ठगी गर्ने म्यान पावरमाथि सरकारको निगरानी आवश्यक

रिता बस्नेत
२४ असार २०७८ ९:२६

काठमाडौ। वैदेशिक रोजगार विभागले गत वर्षको मंसिर ८ गतेदेखि चैत ३० गतेसम्म ५ महिनाको अवधिमा केही कन्सल्टेन्सीसहित ५७ वटा म्यानपावरलाई कारवाहीको दायरामा ल्याएको थियो। ठगीलगायत अवैधानिक क्रियाकलाप गरेकाले विभागले अनुगमन गरी कारवाहीको दायरामा ती म्यानपावरलाई ल्याएको थियो।

कारवाहीमा परेका ती म्यानपावरले कतार पठाउने भन्दै अवैध अन्तर्वार्ता लिएको, भिजिट भिसामा वैदेशिक रोजगारीमा पठाउन खोजेको, सरकारले तोकेको भन्दा बढी रकम मागेको, भिजिट भिसामा उडाएको, सामाजिक सञ्जालमा अवैध सूचना निकाली अन्तर्वार्ता लिएको, अन्तर्वार्ता गराएवापत रकम उठाएको लगायत अवैधानिक क्रियाकलाप गरेका थिए।

त्यसबेला अवैधानिक कार्य गरेवापत कुनै म्यानपावरलाई लाखौं जरिवाना गराइएको थियो भने कसैलाई केही महिनाका लागि निलम्बन गरिएको थियो। त्यस्तै, कतिपय म्यानपावर भने अझै पनि निलम्बित नै छन्। जसले गर्दा कारवाहीकै प्रक्रियामा रहेकाले उनीहरुले हालसम्म वैदेशिक रोजगारीसम्बन्धी कुनैपनि काम गर्न पाइराखेका छैनन् ।

ठगी र अवैधानिक क्रियाकलाप गरी युवालाई मर्नु न बाच्नुको अवस्थामा पुर्याउने म्यानपारवलाई स्वच्छ प्रतिस्पर्धाको अवस्थामा ल्याउनु पर्छ भन्ने मनसायका साथ लागिपरेका थिए विभागका तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहाल।

सरकारको नियमको पालना गर्दै १० हजार रुपैयाँको वैधानिक बिल युवालाई थम्याएर प्राय म्यानपावरले खाडी मुलुक जाने युवाहरुसँग अवैधानिक रुपमा लाखौं असुलेको उदाहरण प्रतिनिधि पात्रको रुपमा पछिल्लो समयमा बहराइनमा रोइराखेका युवालाई लिन सकिन्छ।

उनले ०७६ माघ अन्तिमदेखि ०७७ चैत अन्तिमसम्म अर्थात् १४ महिनाको अवधिसम्म विभागमा बसेर वैदेशिक रोजगार पीडितको पक्षमा वकालत गरेका थिए। हुनत, उनी विभागमा नियुक्त भएको एक महिनापछि नै कोरोना संक्रमणका कारण देशनै ठप्प भएको थियो। जसले गर्दा वैदेशिक रोजगारी पनि बन्द हुन पुग्यो। उनको कार्यकालमा कोरोनाका कारण वैदेशिक रोजागरी बन्द हुने र खुल्ने प्रक्रिया चलिनै रह्यो।

वैदेशिक रोजगारी सुचारु हुँदा त्यतिबेला म्यानपावरबाट धेरै गाउँका युवा सोझासाझा युवाहरु पीडित बनेका थिए। विदेश जाने युवा ठगीमा परेर अझ पीडित नबनुन भन्ने हिसाबले काम गर्न तल्लिन देखिएका दाहालले आफ्नो कार्यकालको पछिल्लो समयमा विदेशीने युवालाई बिना तालिम प्रमाणपत्र वितरण गर्ने अभिमुखीकरण तालिम केन्द्रलाई समेत औल्याए र अनुगमन गरी कारवाहीको दायरामा ल्याए।

यसरी उनी देशका गरिब, अन्जान लगायतका पीडित युवाहरुलाई ठगी गरी रातारात करोडपति बन्न खोज्ने म्यानपावरविरुद्ध खरो रुपमा उत्रेका थिए। त्यतिबेला उनी जो कोहीसँग खुलेरै भन्ने गर्थे, चर्को ब्याजमा ऋण गरी विदेश उड्न ल्याएको युवाको पैसा नियम कानुन मिचेर बढी असुल्ने म्यानपावरलाई छोड्दिन, बरु मेरो जागीर जान्छ भने पनि जाओस्।

आफ्नो कार्यकालको पछिल्लो समयमा उनले कतार प्रहरीमा नेपाली युवाहरुलाई सरकारी संयन्त्रमार्फत पठाउनु पर्छ भन्नेमा लागिपरेका थिए। किनकी उनले म्यानपावरबाट ठगिएका विदेशमा र नेपालमा गरी हजारौं युवाहरुको रोदन प्रत्यक्ष सुनेका, देखेका थिए।

र, प्राय उनी पीडितका तिनै रोदन मिडियामार्फत जनतासमक्ष छर्लङ्ग पारिदिन्थे। जसले गर्दा उनीप्रति म्यानपावर व्यवसायीहरु रुष्ठ थिए। अन्ततः दाहाल आफ्नो कार्याकालको अवधि पूरा नभइकनै विभागबाट सरुवा भए।

वैदेशिक रोजगारी ठगीको महासागर हो भन्ने तत्कालीन महानिर्देशक दाहालको सरुवापछि गत वर्ष चैतको अन्तिमतिर विभागको महानिर्देशकमा कृष्ण प्रसाद दवाडी नियुक्त भए। यतिबेला उनै दवाडीले विभागको नेतृत्व गर्दै वैदेशिक रोजगारीसम्बन्धी हुने काम कारवाहीलगायतलाई नियालिराखेका छन्।

हुनत उनी विभागमा आएको केही दिनपछि नै देशले निशेषाज्ञा झेलिराखेको छ। जसले गर्दा पुनःठप्प बनेको वैदेशिक रोजागार पछिल्लो समय विस्तारै खुल्न थालेको छ।

देशमा रोजगार नपाएर चर्को ब्याजमा ऋण लिई विशेषत मलेसियालगायत खाडी मुलुकमा रोजगारीको लागि लाखौं रुपैयाँ तिरेर गएका नेपाली युवाहरु विदेशमा वर्षौसम्म काम गरिसक्दा समेत लिएको ऋण तिर्न सकिराखेका छैनन्।

सरकारले खाडी मुलुकमा काम गर्न जाने श्रमिकका लागि फ्रि भिसा फ्रि टिकट (सेवा शुल्क वापत १० हजार रुपैयाँ मात्र तिर्नु पर्ने) को व्यवस्था गरेको छ। तर, त्यही फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा उडेका युवा पाउन भने मुस्किल पर्छ।

सरकारको नियमको पालना गर्दै १० हजार रुपैयाँको वैधानिक बिल युवालाई थम्याएर प्राय म्यानपावरले खाडी मुलुक जाने युवाहरुसँग अवैधानिक रुपमा लाखौं असुलेको उदाहरण प्रतिनिधि पात्रको रुपमा पछिल्लो समयमा बहराइनमा रोइराखेका युवालाई लिन सकिन्छ।

एक मिडियामार्फत गुनासो पोखेका बहराइनमा रोइराखेका ९२ जना युवालाई कलंकीस्थित एक म्यानपावरले फ्रि भिसा, फ्रि टिकटको साट्टो प्रति युवाबाट ५ देखि ९ लाख रुपैयाँसम्म लिएर विदेश उडाएको रहेछ।

उनीहरुलाई बहराइनमा प्रहरी जागीरको लागि भन्दै म्यानपावरले झुक्याएको रहेछ। बहराइन पुगेको दुई महिना बितिसक्यो तर उनीहरुले आजसम्म न त तलबनै पाए न त भने बमोजिम काम।

सो म्यानपावरले उनीहरुसँग नेपालमा सुरक्षा गार्ड पदको लागि सम्झौता गरेपनि बहराइन पुगेपछि भने प्रहरीको जागीरमा काम गर्ने हो भनि झुठो आश्वासन दिएको रहेछ। उनीहरुका अनुसार बहराइन पुगेपछि एक महिनाको तालिमपछि प्रहरीको जागीरमा काम हुने र तालिम अवधिभरि एक महिनाको तलब नेपाली रुपैयाँ ७० हजार हुने र त्यसपछि भने मासिक १ लाख ४० हजार तलब हुने भनिएको रहेछ।

पीडितका अनुसार पत्रिकामा बहराइन पुलिसको लागि भर्ना खुल्दै भनेर प्रकाशित भएको र म्यानपावरले पनि अहिले कतार पुलिसको लफडा भइराखेको छ, त्यसैले सेक्युरिटी गार्डमा साइन गर्नुस् र बहराइन पुगेपछि भने त्यहाँको पुलिसमा काम गर्ने हो भनि झुठो एग्रिमेन्ट पेपरमा साइन गर्न लगाइएको रहेछ।

तर, ८ घण्टाको लागि सम्झौता गरेका उनीहरु अहिले बिना तलब १२ घण्टासम्म काममा खटिनु परेको छ। बाध्य भएर मिडियामार्फत न्यायको लागि गुनासो पोखेका उनीहरुलाई अहिले म्यानपावरले आफ्नो व्यवसायमा असर पुर्‍याउने भन्दै उल्टै धम्की दिइराखेको छ । उनीहरुका अनुसार न्यायको लागि आवाज उठाएका अलि टाठाबाठा मिडियामार्फत देखापरेका १०–१२ जनालाई तुरुन्त नेपाल झिकाएर ठिक गर्नु पर्छ भन्नेमा लागिपरेको छ, सो म्यानपावर।

हाल नेपालको म्यानपावर र बहराइनको कम्पनीबाट पनि ठगिएका उनीहरु हाल ट्राफिकले लगाउने जस्तो पुलिस लेखिएको पहेलो रिफेलेक्टिभ ज्याकेट लगाएर सेन्सेटिभी ठाउँमा काममा खटिइराखेका छन्।

उनीहरु दुखेसो गर्दै भन्दै थिए, ‘हामीले नेपालमा चर्को ब्याजमा लिएर पैसा एजेन्टलाई बुझाएका थियौं। कोरोनाले सबैतिरको अवस्था दयनीय भएकाले हामीमध्ये धेरैजसो साथीहरु अहिले बहराइनमा ७० हजार तलब भनिएको काम गर्न पनि तयार छौं। तर, कम्पनीले १२ घण्टा काम गर्ने भए गर नभए नेपाल जाउ भनेको छ। २ महिनाभन्दा बढी भयो काम गरेको एक पैसा दिएको छैन् । कसरी ऋण तिर्ने?’

बहराइनमा रोइराखेका यी युवालाई लिएर यता विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले पैसा तिरेर गएको कागज वा प्रमाणको आधारमा म्यानपावरलाई कारवाही गर्ने बताएका छन्। तर, म्यानपावरले बठ्याई गरेर युवाहरुसँग बिना प्रमाण लाखौं रुपैयाँ असुलेको छ। त्यस्तै, म्यानपावरलाई तिरेको पैसाबारे विभागलाई सूचना दिदा विदेश नै नपठाइदिने भएपछि बाध्य भएर लाखौं रुपैयाँ तिर्न बाध्य भएको पीडितको गुनासो छ ।

कानुनलाई छल्न म्यानपावरसँग हजारौं जुक्ति हुँदो रहेछ भन्ने कुरा बहराइनमा पीडित यी युवाहरुले तिरेको पैसाबाट सहजै अनुमान लगाउन सकिन्छ र सरकारले लगाएको नियम कानुन त एउटा नाम मात्रको रहेछ भनेर।

अब फेरि म्यानपावरमार्फत हजारौं युवाहरु कतार प्रहरी सेवामा विदेशिने निश्चित भएको छ। युवालाई कतार प्रहरीमा पठाउन सरकारले तोकेको नियम कानुन अर्थात् पैसामा युवाहरु जान पाउँछन् त र म्यानपावरले पठाउलान त?, यो भने हेर्न बाँकी नै छ।

विभागका अनुगमन तथा अभिमुखीकरण शाखाका शाखा अधिकृत मातृका सापकोटाले पछिल्लो समय अर्थात् यही बैशाखपछि कुनैपनि म्यानपावर अनुगमनमा नपरेको बताएका छन्। सापकोटाले म्यानपावरबाट पीडित भए भनेर नयाँ मान्छे विभागमा नआएको र पहिला गरिएकै अनुगमनबाट कारवाहीमा परेका म्यानपावरबाट पीडित भएका केही युवाहरु भने फाट्टफुट्ट विभागमा न्यायको लागि आइराखेको जानकारी गराए।

अन्ततः विभागले वैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई सक्षम बनाउने हो भने उनीहरुलाई ठगहरुको चङ्गुलबाट टाढा राख्नै पर्छ। र, वैदेशिक रोजगारीको जिम्मा लिएका म्यानपावर व्यवसायीहरु पनि युवाको श्रम र पसिनासँग खेलवाड गरेर रातारात अर्बपति बन्ने सपनाबाट टाढा रहनु पर्छ। जसले गर्दा देश समृद्ध र म्यानपावर निष्पक्ष वा पारदर्शी नहोला भन्न सकिन्न।

तर, युवाहरुको श्रममाथि यसरी नै खेलवाड भइराख्ने हो भने भर्खरै मात्र छोराले विदेशमा राम्रो काम नपाएर छोरालाई विदेश पठाउने व्यक्तिको वर्षौ पहिले गोली हानी हत्या गरेका र हाल पक्राउ परेका बुबाले गरेजस्तो घटना फेरि हजारौं बुवाहरुले नगर्लान अर्थात् नदोहोरिएला भन्न सकिन्न।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *