अबदेखि श्रम कार्यालयबाट नियमित सेवा प्रवाह हुने

डिसी नेपाल
१७ असार २०७८ ९:०२

काठमाडौं । ताहचलस्थित श्रम कार्यालयले वैदेशिक रोजगारीमा जानेहरुको लागि अब नियमित रुपमा हरेक दिन सेवा प्रवाह गर्ने जनाएको छ । कोरोनाका कारण भएको निषेधाज्ञालाई मध्यनजर गर्दै यसअघि हप्तामा तीन दिन मात्र सेवा प्रवाह गर्दै आएको कार्यालय अब भने सधैं(सरकारी बिदा बाहेक) खुल्ला हुने भएको हो ।

कार्यालयको जारी सूचनाका अनुसार हाल निषेधाज्ञाको परिवर्तित स्वरुप तथा सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै यही असार २० गते आइतबारदेखि कार्यालय नियमित रुपमा सुचारु हुने छ ।

साथै, व्यक्तिगत श्रम स्वीकृतितर्फ बायोमेट्रिक भएका र अनलाईनबाटै श्रम स्वीकृति लिन मिल्ने व्यक्तिहरुलाई भने अनलाईनबाटै श्रम स्वीकृति लिन आग्रह गरेको छ । सूचनामा बायोमेट्रिक नभएका र व्यक्ति स्वयम् उपस्थित हुनैपर्ने बाहेक अन्य व्यक्तिहरुलाई भौतिक उपस्थितिमार्फत सेवा प्रदान नगरिने हुँदा कार्यालयमा उपस्थित भई अनावश्यक भिडभाड नगरिदिन अनुरोध गरिएको छ ।

देशमा गत बैशाख १६ गते निषेधाज्ञा जारी भएपछि श्रम कार्यालयले बैशाख २४ गतेदेखि कार्यालयबाट भौतिक उपस्थितिमा प्रवाह गर्ने सबै सेवा स्थगित गरेको थियो ।कोभिडका कारण निषेधाज्ञा जारी भएपछि भौतिक रुपमा उपस्थित भएर दिने सेवा सबै ठप्प गरेको श्रम कार्यालयले पछिल्लो समयमा हप्ताको एक दिन, हप्ताको दुई दिन, हप्ताको तीन दिन गर्दै अहिले नियमित रुपमा हरेक दिन सेवा प्रवाह गर्ने जानकारी गराएको छ ।

यसअघि(असार १३) भौतिक उपस्थितिमा दिनुपर्ने श्रम स्वीकृति लगायतका सेवाको लागि श्रम कार्यालय आइतबार, मंगलबार र बिहीबार(सरकारी विदा बाहेक) खुल्ने गरेको थियो । त्यस्तै, असार १३ गतेभन्दा अघि भने कार्यालयले हप्ताको दुई दिन(आइतबार र बुधबार) सेवा प्रवाह गर्दै आएको थियो ।

विशेधाज्ञा खुकुलो भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्यामा पनि वृद्धि भएकाले कार्यालयमा भिडभाड कम होस भन्ने हेतुले कार्यालय सधैं खुल्ला गर्ने निर्णय गरिएको वैदेशिक रोजगार कार्यालय, ताहाचलका शाखा अधिकृत प्रदीप कुमार ढकालले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *