कारगिलमा नेपाली महिलाको हत्या आरोपमा नेपाली नै पक्राउ

डिसी नेपाल
१५ असार २०७८ १०:०९

काठमाडौं। भारतको लद्दाखको कारगिलमा एक नेपाली महिलाको हत्या आरोपमा एक नेपाली पक्राउ परेका छन् । हत्याका अर्का एक आरोपी फरार छन् र उनको खोजी भइरहेको त्यहाँको पुलिसलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआइले जनाएको छ । सोमबार कारगिलका एसएसपी अनायत अली चौधरीले पीटीआइसँग कुरा गर्दै महिलाको सडेको शव जून १५ मा पानिक्कर क्षेत्रमा फेला परेको बताए ।

ती महिला त्यहाँ भाडामा बस्ने गरेकोमा उनी एक्कासी हराएपछि खोजी गर्ने क्रममा ८ दिनपछि उनको सडेको शव भेटिएको थियो । पुलिसले पक्राउ परेका आरोपीको नाम विजय रावत भएको बताएको छ । विजय पनि नेपाली हुन् र उनी कारगिलबाट भाग्ने प्रयासमा रहेका बेला पक्राउ परेका थिए । विजय ज्यालादारी मजदूर हुन् । मृतक महिलाले उनीहरुको पारिश्रमिक नदिएपछि विजय र अर्का एक श्रमिकले महिलाको हत्याको योजना बनाएका थिए ।

एसएसपी चौधरीका अनुसार महिला, उनका श्रीमान र अन्य २ मजदूरहरु त्यहाँ सिमेन्टको ब्लक बनाउने कारखानामा काम गर्थे र दुईवटा कोठा भाडामा लिएर बस्थे । जून ७ मा महिलाका श्रीमानले महिला हराएको रिपोर्ट गरेका थिए । सोधपुछका क्रममा रावतले आफ्ना साथीसँग मिलेर महिलाको घाँटी थिचेको, त्यसपछि ढुंगाले टाउकोमा हानेर मारेपछि शव गाडेको बयान दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *