एउटा खबरले ४ दिनमा भारतीय व्यापारीको १३ अर्ब डलर डुब्यो

डिसी नेपाल
५ असार २०७८ १६:२३

काठमाडौं। भारतीय व्यापारी गौतम अडानीले एक हप्तामा १३ अर्ब डलरभन्दा धेरै रकम गुमाएका छन् । अडानी ग्रुपको शेयरमा भारी गिरावट आएपछि अब गौतम अडानी एसियाका दोस्रो धनी व्यक्ति पनि रहेनन् । अघिल्लो हप्तासम्म एसियाका धनीहरुको सूचीमा मुकेश अम्बानीपछि दोस्रो स्थानमा रहेका अडानी यो हप्ता तेस्रो स्थानमा झरेका छन् । उनले ४ दिनको अवधिमा १३ अर्ब डलर गुमाएको हिन्दूस्तान टाइम्सले जनाएको छ ।

फोर्ब्सको रियल टाइम बिलियनेयर इन्डेक्समा नेपाली समयअनुसार शनिबार अपरान्ह ४ बजे अडानीको कूल सम्पत्ति ६२.१ बिलियन डलर छ । यो हप्ताको सुरुवातमा उनको सम्पत्ति ७६.७ बिलियन डलर थियो । अर्थात पूरै हप्तामा उनले १५ अर्ब डलरभन्दा धेरै गुमाइसकेका छन् । अडानीको सम्पत्तिमा भारी गिरावटसँग चीनका अर्बपति झोङ शानशान एसियाको धनीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् । रियल टाइम इन्डेक्समा उनको सम्पत्ति ७०.८ बिलियन डलर छ ।

गएको सोमबार अडानी ग्रुपका कम्पनीहरुको शेयरहोल्डर प्रमुख विदेशी लगानी होल्डिङ कम्पनीहरुको खाता फ्रिज गरिएको खबर बाहिरिएपछि अडानी ग्रुपका कम्पनीको शेयर मूल्य घट्न थालेको थियो । पछिल्ला ५ ट्रेडिङ सेसनमा अडानी ट्रान्समिसन लि. अडानी टोटल ग्यास लि. र अडानी पावर लिमिटेडका शेयरमा २० प्रतिशतभन्दा बढीको गिरावट आएको छ । स्पेसन इकोनोमिक जोन र अडानी ग्रिन इनर्जी लि. को शेयरमा १० प्रतिशतभन्दा बढीको गिरावट आएको छ । अडानी इन्टरप्राइजेन लि.को शेयर पनि ६.६४ प्रतिशतले घटेको छ ।

यो हप्ता यी कम्पनीहरुको संयुक्त बजार मूल्य ७६.७ बिलियन डलरबाट ६३.५ बिलियन डलरमा झरेको छ । एक मिडिया रिपोर्टमा भारतको नेशनल सेक्युरिटी डिपोजिटरी लि. ले अडानी ग्रुपमा लगानी गरेका तीन विदेशी पोर्टफोलियो लगानीकर्ताको खाता फ्रिज गरेको दावी गरिएको थियो । यी तीन पोर्टफोलियो लगानीकर्ता अडानी ग्रुपका ४ कम्पनीमा प्रमुख लगानीकर्ता हुन् । समाचारमा डिपोजिटरीको वेबसाइटलाई उद्धृत गर्दै अल्बुला इन्भेस्टमेन्ट फण्ड, क्रेस्टा फण्ड र एपीएमएस इन्भेस्टमेन्ट फण्डको खाता मे ३१ मा वा त्योभन्दा पहिल्यै फ्रिज गरिएको दावी गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *