पुराना संस्थापन मिलाउने सुजाताको प्रयास

डिसी नेपाल
१५ असार २०७८ ६:४७

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनको माहोल अघि बढेसँगै नेताले भेटघाटलाई तीव्रता दिएका छन् । गत ४ असारमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति अनुमोदन गरेसँगै कांग्रेसभित्र महाधिवेशनको सरगर्मी बढ्दै आइरहेको छ ।

कांग्रेसभित्र पार्टी नेतृत्वका लागि दैनिकजसो आकांक्षी समेत बढ्दै गइरहेका छन् । हालको संस्थापन समूहबाट मात्रै आगामी नेतृत्वका लागि तीन जना आकांक्षी देखिएका छन् । सभापति शेरबहादुर देउवासहित, उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठ संस्थापनबाट सभापतिका लागि दाबी गरिरहेका छन् ।

यसैगरी संस्थापनइतर अर्थात् पुरानो संस्थापन मानिएको वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाको समूहबाट पनि आधादर्जन बढी आकांक्षी देखिएका छन् । वर्तमान संस्थापन पक्षबाट आकांक्षी धेरै भएपछि कांग्रेस नेतृ सुजाता कोइरालाले पुरानो संस्थापन समूहलाई मिलाउने प्रयास गरिरहेकी छन् ।

उनले सोमबार कांग्रेस वरिष्ठ नेता पौडेल र सिटौलालाई आफ्नो मन्डिखाटारस्थित निवासमा बोलाएर कांग्रेसको पुरानो संस्थापन पक्षलाई मिलाउने प्रयास गरेकी हुन् ।

‘पार्टीभित्र नेतृत्व गर्न आकांक्षी धेरै हुनुहुन्छ, रामचन्द्रजी र सिटौलाजी पहिलेबाट नै पार्टीका लागि धेरै दुःख गरेर आउनुभयो, मैले सबै मिलेरै अघि बढौं भनेर उहाँहरूलाई भनेकी छु,’ नेतृ कोइरालाले राजधानीसँग भनिन् ।

उनले पिता गिरिजाप्रसाद कोइरालाका सहयात्रीका रूपमा काम गरेका नेता पौडेल र सिटौलालाई बोलाएर खाजासहितको छलफल गरेकी हुन् । सिटौलाले शान्ति प्रक्रियाका लागि गरेको प्रयासले कांग्रेसलाई सफल बनाएको भन्दै नेतृ कोइरालाले सिटौलासहित समेटेर आफूले नयाँ समीकरण मिलाउन खाजेको बताइन् ।

‘सिटौलाजी रामचन्द्रजी दुवै जना क्यान्डेट हो, पनि हो, हामी सबै मिल्यौं भने राम्रो सन्देश जान्छ, त्यसैले मिल्नै पर्छ,’ नेतृ कोइरालाले भनिन् ।

नेतृ कोइरालाले यसअघि समेत कोइराला परिवारभित्रकै दुई नेता डा. शशांक कोइराला र डा. शेखर कोइरालालाई निवासमै बोलाएर लन्चसहितको मिटिङ गरेकी थिइन् ।

कांग्रेसको १४औं महाधिवेशन आगामी १६ देखि १९ भाद्रसम्म काठमाडौंमा हुने तय भइसकेको छ । महाधिवेशन तय भएसँगै नेताबीचको भेटघाट र छलफलले तीव्रता पाउँदै आइरहेको छ ।

रामचन्द्र फकाउँदै शेखर
सोमबार नै कांग्रेस नेता डा. शेखर कोइराला वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न बोहोराटारस्थित पौडेल निवास पुगेका छन् । पार्टी नेतृत्वका लागि आकांक्षा देखाउँदै आइरहेका कोइरालाले आगामी महाधिवेशनमा आफूलाई सभापतिमा सघाउन पौडेललाई आग्रह गरेका हुन् ।

तर, नेता पौडेलले भने आफूलाई पनि एकपटक पार्टी सभापति बन्ने चाहना रहेको भन्दै यसपटक आफूलाई सघाएर अर्कोपटकका लागि मैदानमा उत्रने गरी वातावरण बनाउन आग्रह गरे ।

‘शेखर डाक्टर साबले सभापतिमा सघाउनुस् भनेर भन्नु भयो, वरिष्ठ नेताले पनि मलाई एकपटक सघाउनुस् भनेर आग्रह गर्नुभयो, धेरै कुरा क्रियाशील सदस्यतामा केन्द्रित भयो,’ बोहोराटार स्रोतले भन्यो ।

नेता पौडेल र कोइरालाबीचको अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नवप्रवेशीलाई क्रियाशील सदस्यता दिने नाममा मनपरी भएको भन्दै निगरानी बढाइनुपर्ने विषयमा पनि छलफल भएको थियो ।

यसअघि गत शुक्रबार पौडेल समूहले वसुन्धारास्थित दियालो फुडल्यान्डमा गरेको आफू निकट नेताको छलफलमा समेत क्रियाशील सदस्यताको विषयमा गम्भीर हुनुपर्ने विषय उठेको थियो । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *