नेकपा एमालेमा माधव नेपाललाई निषेध !

डिसी नेपाल
५ साउन २०७८ ९:००

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई आफ्नै पार्टीमा निषेध गर्ने नीति संस्थापन पक्षले लिएको छ। लामो समयदेखि अन्तरसंघर्ष जारी रहेको एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाललाई एमाले प्रवेश निषेध भएको संकेत गरे।

प्रधानमन्त्रीमा कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि नेपाल समूहप्रति अहिले संस्थापन पक्ष थप रुष्ट बनेको छ। आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्री रहेको सरकारलाई अपदस्त गरी विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन ‘धोकाधडी गरेको’ भन्दै संस्थापन पक्ष आक्रोशित बनेको हो।

अध्यक्ष ओलीले बैठकमा भने, ‘पार्टीमा आउन चाहने साथीहरू आउनुस्, स्वागत छ । तर, माधव नेपाललाई यस पार्टीमा स्वागत हुने छैन।’ नेपाल पक्षमा पनि असन्तुष्टि रहेको खबर आइरहेका बेला ओलीले यस्तो बताएका हुन्। उनको संकेत माधव नेपालबाहेक नेपाल पक्षका अरू नेताहरू मूलधारमा फर्किए जिम्मेवारीसहित स्वागत गर्छु भन्ने रहेको बैठकमा सहभागी एक नेताले बताए।

आइतबार संसद्मा नेकपा एमालेका २२ जना प्रतिनिधिसभा सदस्यहरूले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए। देउवालाई मत दिनु लज्जास्पद काम भएको उल्लेख गर्दै ओलीले वरिष्ठ नेता नेपाललाई कम्युनिष्ट आन्दोलनको गद्दार भएको टिप्पणी गरे। उनले भने, ‘माधव नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार हुन् । उनको आइतबारको कृत्य कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागेको अपराध हो।’

आइतबार संसद्मा भएको घटनालाई अध्यक्ष ओलीले असाधारण र चरम अनैतिक घटना भएको बताए। ‘संसद्मा कांग्रेस दलका नेता शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका केही सांसदहरूको कदम असाधारण, अस्वाभाविक र चरम अनैतिक हो। यो कुरा हाम्रो पार्टीका लागि शर्मनाक र लज्जास्पद हो।’

प्रधानमन्त्री देउवालाई ओली पक्षमा रहेका आठ जना सांसदहरूले समेत विश्वासको मत दिएका थिए। तर, नेपाल पक्षका केही सांसदहरूले भने मतदान प्रक्रियामा नै भाग लिएनन्। देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च र राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाउने सांसदहरूले समेत मतदान प्रक्रियामा भाग लिएनन्।

‘खोपलाई प्राथमिकता दिनु पर्दैन’

निवर्तमान प्रधानमन्त्री ओलीले अहिलेको सरकारले खोपलाई प्राथमिकता दिन आवश्यक नरहेको पनि बताएका छन्। आफू नेतृत्वको सरकारले नै खोपको आवश्यक प्रबन्ध मिलाइसकेकाले त्यसलाई प्राथमिकता नदिन उनले बताएका हुन्।

केही पनि नभएको ठाउँबाट सबै नेपालीलाई लगाउन पुग्ने गरी कोभिड खोपको आवश्यक व्यवस्था आफू नेतृत्वको अघिल्लो सरकारले मिलाएको ओलीको दाबी छ । उनले भने, ‘केही पनि नभएको ठाउँबाट सबैले कोभिड खोप लगाउन पाउने अवस्थामा पुर्‍याएका छौं। दक्ष जनशक्ति, खोप लगाउने केन्द्रहरू र तदअनुसारको प्रबन्ध र सबै नेपालीलाई क्रमशः लगाउने पुग्ने गरी खोपको व्यवस्था गरेका छौं । अब कसैले प्राथमिकता खोप, खोप, खोप भनेर जोड दिइरहन आवश्यक छैन।’

अध्यक्ष ओलीले खोपको सम्पूर्ण व्यवस्था मिलाइसकेको दाबी गरे पनि अझै १२ लाखभन्दा बढीले महिनौ बित्दासमेत दोस्रो डोजको खोप पाउन सकेका छैनन् । कोभिशिल्ड खोप लगाएका लाखौं नागरिकले दोस्रो डोजको खोप पाउन नसकेका हुन्।

उनले आफू नेतृत्वको सरकारले बाढी, पहिरो र डुबान पीडितलाई पनि आवाससहित राहतको आवश्यक व्यवस्था मिलाएको दाबी पनि गरे। ओलीले आफू नेतृत्वको अघिल्लो सरकारले संविधान, कानुन र लोकतान्त्रिक प्रक्रियाअनुसार मुलुकको समृद्धिको अभियानलाई अघि बढाएको, अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाएको दाबीसमेत गरे।

देउवालाई मत दिनेहरूको अपराध क्षम्य हुँदैन : पोखरेल

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदहरूको अपराध क्षम्य नभएको बताए । कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवालाई मत दिने कदम पार्टीको राजनीतिक तथा सांगठनिक जीवनमा अक्षम्य अपराधको घटना भएको उनले बताए।

उनले भने, ‘हाम्रो पार्टीको राजनीतिक, सांगठनिक जीवनमा यति अप्रिय घटनाहरू पनि घट्दैछन् हिजो मात्रै हामीले देख्यौं, हाम्रो पार्टीको निर्णयविपरीत विपक्ष दलका नेताको समर्थनमा मतदान गर्ने काम नेकपा एमालेभित्रका कतिपय व्यक्तिहरूले गरेका छन्। यो पार्टीको राजनीतिक, सांगठनिक जीवनमा अक्षम्य अपराधको कोटीमा पर्ने विषय हो। यसलाई हामीले गम्भीर रूपमा लिएका छौं।’ महासचिव पोखरेलले पार्टीको जीवनमा चुनौती देखिएको उल्लेख गर्दै त्यसलाई समाधान गर्दै अघि बढ्नुपर्नेमा बताए।

कार्यदलको प्रस्ताव अनुमोदन, २२ सांसदहरूलाई कारबाही

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले विवाद समाधान कार्यदलको १० बुँदे सहमति प्रस्ताव अनुमोदन गरेको छ । प्रस्ताव अनुमोदन भएसँगै एमाले पुरानै संरचनामा फर्किएको नेताहरूले दाबी गरेका छन्। सोमबारको बैठक १४ औं केन्द्रीय कमिटी बैठक हुनुपर्ने भए पनि १० औं बैठक भनेर नै ब्यानरसमेत निर्माण गरिएको थियो।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले कार्यदलको सहमति प्रस्ताव अनुमोदन भएकाले १०औं केन्द्रीय कमिटीको बैठक आह्वान गरिएको बताए। बैठकमा पार्टीभित्र लामो समयदेखि चलेको छलफल, जेठ २३ गते पार्टी अध्यक्षले गर्नुभएको आह्वान र असार २८ गते पार्टीले गरेको १० बुँदे प्रस्तावको बारेमा छलफल भएको छ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले एमालेका सांसदहरूले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गर्नु कम्युनिष्ट आन्दोलनको आदर्श र पार्टी अनुशासनविपरीत भएको बताए। सांसदहरूले देउवालाई विश्वासको मत दिएर अनुशासनहीन र गलत काम गरेको पनि उनले बताए। हिमालय टाइम्स दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *