कांग्रेस महाधिवेशन : क्रियाशील विवाद के हुँदैछ ?

सम्भव सिंह ठकुरी
२२ असार २०७८ १४:१५

काठमाडौं। नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस यतिबेला १४ औँ महाधिवेशनको चटारोमा छ। भदौमा अधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता भएको कांग्रेसको सबैभन्दा महत्वपूर्ण मानिएको क्रियाशील सदस्यता छानबिनको विषय पेचिलो बनेको छ।

देशभरबाट आएका क्रियाशील सदस्यता छानबिन गरी सदस्यताको टुंगो लगाउन कांग्रेसले नेता रमेश लेखकको संयोजकत्वमा छानबिन क्रियाशील छानबिन समिति बनाएको छ।

क्रियाशील सदस्यता छानबिन गर्न समितिको तर्फबाट समितिको औपचारीक धारणा सार्वजानिक गर्न सदस्य प्रदीप पौडेललाई प्रवक्ता तोकिएको छ।लेखकको संयोजकत्वमा गठित समितिमा पौडेलसहित, आनन्द ढुंगाना, श्याम घिमिरे, कल्याण गुरुङ, योगेन्द्र चौधरी र जीवन परियार सदस्य छन्।

समितिलाई २० असारसम्म सदस्यता छानबिन टुंग्याउन असार ४ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले जिम्मेवारी दिएको थियो।
सदस्यता छानबिनसम्बन्धी विषयमा कांग्रेसभित्र सबैभन्दा बढी विवाद रहँदै आएको छ। सदस्यताको विषय लिएर कांग्रेसभित्रका संस्थापन पक्ष र संस्थापन इतर पक्षले आआफ्नो अडान लिँदै आइरहेका छन्।

संस्थापन पक्षले सदस्यताको विषयलाई सहमतिबाटै टुंग्याउने प्रयत्न गरिरहेको छ भने इतर पक्षले जथाभावी रूपमा सदस्यता बाँडिएको भन्दै कडा छानबिनको माग गर्दै आइरहेको छ।

सबैभन्दा बढी विवाद विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम र राप्रपा परित्याग गरी कांग्रेस प्रवेश गरेका पूर्वमन्त्री सुनिलबहादुर थापा नेतृत्वको समूह र अन्य पार्टीबाट प्रवेश गरेकाहरूलाई पार्टीमा समायोजन गर्न र उनीहरूलाई दिएको क्रियाशील सदस्यताको विषयमा देखिएको छ।

कियाशील सदस्य नै कांग्रेस नेतृत्व चयनको प्रमुख आधार भएकाले यसमा नेताहरूको विशेष चासो रहने गरेको छ । देशभर आफ्नो पक्षको प्रभाव बनाउन सके वडाबाटै धेरै प्रतिनिधि चयन हुने र त्यसैको प्रभावमा जिल्ला, प्रदेश र क्षेत्रबाट केन्द्रीय महाधिवेशनका लागि छनोट हुने प्रतिनिधिसमेत आफ्नै पक्षका नेता निर्वाचित गराउने उद्देश्यले क्रियाशील सदस्यतामा वडातहदेखि प्रतिस्पर्धा हुने गरेको छ ।

समितिलाई २० असारसम्म सदस्यता छानबिन टुंग्याउन असार ४ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले जिम्मेवारी दिएको थियो। तर विवाद भएका उजुरी नआएकाले आफूहरूले क्रियाशील सदस्यताको अन्तिम सूची सभापतिलाई बुझाउन नसकिएको समितिका प्रवक्ता प्रदीप पौडेलले जानकारी दिए। ‘तय भएको मितिमा बुझाउन नसकेपनि यो महिनाको अन्तिसम्म सकेर बुझाउँछौं,’ प्रवक्ता पौडेलले डिसी नेपाललाई भने।

उनका अनुसार अहिलेसम्म ८ लाख ५१ हजार क्रियाशील सदस्यताको नामावली केन्द्रीय पार्टी कार्यलयमा दर्ता भएको छ। ती मध्य ५ लाख सदस्य निर्विवाद रहेको र साँढे तीन लाखको हारहारीमा विवाद रहेको छ।

‘बाँकी रहेको विवादहरु पनि मिल्दै नमिल्ने खालका छैनन्। मापदण्ड बनाएर हामी छानबिन गर्दै छौँ। यो महिनाको अन्तिमसम्म सबै मिलाएर सभापतिलाई बुझाउँछौं,’ उनले भने।

उनका अनुसार अहिले सम्म ४७ जिल्ला र ६८ निर्वाचन क्षेत्रकोे विवाद टुंगिसकेको छ। देशभर रहेका ६ हजार सात सय ४३ वडामध्ये ५ सय वडामा उजुरी परेका थिए। उजुरी परेका मध्ये आधा जति समाधान भइसकेको र बाँकी रहेकोहरु पनि मापदण्ड अपनाएर यो महिना भित्र नै सकिने उनले जानकारी दिए।

अधिवेशनको कार्यतालिका अनुसार साउन १२ गते गाउँ÷नगर वडा अधिवेशन हुने छ। त्यो भन्दा अगाडि सबै सदस्यको विवाद् मिलाएर भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा कांग्रेसको १४ औँ महाधिवेशन हुने मिति तय भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *