कविता : शहर झरेकाे छु – Dcnepal

कविता : शहर झरेकाे छु

थाहा छैन ?
एउटा यात्रा नटुङ्गिनु
अनि तिमी भेट्नु
संयोग नै होला।

यात्राको अनन्तमा लहरिनु
नियती त होइन।
तर, सुमधुर बनाउन
तिम्रो भेट खास हुने नै भयो।

भरखरै गाउँ छोडेर
अभावहरु पूर्न
आफ्नो बचेखुचेको
आकांक्षा टाल्न
जोरिपारीको
अहंकार ढाल्न
निस्तो ढिडो रुखो लागेर
शहर हुइकिएको

अनायासै तिम्रो छायाँमा
अल्झिनु हुन्न थियो।

तिम्रो तृष्णा भन्दा
गरीविको पीडाले
झोक्राएको
रित्तो गाग्री भर्न
लेकबेसि गर्न
टेकेको
बिस्कुन सुके झै
तालोको रङ्ग उडेको
आफ्नै सपना हराएर
अरुको रतेउली बिसाएको
मान्छे

आज तिम्रो छाया भन्दा
पर पुग्नुछ मलाइ
गन्तव्य नपुग्दै
अल्झिने मन भएन
तिम्रो मनोरम तरङ्गबाट
मलाइ सुस्ताउन देउ

अन्तस्करण खुम्च्याउनु पर्छ ।
एउटा सपनाको मृत्युको
कारण नबन
केही आफ्ना रहर नमारी
अर्को रहर जन्मिदैन।
मेरा बाध्यता र बिबस्ताको
भारी कसिलो छ ।
मलाइ जान देउ
बादल पारीको
जहाँ
आजको सपना मारेर
भोलिको सपना उमार्नुछ।
कतै हराए भने
बिलाए भने
अल्झिए भने

चेतनाको भार लाग्छ ।
मेरो गाउँ अचेल
बाढीले, भुकम्पले
उजाडिएको छ।

रम्न नसकेर
शहर झरेको छु।
मेरो हराएको वर्तमान खोज्न।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो