अमेरिका, अफगानिस्तान र तालिबानः २० वर्षे युद्धका १० महत्वपूर्ण विषय

डिसी नेपाल
२५ असार २०७८ २१:२८

काबुल (एजेन्सी) अफगानिस्तानमा २० वर्षसम्मको टकरावपछि अमेरिकाले आफ्नो सेना फिर्ता बोलाएको छ। अमेरिका र उसका सहयोगीहरुका लागि बगराम वायु सैनिक अड्डा तालिबान र अल कायदाविरुद्धको लडाइँको केन्द्र थियो।

अमेरिकी नेतृत्वको गठबन्धन सेनाले डिसेम्बर २००१ मा अफगानिस्तानमा कदम राखेको थियो। यो हवाई अड्डालाई १० हजार सैनिक भएको एक ठूलो सैन्य अखडामा परिवर्तन गरियो। तर, अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेना फिर्ता गर्ने बचन अनुसार त्यहाँबाट अमेरिकी सेना फर्किएको छ।

यसक्रममा तालिबानलाई आफ्नो खुट्टा पसार्ने मौका मिलेको छ र उसले अफगानिस्तानका कैयौं क्षेत्रहरु कब्जामा लिएको छ। यस युद्धको मूल्य कैयौं धेरै छ, चाहे मारिएका मानिसहरुको संख्याका आधारमा होस् वा खर्च भएको पैसाका आधारमा। तर २० वर्षसम्म चलेको यो संघर्षको कारण के थियो ? यो सबै केका लागि भो र के अमेरिका आफ्नो लक्ष्यमा सफल भयो ?

अमेरिका अफगानिस्तान किन पुग्यो ?

अमेरिकामा ११ सेप्टेम्बर २००१ मा भएको चरमपन्थी आक्रमणमा करिब ३ हजार मानिसको मृत्यु भयो। यो आक्रमणका लागि चरमपन्थीहरुले विमानहरुको प्रयोग गरेका थिए। विमान नियन्त्रणमा लिएर उनीहरुले न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा ठोक्काए। एक विमान पेन्सिलभेनियाको खेतमा दुर्घटनाग्रस्त भयो।
इस्लामिक चरमपन्थी संगठन अल कायदाका प्रमुख ओसामा बिन लादेनलाई यो आक्रमणका लागि जिम्मेवार ठहर्याइयो।

अफगानिस्तानमा त्यो समय कट्टरपन्थी इस्लामिक समूह तालिबानको शासन थियो। र सो सरकारले ओसामा बिन लादेनलाई संरक्षण दिएको थियो। तालिबानले ओसमालाई अमेरिकालाई सुपुर्द गर्न अस्वीकार गर्यो। यसपछि ११ सेप्टेम्बरको आक्रमण भएको एक महिनापछि अमेरिकाले दुबै चरमपन्थी संगठनविरुद्ध अफगानिस्तानमा हवाई आक्रमण शुरु गर्यो।

त्यसपछि के भयो ?

अमेरिका र उसका अन्तर्राष्ट्रिय तथा अफगान सहयोगीको हवाई आक्रमणका कारण दुई महिना भित्रै तालिबानको पतन भयो। र उसका लडाकु भागेर पाकिस्तानतर्फ गए।

लडाकु भागे पनि उनीहरुको प्रभाव भने बढ्दै गयो र उनीहरुले कमब्याक गरे। तालिबानले ड्रग्सको व्यापार, खनिज र करबाट करोडौं डलर कमायो। २००४ मा अफगानिस्तानमा अमेरिकी समर्थक नयाँ सरकार बन्यो। तर, यो समयमा पनि तालिबानको घातक आक्रमण जारी रह्यो। अफगान सैनिकसँग मिलेर काम गरिरहेको अन्तर्राष्ट्रिय सेनालाई फेरि बलियो बनेको तालिबानसँग लड्न निकै मुस्किल बन्दै गयो। यो लडाइँमा कैयौं अफगानको ज्यान गयो, चाहे ती आम नागरिक हुन् वा सैनिक।

के अफगानिस्तानको संघर्ष २००१ मा शुरु भयो ?

यसको कुनै छोटो उत्तर छैन। अमेरिकाले अफगानिस्तानमा खुट्टा राख्नुभन्दा पहिला करिब दुई दशकदेखि यो देशले युद्ध झेलिरहेको थियो। १९७० को अन्तमा सोभियत संघको सेनाले अफगानिस्तानमा आक्रमण गरेको थियो। उसको लक्ष्य आफ्नो साम्यवादी सरकारलाई सहयोग गर्नु थियो। उनीहरु मुजाहिदीनविरुद्ध लडिरहेका थिए, जसलाई अमेरिका, पाकिस्तान, चीन र साउदी अरबसहित कैयौं देशको समर्थन थियो। सोभियत सेना १९८९ मा अफगानिस्तानबाट फिर्ता भयो तर देशमा गृह युद्ध चलिरह्यो। यसबाट फैलिएको अराजकतामा तालिबानलाई फल्नफुल्न मौका मिल्यो।

यति बलियो कसरी भयो तालिबान ?

तालिबान जसेको नेपाली अर्थ ‘विद्यार्थी’ हुन्छ। १९९० को दशको शुरुमा तालिबान उत्तरी पाकिस्तान र दक्षिण पश्चिम अफगानिस्तानको सीमावर्ती क्षेत्रमा प्रभावकारी देखियो। उनीहरुले भ्रष्टाचारविरुद्ध लड्न र अफगानहरुको सुरक्षा गर्ने बचन दिए। त्यो बेला गृह युद्धका कारण अफगानहरुलाई सुरक्षाको विषय निकै महत्वपूर्ण थियो।

तालिबानले तिब्ररुपमा आफ्नो प्रभाव बढायो र उसले शरिया कानुनलाई महत्व दियो। उनीहरु इस्लामिक कानुन अनुसार सजाय दिन थाले। जस्तो हत्या र बलात्कारका दोषीलाई सार्वजनिक स्थानमा फासी र चोरीका दोषीलाई अंगभंग गर्नु।

पुरुषहरुले दाह्री पाल्नुपर्ने र महिलाले बुर्का लगाउनुपर्ने अनिवार्य गरियो। तालिबानले टिभी, संगीत र सिनेमामा प्रतिबन्ध लगायो र १० वर्ष वा त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान प्रतिबन्ध लगायो।

के तालिबान कहिल्यै कमजोर भयो ?

गएका दुई दशकमा तालिबान कमजोर भएको थियो, तर समाप्त कहिल्यै भएन। अफगानिस्तानमा २०१४ को सबैभन्दा रक्तपातपूर्ण वर्ष सकिएपछि अन्तर्राष्ट्रिय शक्तिले अनिश्चितकालसम्म अफगानिस्तानमा बस्ने विषयमा समीक्षा गर्न शुरु गरे। उनीहरुले यो विषय अफगान सेनाको जिम्मा लगाउँदै आफ्नो युद्ध मिशनलाई समाप्त गरे। यसबाट तालिबानको मनोबल बढ्यो। र उसले कैयौं क्षेत्रमा कब्जा गर्यो। उसले सरकार र आम नागरिकमाथि बम विस्फोटबाट आक्रमण गर्यो। बीबीसीका अनुसार २०१८ मा ७० प्रतिशत अफगानिस्तानमा तालिबान सक्रिय रहेको पाइयो।

यो युद्धको मूल्य कति हो ?

२३०० भन्दा धेरै अमेरिकी महिला र पुरुष सैनिक यो युद्धमा मारिए र २० हजारभन्दा धेरै घाइते भए। यसका साथै ४५० बेलायती सैनिक र अन्य सयौं सैनिक पनि यो युद्धमा बलि चढे।

तर सबैभन्दा धेरै नोक्सान अफगान नागरिकले झेले, केही अध्ययन अनुसार अफगान सुरक्षा बलका करिब ६० हजार सदस्यले यो युद्धमा ज्यान गुमाए।

सँयुक्त राष्ट्र संघले २००९ देखि आम नागरिकको मृत्युको तथ्यांक व्यवस्थित रुपमा राख्न शुरु गर्यो। उसका अनुसार यस युद्धमा एक लाख ११ हजार नागरिक मारिए वा घाइते भए। एक अध्ययनका अनुसार अमेरिकी करदाताका लागि यो युद्धको बित्तिय लागत लगभग १ ट्रिलियन अमेरिकी डलर रह्यो।

के हो तालिबानसँगको सम्झौता ?

फेब्रुअरी २०२० मा अमेरिका र तालिबानले अफगानिस्तानमा शान्तिका लागि एक सम्झौतामा हस्ताक्षर गरे। यो सम्झौता अनुसार अमेरिका र उसको सहयोगी नेटाले अफगानिस्तानबाट आफ्नो सेना पूर्णरुपमा फिर्ता गर्ने सहमति गरे।

यस वापत तालिबानले अल कायदा वा अन्य चरमपन्थी समूहलाई आफ्नो नियन्त्रण रहेको क्षेत्रमा सक्रिय हुन नदिने सहमति जनायो।

गएको वर्ष भएको वार्ता अन्तरगत तालिबान र अफगान सरकार दुबैले एक अर्काका कैदीहरुलाई रिहा गरे। सम्झौता अनुसार करिब ५ हजार तालिबानी चरमपन्थीलाई रिहा गरियो।

अमेरिकाले तालिबानविरुद्ध लगाइएको प्रतिबन्ध हटाउन र अन्य केही प्रतिबन्धहरुका सम्बन्धमा सँयुक्त राष्ट्र संघसँग मिलेर काम गर्ने बचन दियो।
अफगान सरकारको उपस्थितिबिना नै अमेरिकाले तालिबानसँग सिधा वार्ता गरेको थियो। तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए, ‘यति वर्षपछि हाम्रा मान्छेहरुलाई घर फिर्ता बोलाउने समय आएको छ।’

के सबै अमेरिकी सैनिक फिर्ता होलान् ?

बगराम वायुसैनिक अड्डाबाट अमेरिकी र नेटो सेना पूर्णरुपमा फिर्ता भइसकेको छ। र सुरक्षाको जिम्मेवारी अफगान सरकारमाथि छ। अमेरिकी न्यूज एजेन्सी एपीका अनुसार करिब ६५० अमेरिकी सैनिक अफगानिस्तानमै रहनेछन्। यी सैनिकहरु कूटनीतिक र काबुल अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका लागि राखिने छ।

के छ वर्तमान अवस्था ?

सम्झौतापछि तालिबानले सहरी र सैन्या अखडालाई निशाना बनाउनुको सट्ट अब लक्ष्य बनाएर हत्या गर्न शुरु गरेको छ। जसको कारण अफगान नागरिकहरुमा डर बढेको छ। विदेशी सेना फिर्ता भइरहेको बेला तालिबानले आफ्नो शक्ति देखाउन थालेको छ। तालिबानले अफगान सरकार ढाल्ने धम्की दिँदै केही स्थानहरुमा कब्जा गर्न शुरु गरेको छ।

अल कायदाले पनि अफगानिस्तानमा आफ्नो काम जारी राखेको छ। उता चरमपन्थी इस्लामिक संगठन इस्लामिक स्टेटले पनि देशमा आक्रमण गरेको छ।

अफगानिस्ताको भविष्यलाई लिएर चिन्ता बढेको छ। तर अफगान राष्ट्रपति अस्रफ घानीले देशको सेना चरमपन्थीसँग लड्न सक्षम रहेको बताएका छन्।

दुई दशकसम्मको युद्ध के सफल रह्यो ?

बीबीसीका सुरक्षा संवाददाता फ्रैंक गार्डनर भन्छन्, ‘यसको उत्तर त्यो कुरामा निर्भर हुन्छ, तपाइँ यसलाई कसरी मापन गर्नुहुन्छ।’ वरिष्ठ सुरक्षा सुत्रले बीबीसीसँग यो युद्धपछि अफगानिस्तानमा एक पनि सफल अन्तर्राष्ट्रिय आतंकवादी आक्रमणको योजना नबनेको बताएको छ।

गार्डनर भन्छन्, ‘त्यसैले अन्तर्राष्ट्रिय आतंकवाद विरोधी घटनाका आधारमा मापन गर्ने हो भने त्यहाँ रहेको पश्चिमी सेना आफ्नो उद्देश्यमा सफल रह्यो।’

तर २० वर्षपछि तालिबान आफ्नो हारबाट निकै अगाडि बढिसकेको छ र उसलाई हराउन पनि मुस्लिक सावित भएको छ। केही रिपोर्ट्सका अनुसार विदेशी सेना आएपछि हालसम्म जूनमा सबैभन्दा खरा समय देखियो, जसमा सयौं मानिसहरुको ज्यान गयो।

उता वर्षौको रस्साकस्सी र मेहनतबाट गरिएको प्रगति पनि खतरामा परेको छ। कैयौं विद्यालय, सरकारी भवन र विद्युतका पोलहरु ढालिएका छन्। गार्डनर भन्छन्, ‘अल कायदा, इस्लामिक स्टेट र अन्य आतंकवादी समूह समाप्त भएका छैनन्। उनीहरु फेरि टाउको उठाउँदैछन्। पश्चिमी सेनाको फिर्ताले उनीहरु उत्साहित छन्।’ (बीबीसीबाट अनुवाद)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *