घट्दै सङ्क्रमण दर, ४२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

डिसी नेपाल
२ असार २०७८ १७:४९

काठमाडौं । पछिल्ला केही सातायता नेपालमा कोरोना सङ्क्रमणको दर लगातार घट्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला दिनमा कोरोना सङ्क्रमित हुने र मृत्यु हुनेको संख्या लगातार घटिरहेको छ ।

पछिल्लो २४ घन्टामा १३ हजार २२ नमूना परीक्षण गर्दा दुई हजार ८२८ जनामा सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ६८७ पीसीआर परीक्षण गर्दा २ हजार १४ जनामा र ४ हजार ३३५ एन्टिजेन परीक्षण गर्दा ८१४ जनामा सङ्क्रमण पुष्टि भएको छ । कूल पीसीआर परीक्षणमध्ये संक्रमण दर १८.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालका कोरोना सङ्क्रमण हुनेको संख्या छ लाख १४ हजार २१६ पुगेको छ । ती मध्ये पाँच लाख ४३ हजार ५२१ जना सङ्क्रमणमुक्त भएको छन् । जुन कुल संक्रमितको ८८.५ प्रतिशत हो ।

आज ३ हजार ८२ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमणबाट ५२ जनाको ज्यान गएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट आठ हजार ५५८ जनाले ज्यान गुमाएका स्वास्थ्य मन्त्रालयद्वारा बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्ण पौडेलले बताए ।

हाल नेपालमा कोरोना पोजेटिभमध्ये मृत्युदर १.६ प्रतिशत रहेको छ ।

४२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित

देशभरका ४२ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी देखिएको छ ।

प्रदेश नं. १ मा झापा, मोरङ र सुनसरी , प्रदेश नं. २ मा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा, वाग्मती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, दोलखा र सिन्धुली ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, गण्डकी प्रदेशमा कास्की, गोरखा, नवलपरासी (पूर्व) र तनहुँ, लुम्बिनी प्रदेशमा दाङ, बाँके, बर्दिया, रुपन्देही, पाल्पा, कपिलवस्तु, रोल्पा र नवलपरासी (पश्चिम), कर्णाली प्रदेशमा दैलेख र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशमा कैलाली, ढडेलधुरा, कञ्चनपुर, बैतडी, डोटी र अछाममा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार १७ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । प्रदेश नं १ मा ओखलढुंगा, उदयपुर, खोटाङ, पाँचथर र संखुवासभा, प्रदेश नं. २ मा रौतहट तथा वाग्मती प्रदेशमा रसुवा जिल्ला रहेका छन् ।

त्यस्तै, गण्डकी प्रदेशमा पर्वत, म्याग्दी, वाग्लुङ, लमजुङ र स्याङ्जा, लुम्बिनी प्रदेशमा अर्घाखाँची र गुल्मी, कर्णाली प्रदेशमा सल्यान, जुम्ला र रुकुम (पश्चिम)मा पनि २०० भन्दा बढी संक्रमित रहेका छन् ।

देशभरका १४ जिल्लामा पछिल्लो हप्ता कोरोनाभाइरस संक्रमणमा वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश नं. १ को उदयपुर, पाँचथर र तेह्रथुम, बागमती प्रदेशको नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, रुकुम (पश्चिम) र दैलेख, सुदूरपश्चिम प्रदेशको डोटी र बाजुरामा संक्रमणमा वृद्धि भएको हो ।संक्रमण वृद्धि भएका जिल्लामा उच्च सतर्कता अपनाउन मन्त्रालयले अपिल पनि गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *