अमेरिकामा एउटै काम गर्दा गोराले भन्दा नेपाली महिलाले आधा पारिश्रमिक पाउँछन्

डिसी नेपाल
१६ असार २०७८ ९:४९

काठमाडौं। अमेरिकामा कोरोनाभाइरस महामारीले एसियाली अमेरिकी र प्यासिफिक आइल्याण्डर समुदायका मानिसहरु सबैभन्दा प्रभावित भएको पाइएको छ । पछिल्लो तथ्यांकअनुसार गत वर्ष कोरोनाभाइरस महामारीका कारण रोजगारी गुमाएका एसियाली अमेरिकी तथा प्यासिफिक आइल्याण्डर (एएपीआइ) समुदायका महिलाहरुमध्ये करिब आधा महिलाहरु ६ महिनाभन्दा धेरै समय बेरोजगार बस्नुपरेको थियो ।

नेशनल एसियन प्यासिफिक अमेरिकन वुमन्स फोरम (एनएपीएडब्लुएफ) ले यो तथ्यांक सार्वजनिक भएसँगै सरकारसँग यो विषयलाई तथा पारिश्रमिकमा भइरहेको फरकलाई समेत सम्बोधन गर्न आग्रह गरेको द हिलमा प्रकाशित एक रिपोर्टमा जनाइएको छ । रिपोर्टका अनुसार अमेरिकामा यस्तो हुनुको प्रमुख कारण उनीहरुको आप्रवासन स्थिति हो किनकि एएपीआइ समुदायका मानिसहरुमध्ये ७० प्रतिशत अमेरिकाबाहिर जन्मेकाहरु छन् । मार्च २०२० देखि फेब्रुअरी २०२१ सम्म सबैभन्दा धेरै बेरोजगार आप्रवासी महिलाहरु छन् । पछिल्लो समय उनीहरुको बेरोजगार दर १७ प्रतिशत पुगेको छ ।

रिपोर्टका अनुसार अमेरिकामा एउटै काम गर्दा गोरा पुरुषले १ डलर कमाउँदा एएपीआइ समुदायका महिलाले मात्रै ८५ सेन्ट पाउँछन् । त्यसमा पनि नेपालीको अवस्था अझै दयनीय छ । गोरा पुरुषले १ डलर पाउँदा त्यही काम गर्ने नेपाली महिलाले मात्रै ५४ सेन्ट पाउँन् जुन गोरा पुरुषको तुलनामा झण्डै आधा मात्र हो । नेपालीभन्दा अझै खराब अवस्था बर्मेली महिलाको छ । उनीहरुले मात्रै ५२ सेन्ट पाउँछन् । यो समष्टिगत तथ्यांक भएकोले यसले यो समुदायको वास्तविक समस्या अझै खुलस्न गर्न नसकेको एनएपीएडब्लुएफले आफ्नो ब्रिफमा भनेको छ ।

स्थिति रोजगारीमा भएकाहरुको हकमा पनि खासै राम्रो छैन । तर, एएपीआइ समुदायका महिलाहरुलाई कम पारिश्रमिकको जनशक्ति समूहमा धेरै राखिन्छ । र, यो समुदाय महामारीको बेलामा विभेदकारी रुपमै प्रभावित पारिएको छ । यद्यपि सामान्य अवस्थामा पनि उनीहरुलाई गोरा पुरुषको तुलनामा कम पारिश्रमिक दिइन्छ । यसमाथि गत वर्षदेखि बढेको एसियाली समुदायमाथिको घृणा र आक्रमणको ७० प्रतिशत सिकार एएपीआइ समुदायका महिला भएका छन् । र, यीमध्ये कैयौं घटनाहरु व्यवसायिक क्षेत्र र काम गर्ने ठाउँमा भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *