विदेशबाट स्वास्थ्य सामाग्री पठाउने व्यक्ति तथा संस्थालाई गरियो सम्मान

डिसी नेपाल
२८ असार २०७८ १२:४०

काठमाडौं । कतारस्थित नेपाली दूतावासले नेपाललाई कोभिडविरुद्ध सहयोग गर्ने कतारका दुई संस्था तथा व्यक्तिहरुलाई सम्मान गरेको छ। एक कार्यक्रमको आयोजना गरी नेपाललाई कोरोनाविरुद्ध स्वास्थ्य सामाग्री सहयोग गर्ने २ ओटा संस्था तथा ४८ जना व्यक्तिहरुलाई कतारका लागि नेपाली राजदूत डा.नारदनाथ भारद्वाजले सम्मानपत्र हस्तान्तरण गरेका हुन्।

नेपालमा कोरोना संक्रमणबाट उत्पन्न समस्यामा राहत पुर्याउने उद्देश्यले स्वास्थ्य सामाग्री पठाउने लक्ष्यका साथ कतारस्थित दूतावासका राजदूतको संरक्षकत्व र नेपाल बिजनेश एशोसिएन, कतारका अध्यक्ष महेन्द्र प्रसाद चौलागाईको संयोजकत्वमा गठन भएको कोभिड–१९ क्राइसिस रिलिफ एण्ड सपोर्ट ग्रुपको सहकार्यमा नेपाललाई केही दिन अघि कोरोना संक्रमणविरुद्ध विभिन्न स्वास्थ्य सामाग्री पठाइएको थियो।

ग्रुपले नेपाली दूतावाससँगको सहकार्य र समन्वयमा नेपाली व्यवसायीहरुको संगठन नेपाल बिजनेश एशोसिएन, कतार (एनबीएक्यू)का पदाधिकारीलगायत सदस्यहरुको समेत सक्रियतामा १ करोड २० लाख बराबरको १४ थान भेन्टिलेटर, ४२ अक्सिजन कन्सन्ट्रेटर, २१ सय थान पल्स अक्सिमिटर र नेजल क्यानुला ५० थान गरी जम्मा २२ सय ६ थान स्वास्थ्य सामाग्री खरिद गरी असार १० गतेका दिन काठमाडौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको थियो ।

सम्मानित हुनेहरुमा Nasser Al Ali Enterprises का अध्यक्ष Nasser Al Ali,  Safari Group of Companies का HR Manager Anoop Thulasidharan र एनबीएक्यूका अध्यक्ष महेन्द्र प्रसाद चौलागाई तथा उक्त संस्थाका पदाधिकारी तथा सदस्यहरू रहेका छन् । संस्थागत रूपमा Nepal Engineer’s Association Doha Centre समेत सम्मानित भएको थियो ।

सम्मान कार्यक्रममा राजदूत डा.भारद्वाजले सम्मानित हुनुहुने सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा आवश्यक परेमा यस्तै सहयोग तथा सहकार्यको अपेक्षा रहेको बताएका थिए ।

नेपालमा पठाएको उच्चस्तरका स्वास्थ्य सामाग्रीको नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीहरूबाट समेत प्रशंसा भएको र यस कार्यका लागि सम्बन्धित संस्था तथा व्यक्तिको समुचित मूल्यांकन भएको समेत उनले जानकारी गराएका थिए । सो कार्यक्रमको संचालन दूतावासका द्वितीय सचिव प्रवीण भट्टराईले गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *