालखण्डमा पूर्व शासकहरुले पनि विदेशी घोडा चढेर विदेशीहरुकै गुलाममार्फत नेपाली जनतामाथि शासन गरेका हुन्। राष्ट्रियता मापन गर्ने यन्त्र हुँदो हो त वर्तमान अथवा आधुनिक शासकहरुले शून्य राष्ट्रियता प्रदर्शन गरिरहेको प्रमाण हजारौं छन्।

अन्तरविरोध, अन्तरघात, राष्ट्रघात प्रधानमन्त्री मण्डलीका चरित्र बनिसकेका छन्। र, ती बराबर दोहोरिरहेका छन् । विपक्षी र विदेशी शक्तिलाई गुहारेर शत्रु र सत्ता ढाल्ने परम्परा दुध भात जस्तै भएको छ।

यसको ज्वलन्त उदाहरण खोज्न हेर्न धेरै टाढा जानु पर्दैन। वर्तमान र यसको जरो २ वर्षे शासनकाललाई हेरे, नियाले पुग्दछ। खुला आकासमुनि जंगे पिलर समातेर बस्ने धर्ती पुत्र इमान्दार सिपाहीमाथि कति ठूलाे अन्याय?

सोझा सुरक्षाकर्मीहरुलाई भ्रम छरेर किंकर्तव्यविमुढ बनाउने पाँच पूर्वप्रधानमन्त्रीहरुको यो अपिल निन्दनीय मात्र दण्डनीय समेत छ। सत्तासिन प्रधानमन्त्री हटाउने यो कदम संवैधानिक र कानुनी उपचार पटक्कै होइन। बरु यो संविधान र कानूनी शासनको उपहास गर्दै सेनालाई सत्तासीन गराउने षड्यन्त्रमूलक प्रपञ्च हो।

६० वर्ष पुरानो प्रजातन्त्रको जरो किलो कसले उखेल्यो? विदेशीले। पञ्चायतलाई कसले रद्दीको टोकरीमा फ्याक्यो ? विदेशीले। फेरि शिसु प्रजातन्त्रको भ्रुण हत्या कसले गर्यो? विदेशीले। जनयुद्धको सुत्रपात कसले गर्यो? विदेशीले। बाह्र बुँदे हतकडी नाक नत्थी कसले लगाईदियो? विदेशीले । गणतन्त्र कसको उपहार हो? विदेशीको।

गणतन्त्र कसले फ्याक्न खोज्दै छ? विदेशीले होइन। हामी आफैंले। हामी भनेको गोटी शासकहरुले। विदेशी हस्तक्षेप बराबर गुहारिरहने हाम्रा शासकहरुको मण्डलीले। राष्ट्रिय सुरक्षाको चुरो खतरा अरु कोही होइन हाम्रा शासकहरु हुन्।

हामी सयौ वर्षदेखि विदेशी एजेण्टहरुबाट शासित छौं र आजसम्म अन्धकार सुरुङ्गमार्गबाट अन्धाधुन्ध यात्रा गरिरहेका छौं। अब सुरङभित्रको पनि दलदल र भासमा जाकिएका छौं। जनताको आँखा किन खुल्दैन? शासकको आँखा खोल्न नसक्ने गरी फुलो परिसकेको छ। यही हो हाम्रो दुर्भाग्य! दुरगतीको अनवरत यात्रा!

इतिहासका साक्षी शासकहरुलाई प्रश्न

वर्तमान प्रधानमन्त्री केपी ओली कति ठिक कति बेठिक इतिहासले मापन गर्ला। तर त्यो कालो इतिहास, यो झन् कालो वर्तमान र भविष्यको अन्धकार भाग्यको दोषी केवल वर्तमान प्रधानमन्त्री मात्र हुन् त?

हिजो बारम्बार तपाईहरुले सरकारको नेतृत्व गर्दा चुहाएको सूचना, बिक्री गरेको गोपनीयता, सम्झौता गरेको राष्ट्रियता र दोहन गरेर खाएको चुरे, वनजंगल, बन्यजन्तु, पानीको फेहरिस्त अब किन नखोलिदिने?

सुध्रिने र सच्चिने संकेत छैन बरु झनझन बिग्रेर माटो बेच्ने हैसियतमा पुगिसकेको प्रमाणित भइसकेको अवस्थामा जनता कति झर्ला र खाउला भनेर कुर्ने? यी यक्ष प्रश्नहरुको उत्तर नआएसम्म मुलुक बर्बादतिर गइरहने हो। अस्तित्व रक्षाको किनारामा ऐले नै पुगिसकेको छ ।

रक्षकहरुलाई धर्म संकट। सिपाहीलाई गोल हान्ने शासकहरु। विदेशी सेना गुहारेर मातृभूमिको छातीमाथि परेड खेलाउने हतारोको मनोविज्ञान बोकेका शासकहरुको मण्डलीलाई चिन्न धेरै ढिलो भइसकेको छ । यो पर्दाफास नभएर त्यो राष्ट्रघाती मण्डलीलाई तिरस्कार र सजायको कठघरामा नल्याएसम्म हामी अनन्तकालसम्म उनै विदेशीको भक्त गोटीहरुबाट शासित भइरहने छौं।

पूर्वप्रधानमन्त्रीहरुको पञ्चायतलाई पंक्तिकारको जोडजार आग्रह छ कि अरु छुट्पुट् पूर्वप्रधानमन्त्रीहरुलाई पनि यो आन्दोलनमा सामेल गरौं। एउटाले अर्काको राष्ट्रघातको श्रृङ्खला खोलिदिऊं । जनताहरुलाई ती राष्ट्रघातका हिमचुलीहरु जस्ताको तस्तै देखाइदिऊँ।

सर्पले सर्पको खुट्टा देखेजस्तै। सम्पूर्ण पोल खोलेर निर्वस्त्र बनाइदिउ भविष्यका सन्ततिलाई पाठ सिकाउनको लागि। गुलामीको साङ्लो तोड्नको लागि, स्वाभिमानको रक्षा गर्नको लागि। पापै पापको घाउखट् पखाल्नको लागि।

बन्दुकको खोइ मान ?

वर्तमान सरकारलाई नमान्न संयुक्त निर्देशन दिने पाँच प्रधानमन्त्रीहरुलाई अर्को जिज्ञाशा। बन्दुक आफै पड्कदैन। बन्दुकको ज्ञान हुँदैन। तपाईँहरु आफैं पत्र पत्रका बन्दुकहरुले घेरिएर बस्नुभाछ।

ती बन्दुकहरुलाई मनलाग्दी उल्टो सुल्टो आदेश निर्देशन गिराउनु भाछ। प्रधानमन्त्री हत्या समेतको सस्तो सपनाको तनाबुना बुन्नु भाछ। भावी प्रधानमन्त्रीको दाबेदारमा आफू र आफ्ना सन्ततिलाई लामवद्ध राख्नुभाछ।

बन्दुकलाई उत्तेजित पार्ने हो र? त्यो ज्यादै अनुशासित र सम्बेदनशील अस्त्रलाई मान सम्मान पो गर्नु पर्ने हो तपाईहरु सबैले। बन्दुक पछाडिको मान्छेले तपाईँहरुको राष्ट्रघात बुझ्यो भने तपाईँहरुको सुरक्षा खतराको औषधि कसले दिने? उनै विदेशीले? हेक्का रहोस् त्यो संम्भव छैन। खरो र बहादुर नेपालीहरुको घरभित्र अर्को सुरक्षा घेराको कोरा कल्पना तपाईहरुले नगरे हुन्छ।

सुरक्षा घेराभित्र बसेका काँतर पूर्व शासकहरुको सन्देहपूर्ण षड्यन्त्र र हरकत निन्दायोग्य छ। दण्डयोग्य छ। दण्ड भनेको राजनीतिक विश्राम हो। अझ ठूलाे दण्ड भनेको पाप र भेदको पोको खोलेर सबैलाई सजायको कठघरामा उभियाउनु हो।

भारतीय मिडियालाई अन्तर्वार्ता दिँदा नेपालको चुच्चे नक्सामा गर्व गर्न नसकी छोप्नेसम्मको हर्कत गर्ने तपाईंहरुमध्येकै हुनुहुन्छ होइन? कुनैबेला पार्टीको बैठकमा भारतीय सेनालाई बोलाएर भएपनि काम अघि बढाउनुपर्छ भन्नेमध्ये पनि तपाईंहरुकै टिममा देख्छु। रअका एजेण्टले पैसोको पोको लगेर घरमै बुझेर मुलुकको राजनीतिमा भारतीय हस्तक्षेपलाई संस्थागत गर्नेमा योगदान दिनेमा चर्चित नाम नेपालीले विर्सने कुरा हुँदैन। यहाँहरुमध्येकै एकबाट भारतलाई कन्फर्टेबल सरकार दिन सक्छु भनेर खुलमखुल्ला दण्डवत गरिएको धेरै भएको छैन।

सोझा सुरक्षाकर्मीहरुलाई भ्रम छरेर किंकर्तव्यविमुढ बनाउने पाँच पूर्वप्रधानमन्त्रीहरुको यो अपिल निन्दनीय मात्र हाेइन,  दण्डनीय समेत छ। सत्तासिन प्रधानमन्त्री हटाउने यो कदम संवैधानिक र कानुनी उपचार पटक्कै होइन। बरु यो संविधान र कानूनी शासनको उपहास गर्दै सेनालाई सत्तासीन गराउने षड्यन्त्रमूलक प्रपञ्च हो।

आफ्नो होचो कद र नग्नताको प्रदर्शन हो। हिजोको अराष्ट्रिय तत्वको बातलाई कसरी असान्दर्भिक र असत्य भन्नु। बन्दुकलाई उक्साउने पंचतत्वले आफ्नो आङ्ग र अनुहारमा के छ छिटो ऐनामा हेरुन् । सुधारको भो अपेक्षा नगरौं।

अन्तिम प्रश्न

पूर्व प्रधानमन्त्रीहरुलाई अन्तिम जिज्ञासा, तपाईहरुको रसायन के हो? कुन हो कहाँबाट आएको हो? कति टिकाउवाला हो? भारतीय मिडियालाई अन्तर्वार्ता दिँदा नेपालको चुच्चे नक्सामा गर्व गर्न नसकी छोप्नेसम्मको हर्कत गर्ने तपाईंहरुमध्येकै हुनुहुन्छ होइन र?

कुनैबेला पार्टीको बैठकमा भारतीय सेनालाई बोलाएर भएपनि काम अघि बढाउनुपर्छ भन्नेमध्ये पनि तपाईंहरुकै टिममा देख्छु। रअका एजेण्टले पैसोको पोको लगेर घरमै बुझेर मुलुकको राजनीतिमा भारतीय हस्तक्षेपलाई संस्थागत गर्नेमा योगदान दिनेमा चर्चित नाम नेपालीले विर्सने कुरा हुँदैन।

यहाँहरुमध्येकै एकबाट भारतलाई कन्फर्टेबल सरकार दिन सक्छु भनेर खुलमखुल्ला दण्डवत गरिएको धेरै भएको छैन।
जनयुद्ध अन्त्य गर्न किन जोडिनु भएन। शान्तिक्षेत्र नेपाल पास गराउन किन जोडिनु भएन। रोग भोक अशिक्षा बेरोजगार विरुद्ध लड्न किन जोडिनु भएन।

र, अकल्पनीय महामारी विरुद्ध लड्न झन् किन जोडिनु भएन। देशको सीमा मिचिँदा किन जोडिनु भएन। हिजाे चुरे खण्डहर हुँदा किन चुपचाप। चुरे खाने मेसिनहरु महाभारत पुग्दा खुल्ने आँखा हिजो अस्ती किन खुलेन। कोशीहरु एकपछि अर्को बेचिदा कहाँ थियो त्यो रसायन। भागबण्डाको बिर्को लाग्ना साथको यात्रा र राष्ट्रबाद कहिले र कहाँसम्म हो?

आज बाह्य र परोक्ष हस्तक्षेप देख्ने आँखाले हिजो किन देखेन। आजको खुलमखुला हस्तक्षेप भित्र्याउने पात्र वर्तमान प्रधानमन्त्री मात्र हो कि तपाईँ निवर्तमान प्रधानमन्त्रीहरु पनि हो।

बाह्य  हस्तक्षेबाट मुक्ति पाउने उपाय र साँचो जनतासँग छ कि तपाईहरुसँग? संयुक्त विज्ञप्तिले जन्माएका अनगिन्ती प्रश्नहरुको उत्तर नआएसम्म हाम्रो विनासको बाटोको उपचार छैन। राष्ट्रिय सुरक्षा माथिको खतरा नै शासकहरु भएको दुर्लभ देश नेपालको चरित्र सच्याउन समयले डाडा काटिसकेको छ।

न्याय कि अन्याय

न्यायालयको मूल्य, मान्यता, तठस्थताको धुलिसात् भएको उहिले हो। जनतालाई न्याय दिनुपर्ने न्यायालयले शासकलाई र पूर्व शासकहरुलाई न्याय दिनुपरेको छ। संविधानलाई यो वा त्यो गोलपोष्टमा गोल हान्नु परेको छ। जुन गोलपोष्टबाट गोल हानेपनि गोल हानिने संविधान हो।

मातृभूमिको रक्षक बहादुर सिपाही हो उनीहरुको भकुण्डो। अदालतमा विचारधीन मुद्दाको फैसला सडकबाट पूर्व प्रधान न्यायाधिसहरुले गर्ने रोचक दृश्य अन्यत्र होइन नेपालमा मात्र देख्न पाइन्छ। राष्ट्रिय अपराधका यस्ता श्रृङ्खला संघदेखि प्रदेश हुँदै स्थानीय तहसम्म तीब्र फैलिरहेका छन्।

राष्ट्रिय सुरक्षालाई तिलाञ्जली दिएर भित्तामा पुर्याएका सफेद प्रमाण हुन् यी। मातृभूमिको अस्तित्व रक्षा संकटमा परेको अशुभ संकेत हो त्यो। सत्ता र विपक्षीले पाउने न्यायसँग के मतलब भयो जब जनताको न्याय मर्दछ र मातृभूमिले एकपछि अर्को हार खाइरहन्छ।

अशुभ संकेत

एकजना प्रधानमन्त्री आवाजविहिन भएको सन्देश हो पंच प्रधानमन्त्रीहरुको रसायन। त्यही संकेत हो पूर्व प्रधान न्यायाधीशहरुको संयुक्त सडक इजलास। परराष्ट्र नीति होचिएर दबिएर तिब्बत र बिहारले ह्याण्डल गर्ने हैसियतमा पुर्याइएको छ एउटा महान् राष्ट्रलाई ।

आजको खुलमखुला हस्तक्षेप भित्र्याउने पात्र वर्तमान प्रधानमन्त्री मात्र हो कि तपाईँ निवर्तमान प्रधानमन्त्रीहरु पनि हो। वाध्य हस्तक्षेबाट मुक्ति पाउने उपाय र साँचो जनतासँग छ कि तपाईहरुसँग? संयुक्त विज्ञप्तिले जन्माएका अनगिन्ती प्रश्नहरुको उत्तर नआएसम्म हाम्रो विनासको बाटोको उपचार छैन। राष्ट्रिय सुरक्षा माथिको खतरा नै शासकहरु भएको दुर्लभ देश नेपालको चरित्र सच्याउन समयले डाडा काटिसकेको छ।

बेजिङ्ग दिल्ली धेरै टाढाका मधुरा सहर भइसकेका छन्। वर्तमान निवर्तमान प्रधानमन्त्रीहरुको निधारमा एजेण्टको छाप हान्न तछाड् मछाड् छ बिदेशी जासुसहरुको। इण्टेलिजेन्स शून्यतामा अक्सिजनको खोजिमा छ पूरै मुलुक। राष्ट्रिय सुरक्षाको प्राण वायु अक्सिजनको सिलिण्डरमा प्वाल पार्न व्यस्त छन् पूर्व शासकहरु। राष्ट्रिय सुरक्षाको नारा सत्ता हत्याको मसला मात्र हो ।

स्पष्टोक्ति

राष्ट्रिय सुरक्षाको छातामुनि ३४ वर्ष सेवारत छदा हुटिट्याउले आकास धानेजस्तो लागिरह्यो। बाहिर निस्केर हेर्दा शासकहरुको निर्वस्त्र रुप देखेर कुरीकुरी लाज लाग्यो। आज निर्वस्त्र देख्नुपर्दा दुःखको सीमा छैन।

आलेखको मर्म वर्तमान सरकार ठिक अरु बेठिक भन्न खोजेको पटक्कै होइन। कोही कसैप्रतिको राजनीतिक झुकाव र आग्रह पूर्वाग्रह झन् पटक्कै होइन। हो त केवल शासकहरुको घट्दो कद र सत्ताको दुरुपयोग एवं परदेशी मालिकको गुलामी गरेर मातृभूमि र मतदाताहरुमाथि भइरहेको घात अन्तरघातको गहिरो चिन्ता र पीडा।

३४ वर्षको राष्ट्रसेवाको तटस्थता कायम राख्न वर्तमान सरकारको नियुक्ति स्वेच्छाले त्याग गरेर खुशी जीवन बिताइरहेको पंक्तिकारको एउटै जोडदार माग शीघ्र राजनीतिक शुद्धिकरण होस् र त्यो असल राजनीति राष्ट्रिय ईण्टेलिजेन्स, राष्ट्रिय सुरक्षा, राष्ट्रिय स्वाभिमान तथा राष्ट्रहितको रक्षाकवच बनोस्। त्यही हो पंक्तिकारको स्पष्टीकरण, प्रार्थना र पुकार।

लेखक राष्ट्रिय सुरक्षा विज्ञ तथा संरक्षणकर्मी हुन्

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो