सिन्धुपाल्चोक विपद्ः अहिले के भइरहेको छ ?

डिसी नेपाल
३ असार २०७८ १७:२९

काठमाडौं। मंगलबार राति सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको भिषण बाढीले हेलम्बुदेखि मेलम्ची बजारसम्म नदी किनाराका बस्तीलाई तहसनहस पारिदिएको छ। सो बाढीमा परि विहीबार साँझसम्म ३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १३ जना सम्पर्कविहीन छन्। विहीबार अपरान्ह भने नदीकाे जलसतह घटेको छ। वर्षा पनि रोकिएको छ।

मेलम्चीको बाढीले हेलम्बु गाउँपालिकाको चनौटे, ग्याल्थुङ, गणेशीबगर, हल्दी, चालिसे च्युरीखर्क, तिउलबगरलाई तहसनहस पारेको सो गाउँपालिकाकी उपाध्यक्ष कोपिला पण्डितले डिसी नेपाललाई जानकारी दिइन्।

उता मेलम्ची नगरपालिकाको मेलम्ची बजारमा सबैभन्दा धेरै क्षति भएको छ। मेलम्ची खोला किनाराको मेलम्ची बजार तहसनहस भएको छ। बुधबार बिहानैबाट जारी उद्धार तथा राहतको काम विहीबार साँझसम्म जारी रहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए।

उनका अनुसार मेलम्ची बजारभन्दा माथि सडक सञ्जालमा अवरोध भएकाले सेनाको हेलिकोप्टरमार्फत राहत तथा उद्धार भइरहेको छ। मेलम्चीसम्म भने सडक पहुँच भएकाले त्यहाँ गाडीमार्फत गएका उद्धारकर्मीहरुले उद्धार तथा राहतका काम गरिरहेका छन्।

उनका अनुसार हेलम्बुमा १३३ घरधुरी प्रभावित हुँदा कम्तिमा ३ सय मानिसहरु प्रभावित भएका छन्। प्रभावित भएका सबै विस्थापित भने नभएको प्रजिअ पोखरेलले जानकारी दिए। यस्तै मेलम्ची नगरपालिकामा १५० घरधुरी प्रभावित भएका छन्। जहाँ करिब ६ सय मानिसहरु प्रभावित भएका छन्।

बाढीका कारण विस्थापित भएकाहरुलाई अस्थायी टेन्ट बनाएर राखिएको हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष पण्डितले डिसी नेपाललाई जानकारी दिइन्। उनले भनिन्, ‘यहाँ क्षतिको अहिले यकिन गर्न सकिएको छैन। सबै तथ्यांक पनि संकलन गर्न सकिएको छैन। बाढीले ठूलो क्षति गरेको छ। विस्थापित भएकाहरुलाई अहिले हामीले टेन्टमा राखिरहेका छौं। सुरक्षाकर्मी, जनप्रतिनिधि सबै राहत तथा उद्धारमा खटिएका छन्।’

प्रजिअ पोखरेलले बाढी पीडितलाई तत्काल राहत तथा उद्धार आवश्यक रहेकाले सोही अनुसार काम भइरहेको बताए। उनले भने, ‘पीडितहरुलाई दुई किसिमले सहयोग गर्नुपर्ने हुन्छ। तत्कालका लागि राहत तथा उद्धार हो भने दीर्घकालिन रुपमा पुनःस्थापनाको विषय हो। अहिले राहत तथा उद्धारमा केन्द्रित छौं।’ उनका अनुसार संघीय गृह मन्त्रालयले टेन्ट तथा औषधिहरु पठाएको छ भने प्रदेश सरकारले खाद्यन्न पठाएको छ।

प्रजिअ पोखरेलले अन्य क्षेत्रबाट राहत वितरण भएको आफूलाई जानकारी नभएको बताए। उनले भने, ‘यदि कसैले राहत वितरण गर्छ भने जिल्ला विपद समन्वय समितिसँग समन्वय गर्नुपर्छ। कसैले आफूखुशी राहत वितरण गरेको छ भने त्यो राम्रो होइन। कुन क्षेत्रमा के आवश्यक छ भन्ने सूचना हामीसँग छ। आफूखुशी गरिने राहत वितरणले समस्याको समाधान गर्दैन।’ उनले प्रचारका लागि राहत वितरणको फोटो खिचाउनेहरु पनि रहेको बताए।

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि सरकारका तीनवटा सुरक्षा निकाय, सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। स्थानीय जनप्रतिनिधिहरु पनि राहत तथा उद्धारमा खटिएका छन्। नेपाली सेनाका प्रवक्ता सन्तोषवल्भव पौडेलले विहीबार सिन्धुपाल्चोकका लागि राहत सामाग्री लिएर सेनाको हेलिकोप्टरले काठमाडौंबाट तीन चक्कर गरेको जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘गृह मन्त्रालय तथा विभिन्न संघसंस्थाबाट प्राप्त राहत सामाग्री लिएर तीन पटक हेलिकोप्टर सिन्धुपाल्चोक गएको छ।’ उनका अनुसार चनौटे, किउल, तिम्बु र मेलम्चीमा सेनाले विस्थापितहरुका लागि अस्थायी टेन्ट बनाएको छ। करिब १२ जना विस्थापित भएको सेनाले जनाएको छ। सेनाले विहीबार १ चिनियाँ नागरिकसहित ४ जनाको उद्धार गरेको छ।

उता सेनाले मनाङका बाढी पीडितका लागि पनि पोखराबाट राहत सामाग्री पुर्याएको छ। सेनाले मनाङको ठोसे गाउँपालिकाको तालमा अलपत्र परेका २४ जनाको उद्धार गरेको छ। यस्तै चामेमा ११ जनाको उद्धार गरेको छ। मर्स्याङ्दी नदीमा आएको बाढीले ताल गाउँलाई सम्पर्कविहीन बनाइदिएपछि सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको हो। मनाङमा करिब ६ सय जना विस्थापित भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *