बखानमा मेलम्ची थुनिएर विनाशको रूप लिँदा…

डिसी नेपाल
३ असार २०७८ ६:०७

सिन्धुपाल्चोक । लगातार प्राकृतिक विपत्ति भोगिरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको छ । २०७१ सालदेखि लगातार प्राकृतिक विपत्तिको सामना गर्दै आएको सिन्धुपाल्चोकले यो वर्षको १ असारमा नै ठूलो विपत्तिको सामना गर्नुपरेको छ ।

मंगलबार बेलुकी हेलम्बु गाउँपालिकाको ‘बखान’ भन्ने स्थानमा ठूलो पहिरो गएपछि मेलम्ची नदी थुनिएको थियो । थुनिएको नदी खुलेपछि नदीले विनाश रूप धारण गर्दै क्षति बनाएको थियो । ‘मेलम्ची खानेपानी आयोजनाको अम्बाथानमा रहेको ड्यामभन्दा माथिबाट आएको पहिरोले मेलम्ची नदी थुनेको देखियो,’ हेलिकोप्टरबाट पहिरो स्थलमा पुगेका नेपाली सेना गोरख बक्स गणका प्रमुख निर्मलकुमार श्रेष्ठले भने, ‘त्यही पहिरोले नै तल्लो तटीय क्षेत्रमा क्षति भएको देखियो ।’

पहिरोपछि आएको बाढीले मानवीय क्षतिको यकिन विवरण प्राप्त नभए पनि केही बेपत्ता छन् । सात जनाको शव भेटिएको छ । हेलम्बु २ का माधव भण्डारी, गणेश ज्योति, हेलम्बु ३ की टिकामाया खड्का, हेलम्बु ६ का च्यामा तामाङ, उनकी पत्नी, ७ का ज्ञानेन्द्र कक्षपति र सुरेन्द्र नेपालको मेलम्ची बाढ मा परेर निधन भएको छ ।

उनी रु सबै ट्राउट माछा फार्ममा काम गर्नेहरु रहेको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए । ‘बखान क्षेत्रमा गएको पहिरो हेर्दा अन्य पहिरोभन्दा फरक देखिएको छ । लाभा जस्तै बगिहेको छ, ठूलो ज्वालामुखी विस्फोटनपछि निस्कने लाभाजस्तै लेदो बगिरहेको छ,’ सेनानी श्रेष्ठले भने, ‘यस्तो प्रकृतिको पहिरो यसअघि देखिएको नै थिएन ।’

अहिले पनि पहिरो झर्न नरोकिएको र लेदो पनि बगिरहेको उनले जानकारी दिए । ‘माथि हिमाल नै फुटेर आएको जस्तो अवस्था छ, लेदोले नदीको सतह २ मिटर भन्दा अग्लो भएको छ,’ प्रमुख सेनानी श्रेष्ठले भने । पानीसँगै बाक्लो घोल आएर नदी छेउछाउका घरमा पसेर क्षति बनाएको रेडियो मेलम्चीका स्टेसन म्यानेजर देवराज सुवेदीले जानकारी दिए ।

सडक सम्बन्ध टुट्यो

पहिरो र त्यसपछि आएको बाढीले इन्द्रावती र मेलम्ची नदीमाथि रहेका चारवटा पक्की पुल बगाएको छ । पुल मात्रै होइन नदीले मेलम्ची हेलम्बु सडकखण्ड पनि पुरै कटान गरेको छ । मेलम्चीलाई सदरमुकाम चौतारसँग जोड्ने पक्की पुल बाढीले बगाएको छ भने मेलम्ची र दुवाचौर जोड्ने अर्काे पुल पनि बगाएको छ । ‘मेलम्चीमाथि हेलम्बुसम्म जति पनि पक्की र झोलुङे पुल छ, त्यो सबै नै बगाएको छ,’ नेपाली सेना गोरख बक्स गणका प्रमुख निर्मलकुमार श्रेष्ठले भने ।

नदी किनारका घर टहरा र माछा व्यावसाय सबै बगायो

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल हेलम्बुको अम्बाथनदेखि मेलम्ची बजारसम्म बाढीले ३ सय बढी घरमा क्षति पु¥याएको छ । प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार मेलम्ची नगरपालिकाभित्रका १ सय ३३ र हेलम्बु गाउँपालिकाभित्र १ सय ५० घर प्रारम्भिक रूपमा क्षति भएको विवरण प्राप्त भएको जानकारी दिए ।

बाढीबाट विस्थापितलाई मेलम्चीस्थित इन्द्रेश्वरी माविमा र हेलम्बु क्षेत्रका स्थानीयलाई पनि डाँडाका सुरक्षित स्थानमा राखिएको उनले जानकारी दिए । मेलम्ची नदी किनारमा ट्राउट माछापालन गर्ने व्यावसायीलाई बाढीले नराम्रोसँग झट्का दिएको छ । नदीछेउमा रहेको एउटा पनि ट्राउट माछा फर्म नराखी बाढीले बगाएको छ । अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बुमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको क्याम्प बगाएपछि अलपत्र परेका ४७ जना कामदारको उद्धार गरिएको छ ।

बाढीमा फसेकाको उद्धार

मेलम्ची खानेपानी आयोजनाको आम्बाथान मुहान नजिकैको क्याम्पमा बस्ने ७० जना कामदार तथा आयोजनाका कर्मचारीलाई नेपाली सेनाले उद्धार गरेको छ । बाढीमा फेसका ४७ जना कामदारलाई नेपाली सेना तथा निजी कम्पनीको हेलिकोप्टरबाट उद्धार गरी धुलिखेल अस्पतालमा राखिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।

मंगलबार राति आएको बाढीले कामदार बसेको क्याम्प बगाएको थियो । केही कामदार भागेर ज्यान जोगाउन सफल भए भने अन्य सम्पर्कविहीन छन् । मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स निर्माण कार्य भइरहेकाले नेपाली, चिनियाँ र भारतीय तथा आयोजनाका कर्मचारीसहित ७० जना त्यहाँ कार्यरत थिए ।

बाढीमा फसेकाको खोजी तथा उद्धार कार्य भइरहेको छ । आयोजनाको कर्मचारी मजदुरको उद्धारमा मेलम्ची खानेपानी आयोजना, निर्माण व्यवसायी, परामर्शदाता खटिरहेको र बेपत्ताको खोजी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनाका २३ कर्मचारी र मजदुर अझै सम्र्पकविहीन रहेको मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ । बाढीले मेलम्ची खानेपानी आयोजनाको ड्याममा क्षति बनाए पनि सुरुङको गेट बन्द गरिएकाले सुरुङमा भने क्षति नभएको खानेपानी आयोजनाले जानकारी दिएको छ। ।राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *