कांग्रेसभित्र अप्ठेरोमा पौडेल

डिसी नेपाल
१४ असार २०७८ ६:१३

काठमाडौं। ‘एकपटकका लागि कांग्रेसको नेतृत्व गर्ने इच्छा छ, त्यसका लागि तपाईंहरूले मलाई सहयोग गर्नुपर्‍यो । मलाई शेरबहादुर जीसँग दाँजेर हेर्नु भएन । मैले न पार्टीको नेतृत्व गर्न पाएको छु, न सरकारको ।’

२०४६ सालको राजनीतिक परिवर्तनपछि पार्टी राजनीतिको केन्द्रमा रहँदै आएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले शुक्रबार निकटहरूसँग १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने इच्छा व्यक्त गर्दै राखेको धारणा हो यो । पार्टीका विभिन्न तह हुँदै कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गरेका पौडेलले प्रतिनिधिसभाको सभामुख र मुलुकको उपप्रधानमन्त्रीसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

संसदीय दलको नेता बनेका पौडेल प्रधानमन्त्रीको उम्मेदवार बने पनि प्रधानमन्त्री भने बन्न सकेका छैनन् । कार्यवाहक सभापतिको जिम्मेवारी निर्वाह गर्दै उनी १३औं महाधिवेशनमा सभापतिको उम्मेदवार पनि बने तर निकटहरू मिलाउन नसक्दा जित निकाल्न असफल भए ।

१३औं महाधिवेशनमा शेरबहादुर देउवासँग नेतृत्वमा पराजित पौडेलले १४औंबाट नेतृत्वमा पुग्ने आकांक्षासहित निकटहरूसँग सहयोगको हात बढाएका हुन्, त्यो पनि आफ्ना राजनीतिक समकक्षीसमेत रहेका सभापति देउवाले १४औं महाधिवेशनमा नेतृत्व दौड थालेलगत्तै । १३औं महाधिवेशनमा निकटहरू मिलाउन नसक्दा नेतृत्वमा पुग्न चुकेका पौडेललाई १४औं महाधिवेशनमा सबैलाई विश्वासमा लिएर उम्मेदवार बन्न झनै कठिन देखिएको छ, जसको संकेत शुक्रबार उनै पौडेलद्वारा आयोजित भेलाले दिएको छ ।

राजनीतिक जीवनको उत्तराद्र्धमा आइपुगेका पौडेललाई निकटहरूले आगामी महाधिवेशनमा नेतृत्वका लागि अघि बढ्न सुझाएनन् । महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, शेखर कोइरालाले मात्र होइन, रामशरण महत, अर्जुननरसिंह केसी र सुजाता कोइरालाले आफैं मैदानमा खडा हुने भन्दै पौडेललाई प्रतिस्पर्धा नगर्न सुझाए । त्यति मात्र होइन, पार्टीभित्र युवा भनिएका पहिलो र दोस्रो तहका नेताहरूले एउटै साझा उम्मेदवार नदिए आफैं नेतृत्वको प्रतिस्पर्धामा उत्रिने दाबी गरे ।

कोइराला परिवारबाट महामन्त्री शशांक र नेता शेखर एकअर्का नै सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका छन् । नेता पौडेल मात्रै होइनन्, भाइ शशांकलाई पनि नेतृत्व प्रतिस्पर्धामा नछाड्नेगरी तयारी थालेका शेखर आगामी महाधिवेशनमा कुनै हालतमा सभापतिको उम्मेदवारी दिने पक्षमा छन् । शशांकले पनि उम्मेदवार बन्ने बताइरहँदा कोइराला परिवारबाटै कांग्रेस सभापतिका लागि दुई उम्मेदवार हुने त होइन भन्ने आशंका उब्जिरहेका बेला पार्टीका शीर्ष नेता पौडेललाई संस्थापन इतर पक्षबाट साझा उम्मेदवार बन्ने कुरा निकै कठिन रहेको निकटहरू बताउँछन् । नागरिक दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *