किन आयो मेलम्चीमा विध्वंश गर्ने बाढी ?

डिसी नेपाल
३ असार २०७८ २०:०१

काठमाडौं। मंगलबार साँझबाट सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा मेलम्ची नदीमा बाढी आएको थियो। सो बाढीले मंगलबार राति हेलम्बुदेखि मेलम्ची बजारसम्म नदी किनाराका वस्तीहरुलाई तहसनहस पार्यो। यो बाढीको प्रभाव दोलालघाटसम्म देखिएको छ।

नदीभन्दा अलि टाढै रहेको मेलम्ची बजार नै यो बाढीले सखाप पारिदिएपछि आकलनभन्दा बाहिरको प्राकृतिक प्रकोप व्यहोर्नु परेको छ। भूबनोट र २०७२ को भूकम्पका कारण सिन्धुपाल्चोक पहिरोको उच्च जोखिममा रहेको जिल्ला हो। तर, मेलम्ची भने यसरी जोखिमपूर्ण भनिएको स्थान होइन। तर पनि किन यसरी प्राकृतिक प्रकोपको चपेटामा पर्यो ? अहिले यो प्रश्न जता पनि उठिरहेको छ। यदि नदी किनारका वस्तीहरु यसरी जोखिममा पर्ने हुन् भने नेपालमा धेरै ठाउँहरुले प्राकृतिक विपत्तिको प्रतिक्षा गरेको हुनेछ।

यस कारण मेलम्ची बाढीको कारण खोजी भइरहेका बेला विहीबार सरकारी नियकाले यसको तत्कालिन कारणबारे जानकारी दिएका छन्। ऊर्जा मन्त्रालय अन्तर्गतको हाइड्रोलोजी तथा मेट्रोलोजी विभागले विहीबार एक तथ्यांक सार्वजनिक गर्दै बाढी आउनुको मूख्य कारण हेलम्बुभन्दा माथि मेलम्ची नदीको मुहान नजिक पहिरो गरेको र सो पहिरोले केही समय नदी थुनिएको बताएको छ। सो पहिरोका कारण नदी थुनिदा ड्याम बनेको र सो ड्याम एक्कासी फुट्दा मेलम्ची तथा इन्द्रावती नदीमा लेदोसहितको भिषण बाढी आएको जनाएको छ।

पहिरो गरेको समयमा केही समय मेलम्ची नदीमा पानीको बहाब घटेकोसमेत विभागले जनाएको छ। तर, ड्याम फुटेपछि भने बाढी आएको बताएको छ। सोही समयमा भारी वर्षा भएकाले पनि बाढी झन ठूलो भएको विभागले जनाएको छ। विभागले दिएको जानकारी अनुसार यदि नदीको वहाब कम भएको समयमा सही सूचना पाउन सकिएको भए मानवीय क्षति कम हुन सक्ने देखिएको छ।

त्यसो त सूचनाकै कारण मेलम्ची बजारमा ठूलो मानवीय क्षति हुन पाएन। तर, पनि सो बाढीमा परी विहीबार साँझसम्म ३ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने अझै १३ जना सम्पर्कविहीन छन्। र १ हजारभन्दा धेरे विस्थापित भएका छन्। २७२ घर परिवार प्रभाभित भएका छन्। सम्पत्तिको क्षतिको विवरण भने अझै यनिक भइसकेको छैन। बाढीले ९ वटा पुलसमेत बगाउँदा हेलम्बु क्षेत्र सडक सञ्जालबाट सम्पर्कविच्छेद भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *