कोरोनाले ल्याएकाे गहिरो दु:ख (Grief) अर्थात् शोकमुक्तिको लागि वैदिक परामर्श

डिसी नेपाल
५ असार २०७८ ९:२८

तत: शोचत मा यूयं पर चात्मानमेव च- तेसैले तपाईंहरूले सधैं शोकग्रस्त भएर आँफुलाई क्लेश ग्रस्त न वनाउँ। (श्रीमद्भागवत ७/२/६०)
अमेरिकन साइकोलोजिकल एसोसिएसन (APA) ले कोभिडलाई “सङ्कट तथा मनोबैज्ञानिक समस्या” भन्दै “चिन्ता, तनाव, उदासी, सामूहिक शोक तथा व्यक्तिगत शोक”आदि मानसिक समस्याहरू देखिन्छन्” भनेको छ।

प्रसिद्ध मनोबैज्ञानिक सेरी कोर्मियरले “महत्वपूर्ण हुन्छ कि हामीले जुनसुकै बतमा सामूहिक तथा व्यक्तिगत शोकमा पर्न सक्छौं भनेर आँफैलाई तयार गर्नु उचित हुन्छ।” १ सत्य यही हो। कोभिडका कारणले व्यक्तिगत तथा समुहिक रूपमा आफन्त गुमाउने वा आर्थिक, सामाजिक, सांस्कृतिक क्रियाकलापहरू गुमाउने बाध्यताका बीचमा हामी संपूर्ण मान्छे फालिएका छौँ।

कोभिडको महामारीले धेरैको घरमा शोक (Grief) निम्तिएको छ। विगतका घटना, व्यक्ति तथा भावनाहरूलाई सम्झेर मानसिक रूपमा प्रकट हुने प्रतिकुल भावना नै शोक हो। शोक सधैं विगतसँग (Past) हुन्छ। विश्वव्यापी कोभिड-महामारीले शोक, चिन्ता तथा डर तिनैबटा मनोबैज्ञानिक समस्याहरूलाई मान्छेको मनमा जन्माएको, हुर्काएको र केहीमा निकै आक्रामक बनाएको छ।

नेपालीमा Grief  शब्दका अनेकौं अर्थ छन्। ती मध्ये शोक, पिरलो, खेद, व्यथा, विषाद, क्लेश, शूल, विपत्ति र गहिरो दु:ख जता पर्यायवाची शब्दहरू शब्दकोशमा उल्लेख छन्। उपरोक्त सबै शब्दले Grief  लाई प्रतिनिधित्व गर्छन् तर मैले भने शोक र गहिरो दु:ख यी दुई शब्दहरूलाई आफ्नो लेखमा प्रयोग गरेको छु।यी मध्ये वा यी वाहेक यदि कुनै शब्द पर्यायवाची छ भने मनोबैज्ञानिकहरूले शब्दकोश बनाएर सुनिश्चित गर्नुपर्छ।

साच्चिकै भन्ने हो भने हामीमध्ये सबै शोक, चिन्ता वा डरले ग्रस्त छौँ ।शोक विगत (past) लागि हुन्छ ।चिन्ता वर्तमानको (present) लागि हुन्छ, भने डर चाहिं भविष्य (future) का लागि हुन्छ। वर्तमान कसरी वित्ने हो भन्ने डर र भविष्यमा अझैं केकस्तो भोग्नु पर्ने हो भन्ने चिन्ता हामी सबैमा छ।

शोक (grief) बितिसकेको घटना वारे हाम्रो मनमा रहेको स्मरणमा (सम्झना)मा आधारित हुन्छ। कोभिड महामारीले गर्दा हामी मध्ये केहीले आफन्त गुमाएका छौँ। कसैले प्रिय पत्नी, कसैले पति, कसैले एकमात्र सन्तान, कसैले आमा-वुवा त कसैले आफन्त वा मित्र गुमाएका छौँ।प्रियजन गुमाउनुको पीडा गुमाउँनेहरूलाई थाहा हुन्छ। प्रियजन नगुमाएकालाई कथाझैं लाग्छ तर मानसिक पीडाले यहाँ पनि न्युनाधिक प्रभाव पार्छ ।आजका मितिसम्म हामी नेपालीले ८३०५ जना गुमाएका छौँ।

मान्छे भावनाप्रधान प्राणी हो र भावना मनका विषय हुन्। प्रकृतिले मान्छेलाई सम्झन सक्ने, जान्न-बुझ्न सक्ने र बुझाइहरूलाई भाषा अथवा सङ्केतका माध्यमबाट अर्कोमा पुर्‍ याउने सक्ने भएकाले अद्भूत छ। शोक पनि सम्झना, भोगाइ, बुझाइ र गराइका आधारमा झाँगिने गर्छ। शोक नपरेको संसारमा कुनै मान्छे हुँदैन।अशोक केवल स-साना बालबालिका, ज्ञानी वा चेतना गुमाएका मान्छेहरू हुन्छन्।

विश्वमा सबैभन्दा गहिरो शोक (Grief) आफन्त गुमाउँदा पर्छ भन्ने मनोबैज्ञानिकहरूको खोज छ। नेपालीमा  “फलानालाई शोक परेको छ” भनेर हामीले शोकाकुल अवस्था भएको व्यक्ति वा परिवारलाई मान्यता दिन्छौं।

शोक पनि एउटा मानसिक अवस्था हो। यो सबैमा धेरथोर हुन्छ नै। यो पूर्णनकारात्मक भावना होइन। शोकले आफ्नो विगतसँग प्रेम गर्न प्रेरणा प्राप्त हुन्छ र भविष्यप्रति जागरुक रहेर कर्म गर्न सचेत गर्छ। विश्वका ५% मानिसहरूमा शोकका लक्षणहरू देखिन्छन् जुन लक्षणहरूको मनोबैज्ञानिक तथा मनोचिकित्सकले परामर्श वा औषधि सेवन गराएर उपचार गर्नुपर्छ|

हाम्रो सामाजिक तथा सांस्कृतिक जीवनमा आफन्त गुमाएर शोकाकुल भएको परिवारमा जाँदा “भेटी”लिएर जाने चलन छ। असलमा, यो भेटी “भेट्ने र शोकमा एकआबद्धता जनाउने सांस्कृतिक प्रचलन हो ।यो चलनले शोकाकुल परिवारसंग एकबद्धता जनाउँछ।

शोक केवल आफन्त गुमाउँदा हुन्छ भन्ने होइन। धनसम्पति गुमाउँदा, शरीरको कुनै अंग गुम्दा, वासस्थान गुम्दा तथा प्रेम गर्ने व्यक्ति हराउँदा पनि हुन्छ। यी मध्ये सवैभन्दा गहिरो दु:ख (grief) आफन्त गुमाउँदा नै हुन्छ। जस्तोसुकै शोक समयले निको बनाउँछ तर केही व्यक्तिहरूलाई शोकले निकै ग्रस्त पार्छ।

अत्याधिक शोकका कारणले आफ्नै स्वास्थ्यमा नराम्रो असर देखिन्छ ।दैनिक व्यबहारमा परिवर्तन हुन्छ र आफू र आफ्ना परिवारको समेत दैनिक प्रभावित हुन्छ ।घरव्यबहार लथालिंग हुनसक्छ|

मैले भनिसकें शोक पनि एउटा मानसिक अवस्था हो। यो सबैमा धेरथोर हुन्छ नै। यो पूर्णनकारात्मक भावना होइन। शोकले आफ्नो विगतसँग प्रेम गर्न प्रेरणा प्राप्त हुन्छ र भविष्यप्रति जागरुक रहेर कर्म गर्न सचेत गर्छ। विश्वका ५% मानिसहरूमा शोकका लक्षणहरू देखिन्छन् जुन लक्षणहरूको मनोबैज्ञानिक तथा मनोचिकित्सकले परामर्श वा औषधि सेवन गराएर उपचार गर्नुपर्छ|

शोक-परामर्शको इतिहास वैदिक संस्कृतिसँग जोडिएको छ। कश्यप ऋषि र उनकी पत्नी दितीका दुईवटा पराक्रमी सन्तान थिए। जेठो हिरण्यकशिपु र कान्छो हिरण्याक्ष थियो। यी दुवै असुर थिए। विष्णुले वराहको रूप धारण गरेर हिरण्याक्षलाई मारे। हिरण्याक्षको मृत्युले तिनको परिवारमा गहिरो शोक भयो ।परिवारका सम्पूर्ण सदस्यसहित आफन्तहरू पनि गहिरो शोकमा डुवे।

यो देखेर भोगेर परिवारको जेठो छोरा हिरण्यकसिपु शोक मनाउँ गरिरहेका सदस्यहरूका बीचमा पुगे। त्यहाँ उनले आफ्नी बुहारीसहित परिवारका सबै सदस्य र आफन्तहरूलाई सम्बोधन गर्दै यमराजले युद्धमा उशीनरेश सुयज्ञ मारिएपछि निजको विरहमा अत्यन्त गहिरो शोक गरिरहेका परिवारलाई सम्वोधन गरेको कथा सुनाएका छन्।

श्रीमद्भागवतको सातौं स्कन्धको दोश्रो अध्यायमा उपरोक्त संबाद र त्यसकाे विषयवस्तु पढ्न सकिन्छ। शोक-परामर्शको इतिहासमा यो पहिलो शोक-परामर्शको अभ्यास हो भन्ने मेरो ठोकुवा छ। हिरण्यकसिपुले यहाँ कथा-विधिको प्रयोग गरेर शोकाकुल परिवारलाई शोक-मुक्त गरेका छन्। संवादपछि सम्पूर्ण परिवारका सदस्यहरू पुन: आ-आफ्नो काममा लागेका छन्।

ऋग्वेदको १० सौं मण्डलमा शरीरको अन्तिम गति भनेकै खरानी हुनु हो तेसैले ईश्वरको स्मरण गर, वितेका कुराहरूलाई सम्झेर शोकाकुल न बन भन्ने ईशावास्योपनिषदको १७ मन्त्रमा समेत प्राकृतिक घटनाहरूका लागि शोक नगर्न वरू ॐकारको स्मरण गर्न प्रेरित गरिएको छ।

विद्वान हिरण्यकशिपुले उपरोक्त परम्पराको अनुशरण गर्दै शोकाकुलहरूलाई परामर्श प्रदान गरेका छन्। हो, आधुनिक विश्वबिद्यालयहरूमा पढ्ने/पढाउँने विद्वानहरूले विकसित गरेका “थेउरी” झैं (अंग्रेजी भाषामा इमोशनहरू सुन्न, पढ्न र बुझ्न अभ्यस्त भएका र विदेशीहरूले विकसित गरेका सिद्धान्तलाई मात्र सिद्धान्त ठान्नेहरूका लागि) सहज नहोला तर शोक-परामर्शका पिता हिरण्यकशिपु नै हुन्।

हिरण्यकशिपु आफ्नी आमा र वुहारीलाई भन्छन् “बारम्बार वीरगति प्राप्त गरेका आफ्नो छोरा र पतिलाई संझेर किन दुखी हुन्छौं ? माटोले निर्मित भएका सम्पूर्ण प्राणीहरू आफ्नो कर्मअनुसार मर्छन् र जीवित रहन्छन् ।आत्मा अजरअमर छ, शुद्ध छ, सबैतिर व्याप्त छ, सबै थोक बुझ्न सक्ने छ।

आत्माले शरीरलाई स्वीकार्नु भनेको उसको लीलामात्र हो। अव्यय आत्माले शरीर छोडेर जाँदा शोक गर्नु स्वाभाविक हो तर शोक गर्दैमा कोही पनि फर्केर आउँदैन।असलमा, उत्पन्न हुनु, नाश हुनु, धेरै प्रकारका स्मृतिहरू सम्झेर आफ्नो विवेकछोडेर शोकले भरिनु स्वाभाविक हो तर सधैं चिन्ता गरेर कसैको भलो हुँदैन, आफ्नै पनि भलो हुँदैन (श्रीमद्भागवत ७/२/२०-३०) त्यसैले शोक गरेर कुनै प्रकारको समस्या समाधान हुँदैन।

“प्राचीन समयमा उसिनर नरेश सुयज्ञ युद्धमा मारिएपछि निजका श्रीमतीहरू निकै शोकग्रस्त भएर ठूलो विलाप गर्न थाले। यो देखेर यमराजले बालकको रूप ग्रहण गरेर शोकाकुलहरूका बीचमा आए र यसो भन्न थाले “ओहो, यो संसार कस्तो अचम्मको रहेछ। हरेकपल हरेकक्षण जीवहरू नष्ट भइरहेको देखेर, सुनेर र आफू पनि भोलि माटोमा मिल्ने हो भनेर बुझ्दा बुझ्दै पनि मान्छेहरू शोकग्रस्त भएर विलाप गर्छन्।म सानो बालक छु र मलाई मेरो वुवाआमाले सधैंका लागि त्यागिदिए तर मलाई यसको कुनै शोक छैन।”

“मेरो प्रारब्ध बलियो हुँदा र मेरो आयु शेषरहेसम्म म श्याल, हुँडारआदि जङ्गली जनवारहरूबाट सुरक्षित रहने छु। शरीरको भोग पूरा भएपछि मृत्युले भान्छाघरमा पनि छोड्दैन र शरीरको भोग बाँकी छ भने कालले केही पनि गर्न सक्दैन। हे रानी हो ? के तिमीहरूले विलाप गर्दैमा, शोकाकुल हुँदैमा यो सुयज्ञ फर्केर आउँछ र ? अहँ, कहिले पनि आउनेवाला छैन। बरू तिमीहरूले नै आफूलाई दु:ख दिएका छौँ |”

“मृत्यु र जीवन अभिन्न तत्थ्य हुन्।आगो र दाउँरा, शरीर र प्राण, आकाश र त्यसको सर्वव्यापकता जसरी अभिन्न छन् त्यसैगरी जीवन र मृत्यु अभिन्न छन्। जतिधेरै वियोगका विषयलाई सम्झीसम्झी शोकाकुल हुन्छौं त्यत्तित्यति तिमीहरू मोहमा फँस्ने छौँ र क्लेशग्रस्त हुनेछौँ। त्यसैले नित्य-अनित्य स्वभाव रहेको यो संसारका गतिहरूलाई आत्माले स्वीकार गर शोकमुक्त भएर आफ्ना पतिको संस्कार गर।”

“इतिहास वनिसकेका घटनाहरूमा लिप्त हुँदा आफ्नो नाश हुन्छ। एउटा सुगाको परिवार थियो। एक दिन सुगा-पत्नी शिकारीको जालमा परी।यो देखेर सुगा निकै शोकग्रस्त र चिन्तातुर भयो। उसले विलाप गर्‍ याे  “मेरी पत्नी मलाई निकै माया गर्छिन्, छोराछोरीहरूप्रति उनको माया अगाध छ, उनी बेगर म कसरी बाँच्न सक्छु। प्राणप्यारी ! तिमी बाहेक मेरो र छोराछोरीको अरू कोही छैन।”

एसरी शोकग्रस्त भएर विलाप गरिरहेको अवस्थामा सुगाले आफ्नो सुरक्षाको महत्व पनि बिर्सन पुग्यो र शिकारीले बाण हानेर तेसलाई पनि मार्‍याे। हे रानी हो! असलमा, सुगा मर्न चाहेको थिएन तर शोकले होस् गुमाएपछि ऊ पनि शिकारीको आहारा बन्न पुग्यो।

सुगाको मूर्खतापूर्ण शोकले गर्दा उसका बालबालिका समेत अभिभावक विहिन भएर मारिए ।विचार गरेर हेर त, के तिमीले शयवर्षसम्म विलाप गर्दा पनि सुयज्ञ जीवित होला त? बरू तिमीसबै मासिने छौँ ।तेसैले वास्तविक जीवनतिर फर्क भावनालाई बुद्धिले नियन्त्रण गर ।तिम्रो बिलाप र शोकले निकास दिने छैन|”

“हिरण्यकशिपु भन्छन्, “एति भनेर यमराज त्यही बिलाए। विश्वको प्राकृतिक वास्तविकता बुझेर ती रानीहरूले आफ्ना पति सुयज्ञको दाहसंस्कार गरे। त्यसैले हामीले पनि अब आफ्नो छोरा, भाई, पति, मित्र तथा राजाका रूपमा हाम्रो बीचमा रहेका तर अहिले इतिहास बनेका हिरण्याक्षको वारेमा शोक नगरौं। बरू, निजको आत्माको शान्तिको लागि विष्णुको अन्त्य गर्ने उद्योगमा लागि परौं|” श्रीमद्भागवतले भन्छ, “हिरण्यकशिपुका यी बचनहरू सुनेर र बुझेर दितीआदि राजमाता र रानीहरूले तुरुन्त शोकपीर त्यागेर आफ्नो प्राकृतिक व्यबहारमा फर्किए|”

“श्रीमद्भागवतमा अर्को प्रसंग पनि छ। राजा चित्रकेतुका कुनै सन्तान थिएनन्।ऋषि अंगिराको आशिर्वादले छोरा जन्म्यो तर राजा चित्रकेतुका एकमात्र छोरासंग सौतेली रानीहरूले डाहाका कारण गर्दा विष दिएर मारिदिए। राजाले एकमात्र छोराको मृत्युका कारण सबै राजकाज तथा लोकब्यबहार छोडेर शोकग्रस्त भए। तेसै बीच नारदमुनि तेहा आए।

राजाको शोक देखेर उनले छोराको जीवात्मालाई तेहा बोलाएर “तिम्रा बाआमा निकै शोकग्रस्त छन्, तिमी आफ्नो शरीरमा फर्केर आफ्ना आमावुवालाई सुखी बनाउँ” भन्ने आदेश दिए।

तर जीवात्माले भन्यो “मैले मेरो कर्मअनुसारको शरीर प्राप्त गरेको थिए ।मैले त्यो शरीरलाई भोगेर छोडिसकेको छु ।रह्यो कुरा आमावुवालाई खुसी पार्ने! कर्मअनुसार यो जन्ममा मैले चित्रकेतुको घरमा पुत्र बनेर जन्म लिएको थिए ।एसैगरी कुनै अर्को जन्ममा यो चित्रकेतु मेरो छोरा बनेर जन्मियो होला ।तेसैले यी चित्रकेतु दम्पतिले शोकाकुल हुनुको कुनै औचित्य नै छैन।

जन्म, मृत्यु, बुढ्यौली र रोग संसारको वास्तविकता हुन्।(श्रीमद्भागवत ६/१५ अध्याय) कसैको मृत्यु, धनसम्पत्तिको नाश, रूपगुणआदिको विनाशका कारण सधैं शोक गरेर बस्नुको कुनै औचित्य छैन। बरू, जन्म-मृत्यु, लाभहानि, उदासीनताआदि वास्तविकताहरूलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ|”

हाल विश्वभरी कोरोनाको कहर चलिरहेको छ ।वैदिक मान्यताअनुसार आत्मा अजर-अमर भएको हुँदै शरीरको नाश हुँदैमा जीवात्माको अस्तित्व विनाश हुँदैन ।गरुड-पुराणका अनुसार “शोकाकुल भएर बगाएका हरेक आँशुका बुँदहरू जीवात्माले पिउनुपर्छ। त्यसैले जीवात्माले कर्मभोग पूरा गरेको स्वीकार गरेर शास्त्रीय कर्महरू पूरा गर्नुपर्छ।घरव्यबहार छोडेर समस्याको समाधान हुँदैन वरू आफ्नै शरीर, परिवार तथा आफन्तमा पीडा थपिन्छ |

त्यसैले शोकलाई वास्तविक रूपमा स्वीकार गरौँ तर लामो समयसम्म यसमा आफुलाई अल्झाएर न राखौं ।अलिअलि गरेर घरव्यबहारमा लागौं। परिवार र आफन्तसंग  खुसीका क्षणहरू बिताउने प्रयन्त गरौँ। आत्माको अजरअमरतालाई स्वीकार गरेर योग, ध्यान, भक्तिआदिका माध्यमबाट शारीरिक, मानसिक तथा आध्यात्मिक रूपमा स्वस्थ्य रहने प्रयन्त गरौँ। तीर्थाटन गरौँ, सत्संग सुनौं, सेवाकार्यमा लागौं।असल कुरा सुनौ, असल कुरा सुनाऔं, असल कुरा स्मरण गरौँ, मान्यजनहरूको सेवा गरौँ।भगवान्का मूर्तिहरूको अर्चना गरौँ, तिनको वन्दना गरौँ, भगवान् प्रति पूर्ण समर्पित भएर अहङ्कारको त्याग गरौँ र अन्त्यमा आफ्ना सम्पूर्ण कर्महरू भगवानमा समर्पित गरेर पूर्णतया निरपेक्ष बनौं।(श्रीमद्भागवत ७/१५/२३) यसो गर्दा सबै खाले शोकबाट मुक्ति मिल्ने छ र भगवानसंग तन्मयता प्राप्त हुने छ ।यसरी हरेक व्यक्ति शोक मुक्त भएर सरल जीवन व्यतीत गर्न सफल हुने छ।

सन्दर्भ सूचि
१. Grief and COVID-19: Mourning our bygone lives (apa.org)
२. श्रीमद्भागवतम्
३. इशावास्योपनिषद्
४. ऋग्वेद
५. धर्म्मपद




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *