बीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र भवनको शिलान्यास, महानगरपालिकाको २ करोड सहयोग

डिसी नेपाल
१६ असार २०७८ २१:५६

काठमाडौँ। जननायक बीपी कोइराला मेमोरियल ट्रष्टले ‘बिपी कोइराला अध्ययन अनुसन्धान केन्द्र’ भवन निर्माण गर्ने भएको छ। काठमाडौँ महानगरको वडा ५ हाँडीगाउँमा निर्माण हुने भवनको बुधबार काँग्रेस सभापति शेरबहादुर देउवा, बीपी पुत्र काँग्रेस महामन्त्री डा. शशांक कोइराला र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा शिलान्यास गरे।

उक्त भवन निर्माणका लागि काठमाडौँ महानगरपालिकाले २ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ। भवन निर्माणका लागि वागमती प्रदेश सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराउने छ भने ट्रष्टले १ करोड रुपैयाँ लगानी गर्नेछ। थप रकम दाताबाट जुटाउने ट्रष्टले जानकारी दिएको छ। भवन निर्माणको लागत करीब ४ करोड ५० लाख रहने अनुमान छ।

शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेस सभापति देउवाले बीपीको योगदानलाई कदर गर्दै भवन निर्माणका लागि काठमाडौँ महानगरपालिका र प्रदेश सरकारले उपलब्ध गराएको सहयोगप्रति पार्टीका तर्फबाट धन्यवाद दिए। ‘बीपी राजनीतिक, साहित्यिक र सामाजिक व्यक्तित्वका धनी हुनुहुन्थ्यो’ देउवाले भने, ‘बीपी हामी सबैको सम्झनामा चीर हुनुहुन्छ। विद्वान मात्रै होइन राष्ट्रवादी र समाजवादी नेता भएकाले उहाँ चीर हुनुभएको हो।’

करीब २ मिनेटको धारणामा देउवाले आगामी दिनमा आम नेपालीका लागि यो केन्द्र कोइरालाको ख्याती र उनका बारेमा अध्ययन–अनुसन्धान गर्ने केन्द्रका रुपमा दरिलो गरी उभिने अपेक्षा लिएको बताए।

कार्यक्रमलाई सम्वोधन गर्दै काँग्रेस महामन्त्री समेत रहेका बीपी पुत्र शशांकले बीपीकोे स्मृतिमा भवनको शिलान्यास भएको दिनलाई आफूले महत्वपूर्ण दिनका रुपमा लिएको बताए। ‘काठमाडौँ महानगरपालिकाका मेयरज्युलाई धन्यवाद,’ कोइरालाले भने, ‘उहाँले बजेट दिनुभयो। त्यसैको आधारमा यहाँ आज शिलान्यास कार्यक्रम राखेका हौँ। भवन त संरचना मात्रै हो। त्यहाँ आत्मा हुनुपर्छ। आत्माले नै प्रोत्साहन गर्ने हो। आत्मा नमर्ने गरी अध्ययन–अनुसन्धान केन्द्रलाई अघि बढाउनुहोला।’

कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले आफू कुनै समय बीपीलाई हेर्न र सुन्न सार्बजनिक कार्यक्रममा जाने गरेको स्मरण गराउँदै आज उनकै स्मृतिमा निर्माण हुन लागेकोमा प्रशन्नता व्यक्त गरे। ‘कुनै समय टाढाबाट सुनेको, हेरिएको र आफूले पनि सम्मान गरेको व्यक्तिको स्मृतिमा निर्माण हुने भवनलाई सहयोग गर्न पाउँदा खुशी लागेको छ’, शाक्यले भने, ‘बीपी पुत्र शशांकले भन्ने वित्तिकै राम्रो काममा सबैले सहमतिका साथ सहयोग गर्नुपर्छ भनेर महानगरपालिकाले सहयोग गरेको हो।’

कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा प्रमुख शाक्यले काँग्रेस सभापति देउवातिर संकेत गर्दै दुर्घटनाबाट देशलाई बचाउन आग्रह गर्नुभयो। ‘२०१५ सालमा विपीले ल्याएको दुई–तिहाईको सरकार तत्कालीन शासकबाट खोसिएको थियो।’ शाक्यले भन्नुभयो, ‘अहिले देशलाई दुर्घटनाबाट बचाउन नेतृत्वलाई यहाँहरुबाट पूर्ण सहयोग हुनेमा आशा लिएको छु।’

शाक्यले आफू स्वर्गीय बीपीको कार्यकर्ता नभए पनि एक अनुयायी भएको स्मरण गराए। ‘देश विकासका लागि जीवन समर्पण गर्ने सबै नेता आदरणीय हुनुहुन्छ,’ शाक्यले भने, ‘उहाँहरुलाई पढ्नुपर्छ, बुझ्नुपर्छ।’

ट्रष्टका महासचिव रामचन्द्र पोख्रेलले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा समेत ख्याती कमाउन सफल बीपीलाई अन्तराष्ट्रिय स्तरसम्म परिचित गराउन उनको स्मृतिमा अध्ययन–अनुसन्धान केन्द्र स्थापना गरेको बताए। ‘बीपी राजनीतिक, साहित्यिक र सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले किसान र र मजदुरलाई केन्द्रविन्दुमा राखेर समाजवादको आन्दोलन अघि बढाउनुभयो,’ पोख्रेलले भने, ‘उहाँको सामाजिक आन्दोलनमा पनि विशिष्ट भूमिका छ । उहाँको अध्ययन गर्न आवश्यक छ।’

पोख्रेलले बीपीका भाषण, उनले लेखेका पुस्तक र उनले राष्ट्रका लागि गरेका योगदानलाई समेत ध्यान दिदैँ उनकाबारेमा अध्ययन र विविध अनुसन्धान गर्ने उद्देश्य रहेको बताए।

अन्तर्राष्ट्रियस्तरका व्यक्तिहरुलाई समेत नेपालमा आएर बीपीका बारेमा एकै ठाउँ बसेर अध्ययन गर्ने केन्द्रका रुपमा स्थापित गर्न यो अध्ययन र अनुसन्धानमा केन्द्रित हुनेछ।

कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष रमेश डंगोलसहित विभिन्न क्षेत्रका पदाधिकारीहरुको सहभागिता थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *