कविता : म पूरा भएँ

डिसी नेपाल
१२ असार २०७८ ९:१०

पूरा रातमा
आधा निन्द्रा लाग्यो,
मन र तन पूरै गले
दुबैलाई पूरा निन्द्रा चाहिएको थियो।

निदाउन सकिएन
निद आउन सकेन।
घाम झुल्क्यो
आफ्नो छाती चिरेर किरणले मलाई उठाउन जिद्दी गर्‍याे।

उस्को घमण्डलाई छेक्न पर्दा ताने, देखेँ घाम आधा झुल्केको छ।
क्षितिजमा बसेर विश्राम लिँदै चियाको चुस्की लिँदै हो,
आधा भाग जमिनमा लुकाएर आधा भाग सतहमा उचालेर।
आधा चिजहरुले दिक्क बनाउछन कि क्या हो?
यस्को किरणले मलाई बनाए जस्तै,
अनि मैले अरुलाई बनाएको जस्तै।

झ्यालबाट फर्केर खाटमा आउँदा
आधा बिग्रिएको तन्ना देखेँ।
त्यो देखेर
आधा भरिएका सम्बन्धहरु याद आए।
आधा खाजा बाँडेर खाने साथी याद आए।
आधा पीडा बोक्न खोज्ने प्रियहरु याद आए।
आधा गास दिनेहरु याद आए।
सपनाका शब्दहरु पूरा गर्न
आधा पेन्सिल भाचेर दिने सपनाकार याद आए।
सँगैसँगै
आधा साथ दिने साथी याद आए।
आधा बाटोमा छोडेर जाने प्रिय याद आए।
आधा गास खोस्नेहरु याद आए।
हरेक आधा-आधा दिनेहरु र लिनेहरु यादमा आए।

मैले
अगाडि रहेका हरेक आधा-आधा तस्विरहरु हेरेँ।
आफूलाई आधा बनाउन आउने
आफन्त र साथीहरुलाई
फोटोबाट पूरा हटाएँ
म आफू पूरा राखेँ।
ती फोटोहरु आधा देखिन्थे तर पूरा थिए।
ती च्यातिएका टूक्राहरुलाई सियोले घोचेर सजाय दिएँ।
ती टुक्राहरुले मलाई आफ्ना टूक्राहरुको याद दियो।
जिन्दगिमा हरेक सँग राम्रो बन्नको लागि बनेका आफ्ना टूक्राहरु याद आए।
आफन्तसँग कुराकानी गर्दा उनीहरुले मन पराउने
उनिहरुले खोजेको आफ्नो टूक्रा लिएर गए।
साथी भाइसँग अर्को टुक्रा।
प्रियहरु सङ्ग अर्को टुक्रा।
यहाँसम्म की आमा, बा सँग पनि अर्कै टुक्रा।
सबैलाई उनिहरुले चाहेको टुक्रा दिँदादिँदै
जीवन धेरै टूक्रा-टुक्रा मा काटियो।
एक्लै भएको बेला म सिङ्गो हुन्थे, पूरा हुन्थे।
टुक्राहरु झुटा लाग्थे।
सम्बन्ध, साथ र भावनाहरु झुटा लाग्थे।
आफू सँग पूरामा रमाएको “म”
अरुसङ्ग सधैं “आधा-आधा” मा रमाउने बानी पर्दै गयो।

अरुले राखेका कुराकानीहरुबाट प्रभावित भएर
ती कुराहरु अरुलाई सुनाउन त्यही शब्दहरु टिपेर राखेँ।
अन्त कतै कसैले त्यही सम्बन्धित प्रस्न गर्दा
आफ्नो शव्दलाई छाडेर टिपेका शब्दहरुलाई बाडेँ।
सुन्नेहरुका अनुहारका भाव हेरेर
आफ्नो अनुहारको भाव निर्धारण गरेँ।
यो अरुलाई खुसी पार्न बोलेको शब्द बोल्दा
मेरा शब्दहरु आधा भए। म आफू आधा भएँ।

घाम झुल्केर माथी आयो।
अहिले पूरा देखियो।
सायद आधा जस्तो देखिने चिजहरु सधै तल देखिन्छन्।
अहिले पूरा उचाईँको पूरा मज्जा लिएको छ घामले।
मान्छेहरु कस्तो गर्मी
किन यस्तो?
भन्दै घामलाई घमण्डी सावित गर्दै छन्।
गुनासो पोख्दै छन्।
टुक्रिएका “म” हरुलाइ
बटुलेर म “सिङ्गो” भएँ।
सिङ्गो भावना भएँ।
सिङ्गो उत्तर भएँ।
यो पटक अरुसँगको कुराकानीमा
अरुका कुरा सुने।
सिक्नुपर्नेहरु आफूसङ्ग राखेँ
तिनलाई आफ्नै शब्दमा मिसाएर
आफ्नै शब्दहरु बोलेँ।
मेरा शब्दहरु पूरा भए।
मेरा टूक्रा मन पर्नेहरुलाई
म परिवर्तन भएको जस्तो लाग्यो।
झुटो त पहिलाको थियो
म त्यो थिइन।
सत्य यही हो
किनकी म यही हो।
तपाईंहरुको अगाडि उभिएको
अहिले को म सत्य हो।
पूरा म हो।
राम्रो म हो।
झुल्केर माथि गएको चिजलाई
मान्छेले गुनासो गर्ने रहेछन्।
म झुल्किएँ।
म, “म” भए।
म पूरा भए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *