सार्कराष्ट्रमा कुन देशले कति खोप लगायो, नेपालमा तेस्रो लहरको सम्भावना कति?

तर्कबहादुर थापा
११ असार २०७८ ११:३८

काठमाडौं । विश्वमा कोरोना विरुद्धको खोपको विकास भएपछि पनि कोरोनाको रोकथाम हुन सकेको छैन। कोरोनाको पहिलो लहरमा अति प्रभावित भएको अमेरिकामा हालसम्म ५१ प्रतिशत जनसंख्यालाई खोप लगाइएको छ। कोरोनाको सुरुवात भएको चीनले पनि आफ्नो सम्पूर्ण जनसंख्याको ४३ प्रतिशतलाई खोप लगाएको छ।

महामारीले उग्र रुप लिएको इटालीले ५३ प्रतिशत बढी जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाएको छ। विषेश गरी को–भ्याक्स, अक्सोपोर्ड, एस्टाजीना लगायतका खोपहरुलाई विश्व स्वास्थ्य संगठनले प्रयोगका लागि अनुमति दिएको छ।

सार्कराष्ट्रहरुमा खोप

सार्कराष्ट्रहरुमा कोरोना भाइरस विरुद्धको खोप सबै भन्दा बढी भुटानले लगाएको छ। हालसम्म भुटानले ६० प्रतिशत बढीलाई कोरोना विरुद्धको खोप लगाएको छ।

माल्दिभ्सले पनि करिव ६० प्रतिशतको हाराहारी जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाएको छ। सार्कराष्ट्रहरुमा खोप भारत तेस्रो स्थानमा छ। सबै भन्दा बढी जनसंख्या भएको भारतले हालसम्म १७ ंप्रतिशतलाई खोप लगाएको छ। यस्तै श्रीलंकाले पनि ११ प्रतिशत जनसंख्यालाई कोरोनाको खोप लगाएको छ।

भारतपछि खोप अभियान संचालन गरे पनि नेपालले हालसम्म करिव ८ प्रतिशत जनसंख्यालाई मात्र खोप लगाएको उक्त तथ्याङ्कमा उल्लेख गरिएको छ। नेपालपछि पाकिस्तान र अन्तमा सबैभन्दा कम बंगलादेशले आफ्ना नागरिकलाई खोप लगाएको छ।

नेपालमा तेस्राे लहरको सम्भावना कति ?

नेपालमा कोरोनाले आफ्नो रुप परिवर्तन गर्नुमा भारत पनि कारक बनेको देखिन्छ। खुल्ला सीमा भएका कारण भारतमा कोरोनाले आफूलाई जसरी परिस्कृत गर्दै गएको हुन्छ त्यसको प्रभाव नेपालमा पनि पर्दै आएको देखिन्छ। सिभिल अस्पतालका डा. सुमन मरहठ्ठा पहिलो र दोस्रो लहरमा भारतमा आएको कोरोनाको प्रभाव नेपालमा आएको अनुभव सुनाउँछन्।

भारतमा फेला परेका भेरियन्टहरु नेपालमा पनि आएको सुनाउँदै यसपछिको अवस्थामा पनि भारतमा कोरोनाले कस्तो रुप लिन्छ भन्ने कुराको अनुमान गर्न सकिने उनले बताए। उनका अनुसार भारतमा फेला परेको डेल्टा प्लस अनियन्त्रित भएको अवस्थामा नेपालमा पनि तेसो लहर आउसक्छ।

नेपालमा तेश्रो लहरको सम्भावनाको अड्कल काट्नु पूर्व भारतले  कति नागरिकलाई कोरोना विरुद्धको खोप दिलाउछ भन्ने कुरा पनि प्रमुख रहेको उनले बताए। ‘यदि भारतले शतप्रतिशलाई खोप दिएको अवस्थामा नेपाल त्यसै सुरक्षित हुन्छ,’ डा मरहठ्ठाले भने, ‘हामीले पनि खोप लगाउनु पर्छ त्यसमा दुई मत नै छैन। तर, भारतले पनि सबैलाई खोप दिएको अवस्थामा नेपालमा महामारीका रुपले नफैलिन सक्छ भन्ने अनुमान हो।’

कोरोना सुरुवाति भएपछि अहिलेसम्म विभिन्न भेरियन्टका नाममा कोरोना भाइरस परिवर्तित हुँदै आएको छ। पछिल्लो समय भारतमा कोरोनाको डेल्टा प्लस भेरियन्ट पुष्टि भएको छ। नेपालमा पनि विभिन्न देशमा पुष्टि भएका म्यूटेन्ट भेरियन्टहरु सक्रिय छन्।

राष्ट्रिय प्रयोगशाला टेकुकी निर्देशक डा. रुना झा भाइरस भएकाले परिवर्तित हुनु स्वभाविक भएको बताउँछिन्। डिसी नेपालसँग कुरा गर्दै डा. झाले भोलिका दिनमा भाइरस परिवर्तनले क्यारेक्टरमा के परिवर्तन ल्याउछ अहिले नै भन्न नसकिने बताइन्।

उनले भनिन्, ‘सबै कुरा मन्त्रालयबाट पाउनु हुन्छ। भाइरस जुनसुकै पनि परिवर्तित हुन्छ। कोरोना भाइरस पनि आफूलाई परिवर्तित गर्दै देखा परेको छ। तर, भोलीका दिनमा यसले कस्तो रुप लिन्छ अहिले नै भन्न मिल्दैन।’

तेस्रो लहर आउने, बालबालिका बढी प्रभावित हुने भन्ने विषयमा गरिएको भविष्यवाणी पनि आफूलाई चित्त नबुझ्ने गरेको उनले बताइन्। उनले भनिन्, ‘भविष्यबाणी गर्ने हामी ज्योतिष होइन। विज्ञानले कहिलै पनि अनुमानित बोल्दैन। भाइरसको म्यूटेशनले आफ्नो क्यारेक्टरमा के परिवर्तन ल्याउँछ। त्यो प्रयोगशालामा परीक्षण गरिसकेपछि मात्र भन्न सकिन्छ। विज्ञानले प्रमाणित कुरामात्र बोल्छ। बजारमा आएका अनेक भविष्यबाणी मलाई चित्त बुझेको छैन।’

नेपालमा कोरोनाको दोस्रो लहरमा उच्च विन्दुमा पुगेर संक्रमितको संख्या विस्तारै ओरालो लागेको छ। संक्रमितको संख्या ओरालो लागेसँगै बैशाखदेखि गरिएको निषेधाज्ञा केही खुकुलो बनाइएको छ। जोर विजोर प्रणालीबाट निजी सवारी साधन तथा बार अनुसार व्यवसाय पनि खुल्ला गरिएको छ।

दोसो लहरमा संक्रमितको संख्या कमी भए पनि पूर्ण रुपमा ढुक्क भएर जनजीवन सामान्य अवस्थामा भने आएको छैन। जनस्वास्थ्य विज्ञहरु कोरोनाको महामारी विरुद्ध खोपको विकल्प नभएको बताउँछन्। जनजीवनलाई सामान्य अवस्थामा ल्याउनका लागि जतिसक्दो चाँडो खोपको व्यवस्था गर्नु पर्ने उनीहरुको भनाइ छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *