प्रदेश २ मा तीस प्रतिशत पूँजीगत खर्च

डिसी नेपाल
१३ असार २०७८ २२:४५

सर्लाही । प्रदेश नं २ मा चालु आर्थिक वर्षको ११ महिनामा करिब ३० प्रतिशतमात्र पूँजीगत खर्च भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा पर्याप्त खर्च हुन नसकेको हो ।

चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले कुल रु १९ अर्ब १९ करोड ८ लाख १८ हजार पूँजीगत बजेट विनियोजन गरेको थियो । तीमध्ये चालु आर्थिक वर्षको ११ महिनामा सरकारले कूल रु ५ अर्ब ६८ करोड ६५ लाख मात्र खर्च गर्न सकेको छ । यो कूल पूँजीगत खर्चको २९.८० प्रतिशत हो । प्रदेश लेखा नियन्त्रण कार्यालय, जनकपुरधामका अनुसार नियमित अर्थात् चालु खर्चतर्फ सरकारले रु १३ अर्ब ३३ करोड ६९ लाख १६ हजार बजेट विनियोजन गरेकोमा सो अवधिमा रु ४ अर्ब ९६ करोड ९२ लाख मात्र खर्च भएको छ ।

यो कूल चालु खर्चको ३७.२५ प्रतिशत रहेको प्रदेश लेखा नियन्त्रण कार्यालयका लेखा अधिकृत मनोजकुमार झाले जानकारी दिए । कार्यालयका अनुसार यस अवधिमा सबैभन्दा बढी भौतिक पूर्वाधार विकास मन्त्रालयले खर्च गरेको छ । मन्त्रालयले विनियोजित कूल बजेटको ४१.१४ प्रतिशत खर्च गरेको छ ।

मन्त्रालयले विनियोजित बजेटको चालूतर्फ रु ३५ करोड ६० लाख ८१ हजार र पूँजीगततर्फ रु ३ अर्ब ४७ करोड ३ लाख ४५ हजार खर्च गरेको छ । यसैगरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सो अवधिमा सबैभन्दा कम अर्थात् १३.८ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । सो अवधिमा चालूतर्फ रु ३४ करोड १० लाख ६१ हजार र पुँजीगततर्फ रु ११ करोड १४ लाख ८४ हजार खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ । त्यस्तै चालू आर्थिक वर्षको ११ महिनामा आर्थिक मामिला तथा योजना मन्त्रालयले विनियोजित कूल बजेटको ३६.३५ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयले सो अवधिमा चालूतर्फ रु ७ करोड ६ लाख ८६ हजार र पुँजीगततर्फ रु १ करोड ८० लाख १० हजार खर्च गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सो अवधिमा ३२.८ प्रतिशत बजेट खर्च गरेको छ ।

तीमध्ये चालूतर्फ रु ६६ करोड ४३ लाख ४८ हजार र पुँजीगततर्फ रु ४० करोड ५४ लाख ६० हजार गरी रु एक अर्ब ६ करोड ९८ लाख ९ हजार खर्च गरेको छ । यसैगरी चालू आर्थिक वर्षको ११ महिनामा सामाजिक विकास मन्त्रालयले चालूतर्फ रु एक अर्ब ५२ करोड २१ लाख र पूँजीगततर्फ रु ५८ करोड चार लाख एक हजार गरी कूल रु दुई अर्ब आठ करोड २५ लाख खर्च गरेको छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *