अमेरिका–मेक्सिको सीमानजिकै भीषण हिंसा, १८ को मृत्यु, डोनाल्ड ट्रम्प जाने तयारी गर्दैछन्

डिसी नेपाल
७ असार २०७८ १३:३८

काठमाडौं। अमेरिका मेक्सिको सीमा नजिकै मेक्सिकोको रेनोसा सहरमा भीषण हिंसा हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । कैयौं गाडीमा सवार आक्रमणकारीहरुले आम नागरिकहरुमाथि अन्धाधुन्ध गोली चलाएका हुन् । यो हिंस्रक घटनामा कम्तीमा १८ जना मारिएको बताइएको छ । समाचार एजेन्सी एपीका अनुसार हतियारधारीहरु गाडीमा चढेका थिए । उनीहरुले त्यहाँ भएका आम नागरिकहरुमाथि गोली बर्साउन सुरु गरेका थिए ।

सुरक्षा बलका अनुसार यो घटनापछि त्यहाँ भागदौड भएको थियो । सुरक्षा बलले ४ जना संदिग्धलाई मारेका छन् । मारिने ४ जनामध्ये बोर्डर ब्रिज नजिकै मारिने व्यक्ति पनि छन् । यो आक्रमण शनिबार दिउँसो सुरु भएको थियो । सामाजिक संजालमा जारी तस्वीरहरुमा रेनोसाका गल्लीहरुमा लाश छरिएका देखिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू सीमा क्षेत्र जाने घोषणा गरेको एक हप्ता नबित्दै यो हिंसा भएको हो ।

पूर्वराष्ट्रपति ट्रम्पले केही दिनअघि अमेरिका मेक्सिको सीमा क्षेत्रमा आफ्नो कार्यकालमा बनाउन सुरु गरिएका पर्खालको निरीक्षणका लागि जाने घोषणा गरेका थिए । ट्रम्पले आफू टेक्सासका गभर्नर ग्रेग एबोटको साथमा यो महिनाको अन्तिममा सीमा क्षेत्र जाने बताएका थिए । यी दुवैले सीमा पार गरेर अमेरिका प्रवेश गर्ने आप्रवासीको संख्या अत्याधिक भएको भन्दै बाइडेन सरकारको आलोचना गरेलगत्तै ट्रम्पले यो घोषणा गरेका थिए ।

हिंसापछि ट्रम्पको भ्रमण के हुन्छ भन्ने प्रस्ट छैन । रेनोसा मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरुको लागि मुख्य क्रसिङ प्वाइन्ट हो । रेनोसाका मेयर माकी एस्तेर अर्टिज डोमिंगुएजले ट्वीटरमा नागरिकको सुरक्षाको माग गरेका छन् । तमौलीपासका गभर्नर फ्रान्सिस्को ग्रेसिया काबेजा डे वाकाले आइतबार यो घटनाको निन्दा गर्दै मारिएका नागरिकप्रति समवेदना व्यक्त गरे । उनले आक्रमणको घटनाको पछाडिको उद्देश्यको जाँच गराइने बताए ।

यो क्षेत्रमा हुने धेरैजसो हिंसाका घटना गल्फ कार्टेलसँग सम्बन्धित हुन्छन् । यद्यपि यो समूह विभाजित पनि भएको छ । गोलीबारीको घटनापछि मेक्सिकोको सेना, नेशनल गार्ड, राज्य पुलिस र अन्य एजेन्सी घटनास्थल गएका छन् । अधिकारीहरुले २ महिलाको अपहरण गरेर कारमा लैजान लागेका एक व्यक्तिलाई गिरफ्तार गरिएको बताएका छन् । तीन गाडीहरु नियन्त्रणमा लिइएको पनि अधिकारीहरुले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *